पर्वतको जलजलामा अबैध ढुंगाखानी सञ्चालन



दुर्गाप्रसाद शर्मा, पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानमा अवैध ढुंगाखानी संचालन भएका छ्न ।

साविक माझफाँट, लेखफाँट र बाँसखर्क गाबिसमा एक दर्जन भन्दा बढी अबैध ढुंगाखानी सञ्चालनमा आएका हुन् । बाँसखर्क गाबिसको वडा नं १ र ८ नम्बर वडा तथा माझफाँट गाबिसको वडा नं ९ मा निजी जमिन र सार्वजनिक चौर तथा बन क्षेत्रमा समेत अबैध ढुंगाखानी सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । अनुमति नलिइकन सञ्चालनमा रहेका यस्ता ढुंगाखानीका कारण भू्–क्षय र पहिरोको जोखिम समेत बढ्दै गएको छ ।

निजी जमिन र सार्वजनिक क्षेत्रमा सञ्चालित यस्ता खानीहरुले कुनै पनि निकायबाट अनुमति नलिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो । खानी सञ्चालन गर्नका लागि खानी तथा भूगर्भ बिभाग, वन कार्यालय, भूसंरक्षण कार्यालयबाट अनुमित लिनुपर्छ । अहिले सम्म सञ्चालित कुनै पनि खानीले अनुमति लिने र जिल्ला समन्वय समितिमा कर बुझाउने काम नगरेको मल्लले बताउनुभयो ।

अनुमति नलिइकन चलेका खानी बन्द गर्न पटक पटक ताकेता गर्दा समेत कुनै सुनुवाई नगरी सञ्चालन भैरहेका थिए । ‘कानुनी प्रकृया पुरा गर्ने र राजस्व बुझाउने गरी सञ्चालन गर्न धेरै पटक भनेका थियौ, जिल्ला समन्वय समितिका सूचना अधिकृत तुलसीराम शर्माले भन्नुभयो ‘उल्टै अनुमति नलिइकन पर्याबरणीय जोखिम बढाएर खानी सञ्चालन भैरहेका छन ।’

ढुंगा उत्खनन गर्न अनुमति नलिएका यस्ता खानी सञ्चालकले ढुंगा कटिङ्ग गर्नका लागि घरेलु तथा साना उद्योग बिकास समितिबाट समेत अनुमति लिएका छैनन । बाँसखर्कमा धेरै खानी सार्बजनिक क्षेत्र र सामुदायिक वन क्षेत्रमा सञ्चालित रहेको स्थानियबासीले बताउनुभयो । माझफाँटमा भने निजी जमिनमा खानी सञ्चालक धेरै छन ।

दुई वर्षदेखि माझफाँटमा खानी सञ्चालन गर्दै आएका तेजबहादुर खत्रीले निजी जमिनमा खानी सञ्चालन गर्न पाउनुपर्ने बताउनुभयो । ‘आफ्नो जमिनमा पनि अनुमति लिनुपर्छ भन्ने नै थाहा छैन’ उहाँले भन्नुभयो ‘अनुमति लिने प्रकृयाका बारेमा जानकारी भएमा अनुमति लिएरै सञ्चालन गर्ने र्छौ ।’

भिरालो र पुरानो पहिरोमा खानी उत्खनन गरिएकाले त्यसले केही समय पछि पहिरोको रुप लिने र त्यसबाट प्रसिद्ध धार्मिकस्थल गलेश्वर र म्याग्दीको सदरमुकाम बेनीबजार सम्म असर पार्ने देखिएको छ । बाँसखर्क लेखफाँट र माझफाँटमा निकालिएको ढुंगाको पोखरामा माग बढेपछि तीन बर्ष यता खानी सञ्चालन गर्ने क्रम बढेको छ । पोखरामा घर सजाउन यस्ता ढुंगाको माग बढेपछि धमाधम नयाँ खानी सञ्चालन भैरहेका छन ।

यसैबीच जलजला गाउँपालीकाले अबैध ढुङ्गा खानीहरुको अध्ययन अनुगमनका लागि समिति गठन गरेको छ ।
जलजला गाउँकार्यपालीकाको केही दिन पहिले बसेको बैठकले वडा न. ३ का वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)को संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।

गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको बैठकले गाउँपालीकाका सबै वडाहरुमा रहेका ढुङ्गा खानीहरुको अध्ययन अनुगमन गरि प्रतिवेदन पेश गर्ने समितिलाई अधिकार दिएको छ ।
दर्ता नगरी, वातावरणलाई असर पार्ने गरी अव्यवस्थित रुपमा ढुङ्गाखानी उत्खनन् भएको पाइएपछी त्यसलाई नियमन र व्यवस्थित गर्न गाउँपालीकाले पहल थालेको हो ।

प्रतिक्रिया दिनुहोस्