लक्जम्बर्ग, संसारको दोस्रो धनी देश



पुष्करलाल श्रेष्ठ

नेपालजस्तै भूपरिवेष्ठित मध्ययुरोपको लक्जमबर्ग संसारकै दोस्रो धनी देश रहेको कुरा त्यहीं पुगेपछि थाहा पाइयो। नेपालभन्दा ५० गुणा सानो जर्मनी, फ्रान्स र बेल्जियमले घेरिएको यो मुलुकको क्षेत्रफल जम्मा २ हजार ५ सय ८६ वर्गकिलोमिटर रहेछ। यस देशका जनताको सम्पन्नता चकित हुने खालकै छ। साधारण काम गर्ने मानिसहरूले समेत यहाँ मासिक सरदर ६ लाख रुपियाँ नेपालीबराबर कमाउँदा रहेछन्। यहाँका मानिसहरूको सरदर आम्दानी १ लाख ७ हजार ७ सय ३६ अमेरिकी डलर भएको सुन्दा त मुर्छा नै पर्लाजस्तो भएको थियो। कतारपछि यो संसारकै दोस्रो धनी मुलुक रहेछ।

यति सानो मुलुक यसरी समृद्ध हुनुको सबैभन्दा पहिलो कारण त शान्ति नै रहेछ। युरोपकै अति शान्त र सुरक्षित भएका कारण अहिले संसारकै सबैभन्दा धनी मान्छे जेफ बेजोसको कम्पनी एमाजोन डटकम कम्पनीको मुख्यालय नै लक्जम्बर्गमा राखिएको रहेछ। त्यसै गरी सुरक्षित रहेकै कारण संसारका प्रायः सबै धनाढ्यका पैसा पनि लक्जम्बर्गका बैंकमा ल्याएर जम्मा गर्ने रहेछन्। त्यही कारण यति सानो मुलुक भएर पनि यहाँ १ सय ५० वटाभन्दा बढी बैंक रहेछन्। काठमाडौंमा हिँड्दा जताततै सहकारीहरू देखेजस्तै यहाँ पनि जता हेर्यो उत्तै बैंक देखिन्छन्।

यो देश सम्पन्न हुनुको अर्को कारण यसले जर्मनी, फ्रान्स र बेल्जियमजस्ता आफ्ना ३ वटै धनी छिमेकी मुलुक पाउनु पनि हो। यो मुलुकलाई धनी बनाउन आधाभन्दा बढी त यी छिमेकी मुलुकका मानिसले नै यहाँ आएर काम गरिदिँदा रहेछन्। जम्मा ६ लाख जनसंख्या भएको लक्जमबर्गमा हरेक दिन फ्रान्सबाट ७८ हजार ५ सय, बेल्जियमबाट ३९ हजार ४ सय र जर्मनीबाट ३९ हजार १ सय मानिसले काम गर्न आउने कुरा थाहा पाउँदा तीनछक परियो। राजनीतिक स्थिरता, मुलुकमा शान्ति र असल छिमेकी पाइयो भने मुलुक कहाँबाट कहाँ पुग्दो रहेछ। यी कुराको सन्तुलन गर्न सकिएको हुनाले नै लक्जमबर्ग संसारकै एउटा उदाहरणीय देश बनेको छ। अहिले युरोप र अमेरिकाभन्दा तीव्र गतिमा आर्थिक सफलता हासिल गरिरहेको चीन र भारतको छिमेकी हुने सौभाग्य प्राप्त नेपालमा पनि राजनीतिक स्थिरतासहित शान्ति कायम हुने हो भने दुई छिमेकी मुलुकहरूबाट उछिट्टिएर आएको विकासले मात्र पनि नेपाल लक्जम्बर्गजस्तो धनी मुलुक नहोला भन्न सकिँदैन।

धर्मनिरपेक्ष लक्जम्बर्ग संयुक्त राष्ट्रसंघ, नेटो र ईयूको पनि संस्थापक देश हो। संवैधानिक राजतन्त्रात्मक यो मुलुकका प्रधानमन्त्री जेभियर बेटेलले पुरुषसँगै विवाह गरेको सुन्दा हामीलाई आश्चर्य लाग्न सक्छ। तर, यस देशका प्रधानमन्त्री बेटेल पुरुषसँगै विवाह गर्ने युरोपकै पहिलो नेता हुन्। जम्माजम्मी ८ सय मात्र सैनिक भएकाले पनि यो मुलुक कति शान्त रहेछ भनी अनुमान लगाउन सकिन्छ।

नेपालको भूभाग ८३ प्रतिशत पहाडले समेटिएको भनेजस्तै लक्जम्बर्गको भूभाग पनि ४ भागमा ३ भाग त जंगलले नै ढाकेको छ। तैपनि यहाँका फराकिला सडक, हरियाली, सुन्दर बगैंचाहरू, विशाल भवन, पुराना चर्चहरू, दरबार, यातायातको सुविधा र सरसफाई आदि हेर्दा कुनै पनि ठूला युरोपेली मुलुकभन्दा लक्जम्बर्ग कम देखिँदैन। सायद सानो मुलुक भएर होला, यहाँ अन्य युरोपेली मुलुकमा जस्तो ट्राम चलेको देखिनँ। तर, यहाँका मानिसहरू अर्को वर्ष सन् २०१९ सम्म ट्राम पनि चल्ने कुरा गर्छन्। सबै जनता धनी भएर त होइन होला, सायद ट्रामको सुविधा नभएका कारण यहाँ हजार जना व्यक्तिमा ६ सय ८० जना आफ्नै निजी गाडीमा सफर गर्छन्। बुलेट ट्रेन चढेर यहाँबाट सीधै पेरिस पनि जान सकिन्छ।

धर्मनिरपेक्ष लक्जम्बर्ग संयुक्त राष्ट्र संघ, नेटो र ईयुको पनि संस्थापक देश हो। संवैधानिक राजतन्त्रात्मक यो मुलुकका प्रधानमन्त्री जेभियर बेटेलले पुरुषसँगै विवाह गरेको सुन्दा हामीलाई आश्चर्य लाग्न सक्छ। तर यस देशका प्रधानमन्त्री बेटेल पुरुषसँगै विवाह गर्ने युरोपकै पहिलो नेता हुन्। जम्माजम्मी ८ सय मात्र सैनिक भएकाले पनि यो मुलुक कति शान्त रहेछ भनी अनुमान लगाउन सकिन्छ।

लक्जम्बर्ग एनआएनको भेलामा सहभागी बेल्जियम एनआरएनका संस्थापक अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, एनआएनका पूर्वअध्यक्ष जिवा लामिछाने र कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियासँग लेखक।

दुई दिनभित्र घुम्न सकिने धेरै सानो र युरोपको मध्यभागमा रहेकाले युरोपको जुनसुकै देशबाट सहजरूपमा पुग्न सकिने हुँदा एकचोटि यहाँ पुग्दा हुन्छ भन्ने यस लेखकको सुझाव छ। संसारकै सबैभन्दा बढी वाइन खपत हुने लक्जम्बर्ग सन् १९६० सम्म स्टिल उत्पादनमा युरोपकै पहिलो श्रेणीमा आउँथ्यो। स्टिल व्यापारमा अरू देशहरूसँग प्रतिस्पर्धा बढेपछि भने लक्जम्बर्गले आफ्नो व्यवसायलाई केमिकल र फलाम उत्पादनमा प्राथमिकता दिन थालेको छ। बैंकिङ र फाइनान्समा त लक्जम्बर्ग सानो मुलुक भएर पनि स्वीजरल्यान्डसँग टक्कर लिन सक्ने हैसियतमा पुगिसकेको रहेछ। खोई किन हो लक्जम्बर्गमा खेलकुदलाई भने त्यति महत्त्व दिइएको रहेनछ। त्यसैले लक्जम्बर्गको कुनै राष्ट्रिय खेल नै छैन।

इन्टरनेट व्यवसाय गर्नेहरूका लागि यो देशमा धेरै सुविधा भएकाले गर्दा यहाँ एमेजोन मात्र हैन स्काइपसहित नाम चलेका संसारका थुप्रै इन्टरनेट कम्पनी आएर काम गरिरहेका छन्। हुन त सानो देश भएकोले एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल भए पनि सडकमार्गको सुविधा भएकाले गर्दा यहाँ पनि थुप्रै पर्यटक ओइरिने गरेका छन्। लक्जम्बर्गमा विश्वविद्यालय पनि एउटा मात्र रहेछ। भियानदेन क्यासल, ग्रान्ड डकाल प्यालेस, नोत्रे डेम क्याथाड्रल, गेले फ्राजस्ता ऐतिहासिक, सांस्कृतिक र कलात्मक संरचनाहरू यहाँ पुगेपछि हेर्न छुटाउनै नहुने ठाउँहरू हुन्। दोस्रो विश्वयुद्धपछि तहसनहस भएको युरोपको आर्थिक स्थिति सुधार गर्न लक्जम्बर्गले बेल्जियम र नेदरल्यान्डसँग मिलेर बनाएको संगठन बेनेलक्सको सम्झौता गरेको ठाउँ पनि ऐतिहासिक भन्दै धेरै पर्यटक पुग्ने गरेका रहेछन्। लक्जम्बर्ग घुम्नका लागि अप्रिल र अगस्ट मौसमको हिसाबले सबैभन्दा उपयुक्त समय हो।

श्रीमती राजेश्वरी श्रेष्ठ र पेरिसमा बसोबास गरिरहेकी काकी जगदम्बा अमात्यसँग लक्जम्बर्ग घुम्दै लेखक। काकी अमात्य हालसालै आफ्नो भीमरथारोहणका लागि काठमाडौं आउनुभएको छ।

दोस्रो विश्वयुद्धले ध्वस्त भएको युरोपको अर्थतन्त्रबाट चिन्तित भएर बेल्जियम र नेदरल्यान्डसँग मिलेर बनाएको बेनेलक्सले पनि लक्जम्बर्गलाई आर्थिकरूपमा माथि उठाउन धेरै काम गरेको देखिन्छ। बेलायतको राजधानी लन्डनमा सेप्टेम्बर १९४४ मा ३ देशका प्रमुख नेता बसेर बनाएको यो संगठनले ३ देशबीच हुने व्यापारमा भन्सार सहुलियत दिने, आयात–निर्यातमा सीमा नतोक्ने र व्यापारमा सहजीकरण गर्ने मुख्य उद्देश्यले त्यस बेला बनाएको बेनेलक्सको अवधारणाबाटै अहिलेको युरोपियन युनियन बनेको हो भन्दा केही फरक पर्दैन। यसैलाई हेरेर जर्मनी, इटाली, फ्रान्सजस्ता युरोपेली मुलुकहरू मिलेर बनेको युरोपियन इकोनोमिक कम्युनिटी नै पछि गएर युरोपियन युनियन बनेको हो।

लक्जम्बर्गको जर्मनी र फ्रान्सको सीमानजिक लेखक ।

अंग्रेजी भाषामा बेनेलक्स भनिने यो संस्थाको नाम बेल्जियम देशको अगाडिको दुई अक्षर बे नेदरल्यान्डको अगाडिको २ अक्षर ने र लक्जम्बर्ग देशको अगाडिको ३ अक्षर लक्स झिकेर राखिएको हो। सन् २०४८ बाट औपचारिकरूपमा काम शुरू गरिएको बेनेलक्सले सन् १९५५ मा आफ्नो छुट्टै संसद् बनाएको थियो। यो संसद्मा बेल्जियम संसद्बाट २१, नेदरल्यान्ड संसद्बाट २१ र लक्जम्बर्ग संसद्बाट ७ जना सांसदले प्रतिनिधित्व गर्छन्। यसको मुख्यालय बेल्जियमको राजधानी ब्रसेल्समा राखिएको छ।
लक्जम्बर्ग सानो भएर पनि कति शक्तिशाली मुलुक रहेछ भन्ने कुरा यहाँको पासपोर्ट भिरेपछि १ सय ७९ भन्दा बढी देशमा सजिलैसँग अध्यागमन पुग्नेबित्तिकै भिसा पाउन सकिने कुराबाट पनि थाहा पाउन सकिन्छ। तुलनात्मकरूपमा युरोपका अन्य मुलुकमा भन्दा यहाँ खानेकुराहरू त्यति महँगो पनि लागेन। बस्नलाई भने निकै गाह्रो रहेछ। शुरूमै होटलहरू बुक गरेर गइएन भने होटल पाउनै मुस्किल हुने। नेपालीहरूले पनि धेरै ठाउँमा रेस्टुरेन्ट खोलिसकेकाले लक्जम्बर्ग पुगेर पनि मज्जाले नेपाली स्वादको दाल, भात, तरकारी खान पाइन्छ।

‘जहाँ न पहँुचे कवि वहाँ पहुँचे रवि’ भनेजस्तै यति सानो मुलुकमा पनि ४ हजार नेपाली पुगिसकेका रहेछन्। यसपटकको युरोप यात्रामा लक्जम्बर्गलाई समावेश गरिए तापनि प्राथमिकतामा भने राखेको थिइनँ। तर बेल्जियमका गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष रवीन्द्रमान श्रेष्ठले २५ जुन २०१७ मा लक्जम्बर्गको गैरआवासीय नेपाली संघको चौथो राष्ट्रिय समन्वय परिषद् हुँदै छ भन्दै ब्रसेल्सबाट उहाँकै गाडीमा लिएर गएपछि हामी त झन् लक्जम्बर्गमा सजिलैसँग पुग्यौं। यही सम्मेलनमा पुगेपछि यहाँ भेला भएका नेपालीहरूबाटै लक्जम्बर्गमा ४ हजार नेपाली बस्छन् भन्ने कुरा थाहा पाइएको हो। यो सम्मेलनमा एनआरएनका पूर्वअध्यक्ष जीबा लामिछाने प्रमुख अतिथि बनेर आउनुभएकाले एकछिन उहाँसँग पनि रमाइलो भेटघाट गर्न पाइएको थियो भने सम्मेलनमा सहयोगी कान्तिपुर प्रकाशनका अध्यक्ष तथा नेपाल मिडिया सोसाइटीका निवर्तमान अध्यक्ष कैलाश सिरोहियासँग भएको आश्चर्यजनक भेटघाट लक्जमबर्ग भ्रमणको अर्को रमाइलो क्षण बन्न पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्