बैंकिङ एक्स्पो हुँदै



नेपाल समाचारपत्र
काठमाडौं
माघ १९ र २० गते काठमाडौंमा दोस्रो बैंकिङ एक्स्पो २०१८ सञ्चालन हुने भएको छ। बैंकिङ क्षेत्रले गर्ने कामका बारेमा उपभोक्तालाई जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको हो।

पर्याप्त सूचनाको अभावमा बैंकिङ क्षेत्रले गर्ने कामका बारेमा अधिकांशलाई जानकारी छैन। बैंकिङ क्षेत्रबाट हुने लगानीका विधि, कर्जा र ब्याजलगायतका विषयमा थाहा नहुँदा मानिसहरूमा उपभोक्ता अन्योलमा रहेको पाइन्छ। एक्स्पोमार्फत बैकिङ सूचना प्रवाह गर्ने आम नागरिकको बैंकिङ क्षेत्रमा पहँुच बढाई उद्यमशीलता विकास गर्ने लक्ष्य लिइएको छ। त्यसैगरी बैंकिङ क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जनचेतना बढाउने एवं बैंक वित्त कम्पनीका नयाँ सेवाहरूबारे जानकारी गराउने कार्यक्रमको उद्देश्य रहेको छ।

बैंक तथा वित्तीय क्षेत्रको सूचना मेलाका रूपमा बैंकिङ एक्स्पो सञ्चालन गर्न लागिएको हो। नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, बीमा समिति, नेपाल धितोपत्र बोर्ड र युवा स्वरोजगार कोषसँगको सहकार्यमा मिडिया इन्टरनेसनलले उक्त सूचना मेलाको आयोजना गर्न लागेको हो।

राष्ट्रिय अभियानअन्तर्गत बैंकिङ एक्स्पो कार्यक्रमबारे जानकारी दिने उद्देश्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकृत शम्भुनाथ ढुंगानाले वित्तीय साक्षरता, वित्तीय पहुँच र बीमा पहुँचमा मुलुक पछाडि परिरहेको बताउनुभयो। एक्स्पोले वित्तीय सूचना प्रवाहमा मद्दत पुर्याउने उहाँले बताउनुभयो। नेपाल राष्ट्र बैंकले २०६६⁄०६७ सालदेखि नै नोटको जतन गर्नुपर्ने, हुण्डीको प्रयोग गर्न नहुने, बचत गर्ने बानी बसाल्नुपर्ने, बचत गरेको रकम बैंकिङ च्यानलमा राख्नुपर्नेलगायतका नाराहरू उठाउँदै आएको छ। ढुंगानाले राष्ट्र बैंकको प्रयासलाई बैंकिङ एक्स्पोले थप सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

बीमा समितिका निर्देशक राजुरमन पौडेलले बीमाको ८ प्रतिशतको दायरालाई फराकिलो बनाउन बीमा चेतनाको आवश्यकता रहेको बताउनुभयो। बीमालाई बिक्री वस्तु नभई खरिद वस्तु बनाउनुपर्ने पौडेलको भनाइ छ।

नेपाल बैंकर्स संघका कार्यसमिति सदस्य अशोक शेरचनले अर्थतन्त्रलाई चलायमान बनाइराख्न कुनै एक संस्थाले मात्र नभएर बैंक, निजी क्षेत्र एवम् सरकारले समेत यस्तो जागरणमूलक कार्यक्रमहरू सञ्चालनमा जोड दिनुपर्ने धारणा राख्नुभयो। यस्तै, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष भरतराज ढकालले बैंकहरू शहरबजार र धनीहरूका लागि मात्रै हो भन्ने विद्यमान मानसिकतालाई परिवर्तन गर्न बैंकिङ एक्स्पो सहयोगी सावित हुने उनले बताउनुभयो।

एक्स्पोमा विशेष गरी बैंकिङ प्रविधि र सेयर बजारसम्बन्धी सूचनालाई केन्द्रमा राखिने बताइएको छ। बैंक तथा वित्तीय संस्थाका साथमा रेमिटइन्स कम्पनीहरू, बीमा कम्पनीहरू, धितोपत्र बोर्ड, युवा स्वरोजगार कोषलगायतको सूचनामूलक स्टल रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्