प्रधानसेनापति क्षत्री श्रीलंका प्रस्थान



काठमाडौं, (नेस)
प्रधानसेनापति राजेन्द्र क्षत्री श्रीलङ्काका सेना प्रमुखको औपचारिक निमन्त्रणामा बुधबार श्रीलङ्कातर्फ प्रस्थान गर्नुभएको छ। प्रधानसेनापति क्षत्रीलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो। यसअघि, प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द, नेपालस्थित श्रीलङ्काका राजदूतलगायत विभिन्न देशका आवासीय सैनिक सहचारीको उपस्थिति रहेको थियो।

भ्रमणको दौरान उहाँले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ। सोही क्रममा उहाँले महत्त्वपूर्ण कमान्ड हेडक्वार्टरहरूको समेत निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।

भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ। भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री माघ ११ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्