उपभोक्ता ठगी गर्नेलाई कारबाही गर



चौधरी ग्रुपको लगानी रहेको अरूण इन्टरकन्टिनेन्टल ट्रेडर्सले महँगो शुल्कमा सवारीसाधन बिक्री गरेर उपभोक्ता ठगी गरेको प्रमाणसहित उजुरी गर्दा पनि प्रहरीले सञ्चालकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छैन । प्रहरी प्रशासन मात्र हैन, उच्चस्तरीय राजनीतिक पहुँच भएको यो ग्रुप ठूलो व्यापारीको रुपमा परिचित छ । अरूण इन्टरकन्टिनेन्टल ट्रेडर्सले ग्राहकलाई सम्पूर्ण करसहित ९ लाख ९६ हजार रुपियाँमा आउने गाडीलाई विभिन्न शीर्षकमा गैरकानुनी कर जोडेर १५ लाख ३२ हजार रुपियाँमा बिक्री गरेको प्रमाणसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दुई साताअघि नै महानगरीय प्रहरी परिसर, ललितपुरलाई उपभोक्ता ठगेको प्रमाणसहित कारबाही गर्न पत्राचार गरेको थियो ।

सुजुकी कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता अरूण इन्टरकन्टिनेन्टल ट्रेडर्सले १ हजार ३ सय वटा गाडी बिक्री गर्दा ४३ करोड रुपियाँभन्दा बढी रकम उपभोक्ताबाट ठगेको भन्दै आपूर्ति विभागले प्रहरीलाई प्रमाण पेस गरेको छ । अरूण इन्टरकन्टिनेन्टल ट्रेडर्सले प्रतिगाडी विज्ञापन खर्चबापत ९६ हजार र कर्मचारीलाई तलबलगायत प्रशासनिक खर्चबापत ३६ हजार रुपियाँ उपभोक्तालाई नै तिर्न लगाएर ठगी गरेको पनि पाइएको छ । यो कम्पनीले बैंकको ब्याज भन्दै उपभोक्तालाई प्रतिगाडी २७ हजार ५ सय रुपियाँ तिर्न लगाएको छ । साथै गाडी बिक्री हुनुअघि सोरुममा पार्किङ गरेको शुल्क भन्दै २० हजार रुपियाँ उपभोक्तासँग लिएको देखिएको छ ।

कानुनमा कालोबजारी तथा अन्य अपराध तथा सजायँ ऐन २०३२ अनुसार अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर वस्तु बिक्री गर्दा कालोबजारी गरेको ठहरिनेछ । ऐनअन्तर्गत मालवस्तुको उत्पादक, आयातकर्ता वा वितरकले निर्धारित मोलभन्दा बढी मोल लिई कसैले कुनै माल वस्तु बिक्री गर्न पाइँदैन । यस्तो कार्य गरेमा मालसामान लिएको मोल फिर्ता गराई सो माल वस्तु जफतसहित यस्तो काम गर्नेलाई १० वर्षसम्म कैद हुने व्यवस्था छ । प्रहरी, प्रशासन र राजनीतिक पहुँचको आधारमा ठूला व्यापारिक समूह तथा कम्पनीले बारम्बार उपभोक्ताबाट करोडौं रुपियाँ ठगी गरेको प्रमाणसहित कारबाही प्रक्रिया अघि बढाउन आग्रह गर्दा पनि ढिलासुस्ती हुनुले प्रहरी प्रशासनमाथि पनि प्रश्न उब्जिएको छ । उपभोक्ता ठगी गर्ने जोसुकैलाई पनि यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्