विद्रोही पाइलट विरुद्ध सशस्त्र कारबाही



काराकास, (एजेन्सी)
गतवर्ष भेनेजुयलामा भएको सशस्त्र क्रान्तिको नेतृत्व गरेको अभियोग लागेका एकजना हेलिकोप्टर पाइलटलाई नियन्त्रणमा लिने अभियानको क्रममा दुईजना प्रहरी अधिकारीलगायत अन्य थुप्रै आतंककारीको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन्।

ओस्कार पेरेज नामक ती पाइलट बस्ने गरेको सुराकी पाएपछि भेनेजुयलाका सुरक्षा फौजले राजधानी काराकासनजिकको एल जन्क्विटो शहरको एउटा भवनलाई घेराबन्दी गरेको थियो। प्रहरीले यस अभियानको दौरान एउटा अपराधिक समूहसँग आबद्ध रहेको अभियोगमा ५ जनालाई गिरफ्तार गरेको जनाएको छ।

पेरेजको स्थिति भने अझैसम्म स्पष्ट भएको छैन। एक वरिष्ठ सरकारी अधिकारी डिओस्डाडो क्यावेल्लोले ट्विट गर्दै पेरेजले प्रहरीमाथि गोली चलाएको बताएका छन्। गत २७ जुनमा पेरेजले एउटा चोरिएको हेलिकोप्टर प्रयोग गर्दै सरकारी भवनमाथि ग्रिनेड प्रहार गर्न खोजेदेखि उनीविरुद्ध पक्राउपुर्जी जारी भएको थियो। सोमबार सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा पेरेजले भनेका छन्, ‘मैले सरकारी निकायसमक्ष आत्मसमर्पण गर्ने प्रस्ताव राखेको थिएँ। तर तिनीहरू मेरो समर्पणका लागि वार्ता गर्नभन्दा मलाई नै मार्ने प्रयासमा रहेका छन्। उल्टै सराकारी फौजले हामीमाथि रकेटबाट ग्रिनेड प्रहार गर्यो। यहाँ अन्य सर्वसाधारण पनि रहेकाले हामीले समर्पण गर्न खोज्यौं। तर तिनीहरू हामीलाई मार्न चाहन्छन्।’

बेल्जियमकै सबैभन्दा चर्चामा आएका परेजले ५ जुलाईमा आफूले सरकारविरुद्धको आक्रमण जारी राख्ने प्रतिबद्धता जाहेर गरेका थिए।
राष्ट्रपति निकोलस माडुरोले सैनिक विद्रोहको आह्वान गर्दै सडकमा विपक्षी राजनीतिक समूहबाट सरकारविरुद्ध प्रदर्शन भइरहेका बेला सेनाको हेलिकोप्टर चोरेर सर्वोच्च अदालत भवनमा ग्रिनेड खसालेको आरोपमा आतंककारी घोषित गरेका थिए। अहिले करिब ३० वर्ष उमेरका पेरेज सीआईसीसीसी नामक फोरेन्सिक प्रहरी फौजमा १५ वर्षसम्म सदस्य रहेका थिए।

प्रतिक्रिया दिनुहोस्