पुँजी बजारका मुद्दा चुनौतीपूर्ण



नेपाल समाचारपत्र
काठमाडौं
न्यायाधीश तथा कानुन व्यवसायीहरूले पुँजी बजारका मुद्दा चुनौतीपूर्ण रहेको बताएका छन्। बुधबार धितोपत्र बजार नियमन तथा कानुनी व्यवस्थासम्बन्धी अन्तक्रिया कार्यक्रम बोल्दै सहभागी न्यायाधीश तथा कानुन व्यवसायीले पुँजी बजारका मुद्दामा आवश्यक अध्ययन तथा ज्ञानको अभाव रहेकाले नेपाल धितोपत्र बोर्डलाई जिल्ला अदालतसरह अधिकार दिइएमा धितोपत्र बजारसम्बन्धी धेरै मुद्दाहरू बोर्डबाटै निरुपण हुनसक्ने धारणा राखेका हुन्।

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै वाणिज्यसम्बन्धी ऐन नियममा समेत न्यायाधीशहरूलाई स्पष्ट हुन नसकेकाले मुद्दाका दुवै पक्ष उपस्थित भएपछि मात्र मुद्दा अगाडि बढाउने गरिएको जानकारी दिनुभयो। उहँले यससम्बन्धमा कानुन व्यवसायी थप अध्ययनशील हुनुपर्ने हुँदा यसप्रकारका छलफल कार्यक्रम निकै सान्र्दभिक हुने पनि बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि तथा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले नबुझेर लहैलहैमा लागि शेयर खरिद बिक्री गर्दा जुवा जस्तै नै हुन सक्ने बताउनुभयो। विगत केही वर्षमा पुँजी बजारमा भएका सुधारसम्बन्धी प्रगति हेर्दा पुँजी बजारमा शंका गर्नुपर्ने ठाउँ नदेखिएको उहाँको भनाइ थियो। वारेन बफेटको सिद्धान्तअनुसार आफ्नो बचतको ५ प्रतिशत मात्र पनि बुझेर लगानी गर्न सकेमा पुँजी बजारको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुन सक्ने बताउँदै सिन्हाले हाल शाख मूल्यांकन संस्थाको सेवासमेत उपलब्ध भएकाले लगानी कार्य धेरै सहज भएको दाबी गर्नुभयो।

अन्तक्र्रिया कार्यक्रममा काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका उपाध्यक्ष मदन रेग्मीले स्वागत मन्तव्य दिँदै धितोपत्र बजारसम्बन्धी धेरै मुद्दाहरू बोर्डबाटै निरुपण हुनसक्ने धारणा राख्नुभएको थियो।
यस्तै विशेष अदालत पाटनका अध्यक्ष बाबुराम रेग्मीले कार्यक्रम निकै समसामयिक रहेको, हाल भएको सुधारले प्राथमिक बजारमा हुने शेयर खरिद बिक्री कार्य स्वच्छ एवं सहज भएको बताउनुभयो। उहाँले मुद्दा चलाउन तथा जरीवानासमेत तोक्न सक्ने बोर्ड सक्षम तथा स्वायत्त दुवै हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बोर्डले हालसालै बजारको सुधार तथा विकास कार्यलाई दु्रतरूपमा अगाडि बढाई पूर्णरूपमा अभौतीकृत कारोबारको व्यवस्था गरेको बताउनुभयो।
बोर्डले धितोपत्रको प्राथमिक बजारमा देशव्यापी पहुँचको व्यवस्था तथा धितोपत्र बजारसम्बन्धी नियमन निकायको अन्तर्राष्ट्रिय संस्थाको सदस्यता प्राप्त गर्नुका साथै धितोपत्र बजारमा भएका पछिल्ला सुधार कार्यहरूबाट बजार स्वच्छ एवं पारदर्शी भई बोर्डप्रति सम्बद्ध पक्षको विश्वास बढेको उहाँको दाबी थियो। उहाँले बजारसम्बन्धी भए रहेका गुनासा बोर्डमा नै पेस हुने गरेकाले अदालतमा बजारसम्बन्धी मुद्दाममिलामा कमी हुँदै गएको दाबी पनि गर्नुभयो।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक परीष्टनाथ पौड्यालले धितोपत्र बजारको वर्तमान अवस्था र भावी कार्यक्रम र नेप्सेका उप–प्रबन्धक निरञ्जन फुयालले पुँजी बजारसम्बन्धी मुद्दामामिलामा अदालतबाट हुने फैसला तथा फैसलाबाट बजारमा पर्ने व्यावहारिक कठिनाइसहित धितोपत्रको दोस्रो बजारसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। त्यस्तै नेप्से तथा सीडीएस तथा बोर्डका निर्देशक मुक्तिनाथ श्रेष्ठले धितोपत्र बोर्डसम्बन्धी कानुनी व्यवस्था तथा समस्याजस्ता विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।

छलफल कार्यक्रममा सहभागीले धितोपत्र कारोबारमा हस्ताक्षर प्रमाणित कार्यमा समस्या रहेको, डिम्याट खातालाई दुरुपयोग गरेको, कालो धनलाई सेतो धन बनाउन नदिनमा भइरहेका प्रयास सम्बन्धमा विभिन्न जिज्ञाशा उठाएका थिए।

कार्यक्रममा उठेका जिज्ञाशाहरू सम्बोधन गर्ने क्रममा बोर्ड अध्यक्ष डा. कार्कीले बोर्डले हालसालै अन्य सुधारका अतिरिक्त कानुन प्रबलीकरणमा जोड दिएको, धितोपत्र दलाल व्यवसायीलाई व्यवस्थित रूपमा केवाईसी राख्न लगाएको, बहुडिम्याट खातालाई दुईवटामा झार्न आवश्यक कार्य अगाडि बढाएको बताउनुभयो।

नेप्से घट्यो
काठमाडौं, (नेस)
साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ७ दशमलव १९ अंकले घटेको छ। बुधबार १ हजार ४ सय १३ दशमलव ७१ अंकबाट शुरू भएर नेप्से १ हजार ४ सय ६ दशमलव ५२ अंकमा पुगेर रोकिएको हो।
बुधबार कारोबार शुरू भएसँगै पौन एक घण्टा ओरालो लागेको शेयर बजार त्यसपछि भने सम्हालिएको थियो। दिनकै न्यूनतम बिन्दु १ हजार ३ सय ९९ अंकमा पुगे पनि बजार त्यसपछि सम्हालिएको हो। शेयर बजार मंगलबार पनि १७ दशमलव ३९ अंकले घटेको थियो। नेप्से परिसूचक घट्दा बुधबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५५ अंकले घटेर २ सय ९६ दशमलव ८६ को बिन्दुमा पुगेको छ।

नेप्से घट्दा बुधबार कारोबार रकम भने बढेको छ। मंगलबार ३६ करोड २३ लाख रुपियाँको कारोबार भएको बजारमा बुधबार ४० करोड ४८ लाख ६७ हजार ४ सय ६७ रुपियाँको शेयर कारोबार भएको छ। यस दिन १ सय ५८ कम्पनीका ९ लाख ७९ हजार १ सय ९६ कित्ता शेयर किनबेच भएका छन्।

बुधबार कारोबारमा आएका १० मध्ये ९ समूहका परिसूचकहरू घट्दा नेप्से ओरालो लागेको हो। मंगलबारजस्तै यस दिन पनि सबैभन्दा बढी घट्नेमा जलविद्युत् समूह रहेका छन्। जलविद्युत् समूहको परिसूचक १५ दशमलव १७ अंकले घट्दा अन्य समूह पनि १० दशमलव ७४ अंकले घटेको हो। त्यसैगरी बजारमा होट विकास बैंक तथा बैंकिङ समूहका परिसूचक क्रमशः ७ दशमलव ८१, ७ दशमलव २ र ७ दशमलव १७ अंकले घट्दा वित्त र उत्पालनमूलक समूह पनि २ दशमलव ९४ र २ दशमलव ४१ अंकले घटे। त्यस्तै बीमा समूहमा बुधबार शून्य दशमलव ८ अंकको झिनो गिरावट आउँदा लघुवित्त समूह भने ४ दशमलव शून्य १ अंकले बढ्यो।

अघिल्लो दिनझैं यसदिन पनि सबैभन्दा बढी कारोबार सानिमामाई हाइड्रोपावर कम्पनीको भएको छ। यस कम्पनीका १२ करोड २० लाख रुपियाँभन्दा बढीको कारोबार हुँदा आरएसडीसी लघुवित्त वित्तीय संस्था लगानीकर्ताले सबैभन्दा धेरै कमाए। संस्थाको शेयर मूल्य ५ दशमलव २७ प्रतिशतले बढ्दा त्यस्तै सिन्धु विकास बैंक, प्रुडेन्सिएल इन्स्योरेन्सका लागानीकर्ताले ३ प्रतिशतभन्दा बढीले कमाए। यद्यपि अपि पावर कम्पनीलगायत ६ वटा कम्पनीको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घट्यो।

प्रतिक्रिया दिनुहोस्