पोर्न स्टार र ट्रम्पबीचको यौन विवाद पुनः चर्चामा



वासिङ्टन, (एजेन्सी)
अमेरिकाको राष्ट्रपतीय चुनावका बेला रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग कुनै जमानामा यौन सम्पर्क राखेको कुरा लुकाउन १ लाख ३० हजार अमेरिकी डलर लिएकी एक जना पोर्न स्टारले ट्रम्पसँगको सम्बन्धबारे मंगलबार मुख खोलेकी छिन्। वयस्कहरुका लागि बन्ने चलचित्रका अभिनेत्री स्टेफानी ब्लिफोर्ड उर्फ स्टोर्मी ड्यानियल्सले एक दशकअघि ट्रम्पसँग आफ्नो झन्डै एकवर्ष प्रेम प्रसंग चलेको अनलाइन म्यागजिन स्लेटलाई बताएकी छिन्।

उक्त म्यागजिनका प्रधान सम्पादक ज्याकोव वेइसवर्गका अनुसार स्टेफानीले ट्रम्पलाई सन् २००६ मा नेवाडामा आयोजित प्रतिष्ठित व्यक्तित्वको गल्फ प्रतियोगितामा भेटेकी थिइन्। त्यसपछि तिनीहरुबीच थुप्रैचोटि यौन सम्पर्क भएको थियो।

त्यतिबेला ट्रम्पको मेलानियासँग विवाह भएको दुई वर्ष मात्र भएके थियो। यसैबीच शुक्रबार दि वाल स्ट्रिट जर्नलले ट्रम्प संगठनका लामो समयदेखि वकिल रहँदै आएका वकिल माइकल कोहेनले उनलाई १ लाख ३० हजार डलर दिएर चुप पारेका थिए।

उनले ट्रम्पसँगको यौन प्रकरणलाई एबीसीको ‘गुड मर्निङ अमेरिका’मार्फत सार्वजनिक गर्ने योजना बनाएकी थिइन्। तर अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस र कोहेनले उनको पछिल्लो भनाइ अस्वीकार गरेका छन्।

दि टाइम्सलाई यस सम्बन्धमा स्पष्टीकरण दिँदै कोहेनले भनेका छन्– ‘सन् २०११ देखि यस्तो हल्ला पटकपटक चल्ने गरेको छ। ट्रम्पले एक पटक फेरि कडा शब्दमा ड्यानियल्ससँगको यस्तो सम्बन्ध रहेको हल्लाको प्रतिवाद गरेका छन्।’ साथै कोहेनले ड्यानियल्सले धेरै वर्षअघि आफ्नो ट्रम्पसँग कुनै रोमान्टिक र यौन सम्बन्ध नरहेको भनी उनकै हस्ताक्षरसहित लेखिएको पत्र पनि सार्वजनिक गरेको बताएका छन्। सो पत्रमा लेखिएको छ– ‘मैले डोनाल्ड ट्रम्पबाट मुख बन्द राख्ने सर्तमा पैसा लिए भन्ने हल्ला सरासर गलत छ।’

प्रतिक्रिया दिनुहोस्