विद्यालयसँगैकाे गौशालामा दिनहुँ गाई मर्दा विद्यालय दुर्गन्धित



हेमन्त पौडेल, कैलाली । विद्यालयको पर्खालसंगै जोडेर गौशाला निर्माण गरेपछी घोडाघोडी नगरपालिका १ घोडाघोडीमा रहेको विराट सनातन धर्म सँस्कृति विद्या पिठ मावि दुर्गन्धित बनेको छ । विद्यालयको पर्खालसंगै जोडेर यस क्षेत्रमा रहेका छाडा चौपायाहरुलाई थुनेर राख्न भन्दै घोडाघोडी नगरपालिकाले गौशाला निर्माण गरेपछि विद्याल दुर्गन्धित बनेको हो ।

घोडाघोडी नगरपालिका क्षेत्रमा रहेका छाडा चौपायाहरुलाई हुलेर राख्नका लागि एका तर्फ विद्यालयको पर्खालाई बार बनाईएको छ भने तीन तर्फ काँडेतार लगाएर गौशाला निर्माण गरिएको छ । गौशालामा रहेका गाईगोरुको दिसापिसावको दुर्गन्धतले विद्यालयको कक्षा कोठामा बसेर पढ्न विद्यार्थीलाई निक्कै नै समस्या हुने गरेको विद्यार्थीहरुले बताएका छन् ।

यसको साथै गौशालामा रहेका गाईगोरु दैनिक मर्ने गरेकोले त्यसको दुर्गन्ध समेत विद्यालयमा फैलिने गरेको विराट सनातन धर्म सँस्कृति विद्या पिठ माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी प्रेम प्रसाद उपाध्यायले बताउनुभयो । दैनिक जस्तो दुई चार ओटा गाई तथा गोरु गौशाला भित्रै पर्ने र धेरै दिनसम्म नउठाउने गरेकोले पनि दुर्गन्धले विद्यालयको कक्षा कोठामा बसेर पढ्न समस्या हुने गरेको उहाँले बताउनुभयो ।

करिब छ महिना अगाडी विद्यालयको भवनसंगै जोडीएको करिब पाँच कठ्ठा क्षेत्रफमा घोडाघोडी नगरपालिकाले एक तर्फ विद्यालयको पर्खाल र अर्को तीन तिर काँडेतार लगाएर गौशाला निर्माण गरेको थियो । दैनिक जस्तो गौशालामा ल्याएर करिब सय डेढसय गाईगोरुहरु थुन्ने गरिएको तर उनीहरुलाई आहार तथा पानीको समेत कुनै व्यवस्था नगरिएकोले मर्ने गरेको स्थानीयहरुले बताएका छन् । गौशालामा गाईगोरु मरेको महिनौं वित्दा समेत नगरपालिकाले उठाउन तर्फ ध्यान नदिने गरेकोले गाउँनै दुगन्धित हुने गरेको स्थानीय रिता उपाध्याले बताउनुभयो । गाईगोरु मरेर गौशालामै सड्ने गरेको र त्यसको दुगन्धले गाउँपुरै प्रभावित हुने गरेको उहाँले बताउनुभयो ।

स्थानीयहरुले नगरपालिकालाई यो ठाउँमा गौशाला नराख्न पटक पटक आग्रह गर्दा समेत घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरी र वा.न. १ का अध्यक्ष मनराज शाहीले जवरजस्ती रुपमा गौशाला निर्माण गरेको स्थानीयहरुको आरोप रहेको छ । स्थानीयहरुलाई बेवास्ता गर्दै मेयर चौधरी र वडा अध्यक्ष शाहीले एकलौटी रुपमा गौशाला निर्माण गरेर गाउँ तथा विद्यालयलाई नै दुगन्धका कारण प्रभावित बनाएको भन्दै स्थानीयहरु आक्रोशित समेत भएको छन् ।

तत्काल गौशाला नहटाए आफुहरु मेयर चौधरी र वडा अध्यक्ष शाही विरुद्ध सशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् । यस्तै पटक पटक विद्यायसंगै जोडेर बनाएको गौशाला हटाई दिन विद्यालयले विभिन्न निकायहरुसंग आग्रह गर्दा समेत कसैले सुनुवाई नै नगरेको विराट सनातन धर्म सँस्कृती विद्या पिठका प्रधानाध्यापक ज्ञान चन्द्र उपाध्यायले बताउनुभयो ।

गौशाला हटाई दिन भन्दै आफुले घोडाघोडी नगरपालिकाको कार्यलय, घोडाघोडी नगरपालिका वा.न. १ को कार्यालय, घोडाघोडी नगरपालिकामै रहेको शिक्षा शाखा र ईलाका प्रशासन कार्याल सुखडमा लिखित निवेदन दिँदा समेत कसैले ध्यान नदिएको उहाँले बताउनुभयो । विद्यालय नै दुगन्धित भएको कारण आफुहरुले पढ्न नपाएको भन्दै विद्यार्थीहरुले नगरपालिकामा ताला लगाउने लगाएता आन्दोलन गर्ने बताउदै आएको भएता पनि आफुले त्यसो गर्न नदिएको उहाँले बताउनुभयो ।

घोडाघोडी नगरपालिका वा.न. १ का अध्यक्ष मनराज शाहीले आफुले नभएर मेयर ममता प्रसाद चौधरीले सोही विद्यालयको हातामै गौशाला निर्माण गर्न लागएको बताउनुभयो । सबै निर्णय मेयर चौधरीले गर्ने गरेकोले उहाँले भन्ने वित्तिकै गौशाला हटाउन कुनै समस्या नरहेको उहाँको भनाई रहेको छ । यता घोडाघोडी नगरपालिकाका मेयर ममाता प्रसाद चौधरीले गौशाला निर्माणको जिम्मा वडाअध्यक्ष शाहीलाई दिएको र उहाँले नै विद्यालयको भवनसंगै जोडेर गौशाला निर्माण गरेको बताउनुभयो ।

उक्त गौशालाले विद्यालय र त्यो क्षेत्रको वस्ती दुर्गन्धका कारण प्रभावित भएको कुरा आफु कहाँ समेत आएको बताउँदै उक्त गौशाला वाडा नम्बर १ का अध्यक्ष मनराज शाहीले नै हटाउनु पर्ने मयेर चौधरीले बताउनुभयो । वा.न. १ मा बस्ती तथा विद्यालय नभएका क्षेत्रमा प्रसस्त खाली ठाउँ हुदाहुँदै वडाअध्यक्ष शाहीले विद्यालयसंग जोडेर गौशाला निर्माण गर्नु गलत रहेको र उक्त गलत उहाँ आफैले सुधार्नु पर्ने मेयर चौधरीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्