खाद्यको मुद्रास्फीति गैरखाद्यको भन्दा कम



नेपाल समाचारपत्र
काठमाडौं
मंसिर महिनामा नेपालको मूल्यवृद्धि भारतको भन्दा कम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। मंसिरमा नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फ्रीति अन्तर १ प्रतिशत रहेको हो। राष्ट्र बैंकका अनुसार २०७४ मंसिर महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव २ प्रतिशत रहेकोमा भारतको ५ दशमलव २ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा नेपालको मूल्यवृद्धि भारतको भन्दा शून्य दशमलव ४ प्रतिशत कम रहेको थियो। सो अवधिमा नेपाल र भारतमा यस्तो मुद्रास्फीति क्रमशः ३ दशमलव ८ प्रतिशत र ३ दशमलव ४ प्रतिशत रहेका थिए।

चालू आर्थिक वर्षको मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति केही वृद्धि भई ४ दशमलव २ प्रतिशत पुगेको छ। मंसिरमा खाद्य तथा पेय पदार्थलगायतमा भएको मूल्य वृद्धिले कात्तिकमा ३ दशमलव ९ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

२०७४ भदौ र असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति क्रमशः ३ दशमलव ४ र ३ दशमलव १ प्रतिशत रहेको थियो। अघिल्लो वर्षको सोही अवधिको मुद्रास्फीतिको तुलनामा भने पाँचौं महिनाको मुद्रास्फीति बढी हो। गत वर्षको मंसिरमा मुद्रास्फीति ३ दशमलव ८ प्रतिशत थियो।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आवको पाँचौं महिनाको तथ्यांकअनुसार खाद्य मुद्रास्फीति २ दशमलव ८ प्रतिशत रहेको छ। त्यस्तै गैरखाद्य मुद्रास्फीति ५ दशमलव ३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको मंसिरमा खाद्य तथा गैरखाद्य मुद्रास्फीति क्रमशः शून्य दशमलव ६ र ६ दशमलव ५ प्रतिशत रहेको थियो। गत वर्षको तुलनामा खाद्य समूहअन्तर्गतको तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्यमा वृद्धि भएका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकले जनाएको छ। त्यसैगरी गैरखाद्य समूहअन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, स्वास्थ्य, हाउजिङ तथा युटिलिटीलगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकाले गैरखाद्य मुद्रास्फीति कम रहन गएको हो।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५ दशमलव ५ प्रतिशत, तराईमा ४ दशमलव ३ प्रतिशत र पहाडमा ४ दशमलव ८ प्रतिशत रहेको छ। समीक्षा अवधिमा हिमाली क्षेत्रअन्तर्गत रहेको चन्दननाथ बजारकेन्द्रमा भएको उच्च मूल्य वृद्धिका कारणले तुलनात्मक रूपमा अन्य क्षेत्रको भन्दा हिमाली क्षेत्रको मूल्यवृद्धि अधिक रहेको हो।

राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर महिनामा काठमाडौं उपत्यकाको मूल्यवृद्धि ३ दशमलव ४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ३ दशमलव ७ प्रतिशत, तराईमा ३ दशमलव ७ प्रतिशत, पहाडमा ५ दशमलव ६ प्रतिशत र काठमाडौं उपत्यकामा २ दशमलव ५ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर १ दशमलव ८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २ दशमलव ७ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुको मूल्य सूचकांक १ दशमलव ६ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचकांक ३ दशमलव ५ प्रतिशत तथा आयातित वस्तुको मूल्य सूचकांक शून्य दशमलव ९ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुको मूल्य सूचकांक ३ दशमलव ५ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचकांक ४ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुको मूल्य सूचकांक शून्य दशमलव ६ प्रतिशतले घटेको थियो

मंसिरमा पनि रेमिट्यान्स वृद्धिदर ऋणात्मक
काठमाडौं, (नेस)
नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स नेपाल भित्रिने क्रम घट्न जारी भएको छ। चालू आर्थिक वर्षको कात्तिकमा पहिलोपटक घटेको रेमिट्यान्स आप्रवाह मंसिरसम्ममा पनि २ अर्बभन्दा बढीले घटेको छ।
कात्तिकमा पौने ५ अर्ब रुपियाँले घटेको रेमिट्यान्स मंसिरमा २ अर्ब १८ करोड घटेको हो। चालू आर्थिक वर्षको ५ महिनामा विप्रेषण आप्रवाह शून्य दशमलव ८ प्रतिशतले घट्दै २ खर्ब ८७ अर्ब ६६ करोड रुपियाँमा पुगेको छ। गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २ खर्ब ८५ अर्ब ४८ करोड रुपियाँ रहेको थियो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ६ प्रतिशतले बढेको थियो। यद्यपि मंसिरमा प्राप्त भएको रेमिट्यान्स अघिल्लो महिनाको तुलनामा भने बढेको छ। कात्तिकमा कुल ५२ अर्ब ६३ करोड रुपियाँ विप्रेषण आप्रवाह भएकोमा मंसिरमा कुल ५६ अर्ब ५३ करोड रुपियाँ रेमिट्यान्स नेपाल भित्रिएको हो।

वैदेशिक रोजगारीका लागि बाहिरिने नेपालीको संख्या घटेकाले रेमिट्यान्स भित्रिने क्रम घटेको राष्ट्र बैंकले जनाएको छ। श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५ महिनामा अघिल्लो वर्षको तुलनामा सोही अवधिको तुलनामा २ दशमलव ५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८ दशमलव ९ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेबिया जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ। साउदी अरेबियामा पछिल्लो समय देखिएको मन्दीको कारण त्यहाँ रोजगारीका लागि जाने नेपालीको संख्यामा कमी आएको देखिन्छ।
समीक्षा अवधिमा खुद ट्रान्सफर आय शून्य दशमलव २ प्रतिशतले घटी ३ खर्ब ३१ अर्ब रुपियाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ दशमलव २ प्रतिशतले बढेको थियो। घट्दो रेमिट्यान्स र व्यापार असन्तुलन कायमै रहँदा देशको आय व्यय (शोधानान्तर स्थिति) मा दबाब पुगेको राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा चालू खाता ४१ अर्ब ९५ करोड रुपियाँ घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधीमा चालू खाता ३ अर्ब ४९ करोड रुपियाँ रहेको थियो। त्यस्तै अघिल्लो वर्षको ५ महिनामा २८ अर्ब ७८ करोड रुपियाँले बचतमा रहेको समग्र शोधानान्तर समीक्षा अवधिमा ९ अर्ब २७ करोड रुपियाँले घाटामा रहेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ८६ करोड रुपियाँ र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ११ अर्ब १२ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब १५ करोड रुपियाँ र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ८४ करोड रुपियाँ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्