दोहोरो अंकले नेप्सेमा गिरावट



काठमाडौं, (नेस)
साताको तेस्रो दिन तथा माघ महिनाको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १७ दशमलव ३९ अंकले घटेको छ। यसदिन १ हजार ४ सय ३१ दशमलव १ अंकबाट शुरू भएर १ हजार ४ सय १३ दशमलव ७१ अंकमा पुगेको हो।

मंगलबार शेयर बजारमा कारोबार शुरू भएसँगै ओरालो लाग्न शुरू गरेको थियो। तर, अन्तिम एक घण्टा सुधारिने कोशिस गरे पनि बजार नसम्हालिएको हो। शेयर बजार आइतबार पनि ९ दशमलव १९ अंकले घटेको थियो। नेप्से परिसूचक घट्दा मंगलबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७९ अंकले घटेर २ सय ९८ दशमलव ४१ को बिन्दुमा पुगेको छ।

नेप्से घट्दा मंगलबार कारोबार रकम भने बढेको छ। आइतबार ३२ करोड ८३ लाख रुपियाँको कारोबार भएको बजारमा मंगलबार ३६ करोड २२ लाख ८५ हजार ९२ रुपियाँको शेयर कारोबार भएको छ। यसदिन १ सय ५४ कम्पनीका ८ लाख ११ हजार ७ सय ५९ कित्ता शेयर किनबेच भएका छन्।

मंगलबार कारोबारमा आएका सबै समूहका परिसूचकहरू घट्दा नेप्से ओरालो लागेको हो। यसदिन सबैभन्दा बढी घट्नेमा जलविद्युत् समूह रहेका छन्। जलविद्युत् समूहको परिसूचक १ सय दशमलव शून्य ८ अंकले घट्दा बीमा समूह पनि ८८ दशमलव ६ अंकले घटेको हो। यसदिन सबैभन्दा बढी सानिमामाई हाइड्रोपावर कम्पनीको शेयरको भएको छ। यस कम्पनीका ५ करोड ४५ लाख रुपियाँभन्दा बढीको कारोबार हुँदा एनआईबीएल प्रगति फन्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए। फन्डको शेयर मूल्य ४ दशमलव शून्य २ प्रतिशतले बढेको छ। त्यस्तै सिन्धु विकास बैंक, चिलिमे हाइडोपावर र बुटवल पावर कम्पनीका लगानीकर्ताले ७ प्रतिशतभन्दा बढीले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्