राप्ती क्षेत्रकै सुविधासम्पन्न होटल दाङमा



नरेन्द्र केसी, दाङ । दाङको घोराहीमा राप्ती क्षेत्रकै सुविधासम्पन्न होटेल सञ्चालनमा आएको छ । घोराहीको मेन रोडमा स्थापना भएको होटल माला इन दाङको अहिलेसम्म खुलकै होटलमध्ये सुविधा सम्पन्न रहेको छ ।

जग्गाबाहेक साढे १५ करोडको लगानीमा यो होटल सञ्चालनमा आएको होटल सञ्चालक ओबिन्द्र महराले जानकारी दिनुभयो । लिफ्सहितको होटल राप्ती क्षेत्रकै यो पहिलो हो । १ सय ७ जना पाहुना राख्नसक्ने क्षमतासहित ४९ वटा कोटा सञ्चालनमा ल्याइएकोमा उहाँले बताउनुभयो । त्यसबाहेक ५० जना अटाउने क्षमताको ‘रोल्पा हल’, एक सय जना अटाउने क्षमता भएको ‘रुकुम हल’, २५ जना हटाउने क्षमतासहितको ‘प्युठान हल’ र २ सय २० जना हटाउने क्षमता सहितको ‘दाङ हल’ गरी चार वटा सभाहल पनि राखिएको छ ।

त्यस्तै ४४ जनाको क्षमता भएको ‘दियो बार’ र ३६ जनाको क्षमता भएको ‘जल बार’ गरी दुइवटा रेष्टुरेन्ट राखिएको होटेल माला इन प्रालिका अध्यक्ष महराले जानकारी दिनुभयो । होटलमा पन्ध्रबढी कार र ३० बढी मोटरसाइल राख्ने पार्किङ पनि राखिएको छ । होटलमा लिफ्ट पनि राखिएको छ । त्यस्तै होटलमा प्रयोग हुने पानी पनि आफ्नै प्लान्टबाट उत्पादन गर्ने ब्यवस्था गरिएको छ ।

प्रदेश राजधानीलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको छ । होटल सञ्चालक महराले आफू उद्योग वाणिज्य संघमा रहेको बेला धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था दाङमा सुविधा सम्पन्न होटल नभएको भन्दै फर्कने गरेकाले आफूले यति धेरै लगानीमा होटल सञ्चालनमा ल्याउने सोंच बनाएको बताउनुभयो । होटलमा सबैभन्दा महंगा मानिएका ७ सय ५ का दुइवटा कोठा रहेका छन् भने बाँकी सबै एसी कोठा रहेका छन् । कोठाको न्यूनतम शुल्क २ हजारदेखि अधिकतम ७ सय ५ सय सम्म राखिएको छ ।

यो होटलमा ३५ जनाले रोजगारी पाएका छन् । दाङको विकास र पर्यटन प्रबन्धनमा सहयोग पुगोस् भनेर आफूले होटल सञ्चालन गरेको महराको भनाइ छ । ‘होटलले थ्रीस्टार’को मान्यता पाउन आवेदन दिइसकेको पनि उहाँले जानकारी दिनुभयो । अहिले सेवाग्राहीले शुल्कभन्दा पनि सुविधा र सुरक्षा महत्वपूर्ण मान्ने भएकाले आफ्नो होटलमा धेरै सेवाग्राही आकर्षित हुने उहाँको विश्वास छ ।

यसअघि दाङको घोराहीमा सिटीप्लाजा, सुपर लज, डोको, भिंग्रेली भिलेज, ग्रीन भ्याली, म्यांगो, म्याजेस्टिक, माउन्ट एभरेष्ट, माछापुच्छ्र्रे, तुलीपुरमा माउन्टभ्यू, एकान्त, वेष्टर्न पार्टी प्यालेसलगायतका सुविधासम्पन्न होटल सञ्चालनमा छन् । बढीमा २५ कोठासम्मका यी होटल चलिरहेको बेला ४९ कोठासहितको माला इन होटल सञ्चालनमा आएकाले यसलाई यो क्षेत्रकै आधुनिक र सुविधा सम्पन्न मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्