एकताको जगः जनताको बहुदलीय जनवाद



चिरञ्जीवी मास्के

जनताको बहुदलीय जनवाद के हो ? विचार हो कि, कार्यक्रम हो कि, कार्यदिशा हो ? यसको स्पष्टीकरण एमालेका नेताहरूले दिन सक्छन्। किनभने नेकपा एमालेको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद हो। जसको जगमा एमालेले अहिलेको सफलता प्राप्त गर्न सकेको छ। तर विडम्बना, जति बेला जनताको बहुदलीय जनवाद कार्यान्वयनको दिशामा अगाडि बढ्दै थियो एमाले नेताहरूबाटै यसमाथि प्रहार शुरू भएको छ।

जनताको बहुदलीय जनवाद २१ औं शताब्दीको नयाँ कम्युनिस्ट विचार हो। माओ, लेनिन या अरू कम्युनिस्ट विचारकको फुर्को नझुन्ड्याई कम्युनिस्ट विचार बन्न सक्दैन भन्ने भ्रम रहेको बेलामा उदाएको जनताको बहुदलीय जनवादले नेपालमा प्रजातान्त्रिक कम्युनिस्ट पार्टीको उदय मात्र गराएन नेपाली कांग्रेसको विकल्पमा एउटा सशक्त राजनीतिक शक्ति देखा पर्यो। र, यो विचारले गैर कम्युनिस्टहरूलाई पनि कम्युनिस्ट बन्न प्रेरित गर्यो। किनभने जनताको बहुदलीय जनवादले राज्यसत्ता बन्दुकको नाल (बुलेट)बाट मात्र सम्भव छ भन्ने परम्परावादी कम्युनिस्ट सोचलाई पूर्णतः गलत साबित गर्दै ब्यालेटबाट पनि राज्यसत्ता कब्जा गर्न सकिन्छ भन्ने मान्यता स्थापित मात्र गरेन त्यसलाई प्रमाणितसमेत गर्यो २०५१ सालमा बहुमत प्राप्त गरी सरकार चलाएर। अनि कम्युनिस्ट पार्टी भनेको निरंकुश हुन्छ, यसले प्रतिस्प्रर्धामा विश्वास गर्दैन, प्रजातन्त्रमा विश्वास गर्दैन भन्ने भ्रमलाई समेत चिर्दै नेतृत्व चयनमा आफूलाई अब्बल प्रजातन्त्रवादी ठान्ने नेपाली कांग्रेसमा भन्दा बढी प्रजातान्त्रिक परिपाटी शुरू गरेर एमाले र एमालेको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादले जनमानसमा सकारात्मक छाप छोड्न सक्यो।

यसरी समयानुकूल परिर्वतन हुनुपर्छ भन्ने मूल मान्यता बोकेको जनताको बहुदलीय जनवादलाई अहिलेको परिवेशमा असान्दर्भिक ठान्ने एमालेका बौद्धिक नेताहरूलाई यो सन्दर्भमा कसरी प्रस्तुत गर्ने भन्ने कुरा बहसको विषय बनाउनुपर्ने देखिन्छ। जनताको बहुदलीय जनवादको मूल भावना भनेको माक्र्सवादको विज्ञानवादी (परिवर्तनकारी) सिद्धान्तको आधारमा प्रजातान्त्रिक तवरले जनताको मतद्वारा निर्वाचित जनप्रतिनिधिको नेतृत्वमा मुलुकको विकास र समृद्धि अगाडि बढाउने र त्यसैको आधारमा जनतालाई सम्पन्न बनाउने नै हो। एमालेले जनताको बहुदलीय जनवादको सिद्धान्तकै आधारमा आफुलाई देशको पहिलो पार्टीको रुपमा स्थापित गर्न सकेको छ। बन्दुकको नालबाट मात्र सत्ताकब्जा र परिवर्तन सम्भव छ भन्ने माओवादी सिद्धान्त बोकेको माओवादी केन्द्रलाई कम्युनिस्ट प्रजातन्त्र (नेपाली कांग्रेसले आफूलाई अब्बल प्रजातन्त्रवादी भने पनि त्यसले पुँजीवादीहरूको मात्र संरक्षण र पक्षपोषण गरेको र सर्वसाधारण जनताको पक्षमा प्रजातन्त्र पुर्याउने काम कम्युनिस्ट पार्टीले मात्र गर्ने भएकोले यहाँ कम्युनिस्ट प्रजातन्त्र भनिएको हो) को धारमा ल्याएर वाम गठबन्धन निर्माण गर्दै झन्डै दुई तिहाइ मतसहितको जीत हात पार्न सकेको छ। अब यो जीतसँगै सत्ताको माध्यमबाट मुलुकको विकास र समृद्धि अनि जनतालाई सम्पन्न बनाउने कार्यक्रम ल्याउने बेलामा चाहिँ अर्को मार्गनिर्देशक सिद्धान्त अवलम्बन गर्न खोज्नु भनेको ‘फसल लगाउने किसान, त्यसको उपभोग गर्ने पुँजीपतिहरू’ भनेजस्तै हो। र, अहिलेको सन्दर्भमा जनताको बहुदलीय जनवादलाई प्रतिस्थापन गर्दै नयाँ विचारलाई स्थापित गर्न खोज्ने जो–कोही बौद्धिक दरिद्रहरू पुँजीपतिको संरक्षकभन्दा बढी केही हुन सक्दैनन्।

जनताको बहुदलीय जनवादको जगमा एमालेले अहिलेको सफलता प्राप्त गर्न सक्यो, माओवादी केन्द्रसँग पनि जनताको बहुदलीय जनवादको जगमै चुनावी गठबन्धन बन्न सक्यो र जनताको बहुदलीय जनवादकै जगमा माओवादी केन्द्रसँग एकता सम्भव हुन्छ र एकतापछि विकास र समृद्धिको अभियान पनि जनताको बहुदलीय जनवादकै जगमा अगाडि बढ्न सक्छ। त्यसैले माओवादी केन्द्रसँगको एकता, सरकार सञ्चालन तथा विकास र समृद्धिको लागि अब अर्को नयाँ विचार खोजिरहनु जरुरी छैन।

तत्कालीन नेकपा मालेले माक्र्सवादको विज्ञान र लेनिनवादको संगठन परिचालनको तौरतरिका सिक्दै नेकपा माक्र्सवादीसँग एकता गरी जनताको बहुदलीय जनवादको सिद्धान्तलाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अङ्गीकार गरी अगाडि बढ्यो। अहिलेको सामाजिक तथा भौतिक परिवेश र आर्थिक परिस्थितिलाई हेर्दा कम्युनिस्ट पार्टीहरू न त माओत्सेतुङ विचार धारामा फर्कन सक्ने अवस्था छ, न जनताको बहुदलीय जनवादभन्दा अगाडि बढेर पुँजीवादी सिद्धान्तलाई अङ्गीकार गर्ने अवस्था नै छ। त्यसैले अहिलेको अवस्थामा माओवादी केन्द्रको माओवाद र एमालेको जनताको बहुदलीय जनवाद छोडेर अर्को विचारलाई अवलम्बन गर्ने कुनै ठाँउ र सम्भावना छैन। यो कुरा कमसे कम एमालेका सैद्धान्तिक नेताहरूले बुझ्नुपर्छ।

जहाँसम्म माओवादी केन्द्रले अङ्गीकार गरेको माओवादको प्रश्न छ, त्यसलाई माओवादी केन्द्रले २०६४ सालबाटै छोडिसकेको छ। किनभने माओवादीले पनि २०६४ सालमा राज्यसत्ता बन्दुकको नाल (बुलेट)बाट हैन ब्यालेटबाट पनि सम्भव छ भनेर निर्वाचनमा भाग लिएको हो र त्यसलाई प्रमाणित गर्दै पहिलो पार्टी बनेको सर्वविदितै छ। त्यसैले माओवादी केन्द्रसँग एमालेको पार्टी एकताको आधार भनेकै जनताको बहुदलीय जनवाद हो। माओवादी केन्द्रले २०६४ सालमा ब्यालेटबाट राज्यसत्ता कब्जा गर्न सकिने कुरालाई झन्डै–झन्डै प्रमाणित गर्ने अवस्थामा पुगेर २०७० सालमा फेरि आफ्नो विचारलाई द्वैधढङ्गले व्याख्या र विश्लेषण गरेकै कारण हार व्यहोरेको कुरालाई आत्मसात् गरेको छ जस्तो लाग्छ। र, २०७४ सालसम्म आइपुग्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले जनताको बहुदलीय जनवादलाई स्वीकार गरेरै वाम गठबन्धन बनाएका हुन भन्ने यथार्थतालाई पनि एमालेका बौद्धिक नेताहरूले भुल्नुहुँदैन।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बेलामा विभिन्न बहस र विवाद हुन्छ, त्यो स्वाभाविक पनि हो। तर दुवै पार्टीका बौद्धिक नेताहरूले जनताको बहुदलीय जनवादभन्दा उत्कृष्ट र अहिलेको सन्दर्भमा उपयुक्त कुनै अर्को विचार दिन सक्छन् भन्ने कुरामा एमालेका आमकार्यकर्ताले विश्वास गर्न सक्दैनन्। र, जनताको बहुदलीय जनवादभन्दा अर्को विचारको बारेमा सोच्न पनि सक्दैनन्। बरु जनताको बहुदलीय जनवादलाई एमाले र माओवादी केन्द्रको एकतापछिको एकीकृत पार्टीले मार्गनिर्देशक सिद्धान्तको रुपमा आत्मसात् गर्दै कार्यनीतिक हिसाबले विकासवादी सिद्धान्तलाई अवलम्बन गरेर मुलुकलाई विकास र समृद्धिको पथमा अगाडि बढाउन सकिन्छ, अगाडि बढाउनुपर्छ। जसले भारत र चीनसँग रेलमार्ग जोड्ने कार्ययोजनालाई कार्यान्वयन गर्नुपर्छ, चीनसँग भएको बन्दरगाह प्रयोगको सम्झौतालाई कार्यान्वयन गर्दै व्यवसायलाई मुलुकभरि विस्तार गर्नुपर्छ। देशको जलस्रोतको विकास र प्रयोग तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विद्युत् बिक्रीको अवस्था निर्माण गर्नुपर्छ। पर्यटन विकासको मार्गचित्र तयार गर्दै देशका पर्यटकीय क्षेत्रको पहिचान, विकास र सुरक्षामा ध्यान दिनुपर्छ। कृषिक्षेत्रको उत्पादकत्वमा वृद्धि गर्दै अन्य मुलुकमा कृषि उत्पादन निर्यात गर्ने प्रयत्न हुनुपर्छ र कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ।

छिमेकी मुलुक चीनले पनि आफ्नो मार्गनिर्देशक सिद्धान्त परिवर्तन गर्दै सी जिन पिङको नीतिलाई अवलम्बन गरेको दृष्टान्त हामीमाझ ताजै छ। भारतले माओको विचारलाई मान्यता नदिएको र प्रजातान्त्रिक विचारधारालाई सहयोग गरेको कुरा पनि जगजाहेर नै छ। त्यसैले छिमेकी सम्बन्ध र अन्तर्राष्ट्रिय परिवेशको आँकलन गर्दा पनि अहिलेको सन्दर्भमा जनताको बहुदलीय जनवाद नै सबैभन्दा उत्कृष्ट विचार हुनसक्छ भन्नेमा एमाले र माओवादी केन्द्रका नेताहरूले भ्रम पालिराख्नुपर्ने जरुरी देखिँदैन। किनभने तत्काललाई मुलुकको विकास र समृद्धिको लागि नेपाल र नेपालीको श्रम, शक्ति र सम्पत्ति पर्याप्त छैन। चाहे अनुदान सहयोगको रुपमा होस्, चाहे ऋण सहयोगको रुपमा होस् वा अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गरेर उद्योगधन्दा सञ्चालन गर्ने कुरा नै किन नहोस्, हामीलाई छिमेकी मुलुक चीन र भारतको सहयोग आवश्यक हुन्छ। जसको लागि सरकारको अन्तर्राष्ट्रिय नीतिसँगै सरकार सञ्चालक राजनीतिक दलको मार्गनिर्देशक सिद्धान्तले पनि अहं भूमिका खेल्छ।

अन्त्यमा, नेपालमा वामपन्थीले सरकार सञ्चालन गर्ने अवस्था बनेको र एमाले मुलुकको पहिलो राजनीतिक पार्टी भएको परिवेश जनताको बहुदलीय जनवादको सिद्धान्तले नै निर्माण गरिदिएको हो। एमालेको अहिलेको संकल्प मुलुकको विकास र समृद्धिलाई पनि जनताको बहुदलीय जनवादले नै पार लगाउन सक्छ भन्ने सत्यलाई सबैले आत्मसात् गर्नुपर्छ। एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदै छ। यो अहिलेको आवश्यकता र जनताको चाहना हो। तर एकताको नाममा आफ्नो पृष्ठभूमि र संकल्पलाई परित्याग गर्न मिल्दैन। पार्टी एकताको जग जनताको बहुदलीय जनवाद बन्नुपर्छ, जसले नेताहरूको व्यवस्थापन र नेतृत्वको समस्यालाई समेत सहज ढंगले समाधान गर्नेछ। एकीकरणको सन्दर्भमा नेताहरूको व्यवस्थापन र नेतृत्वको सवाललाई प्रमुखता दिने तर नीतिको विषयमा बहस नगर्ने हो भने त्यसले नेता, नेतृत्व र नेसनल (राष्ट्र) को समुचित विकासलाई समेत गम्भीर तथा दीर्घकालीन असर गर्नेछ। विचार गरियोस्।

प्रतिक्रिया दिनुहोस्