चित्रमा सुनैनाको समानता



मिथिला कलामार्फत महिला मुक्ति र स्वतन्त्रताका विषयमा आवाज उठाउँदै आएकी कलाकार सुनैना ठाकुरको दोस्रो एकल चित्रकला प्रदर्शनी समानता नेपाल आर्ट काउन्सिलमा भइरहेको छ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ द्वारा सोमबार शुभारम्भ गरिएको प्रदर्शनीमा बुद्ध, माछा रास, लाइफ अफ ट्रि, माया प्रेम, महिला नेतृत्व, धर्मनिरपेक्ष नेपाल, बौद्धिक सत्य आमा, गोदना रास (टाटु), नारीको समस्त रूप, होलिका दहन, नारी शक्ति, आमा–छोराको प्रेम, अर्धनारेश्वर, ग्रामीण परिवेश, नारी पुरुष एक समान, ममतामयी आमा, जननी जन्म भूमिश्च स्वर्गादपि गरियशी, नारी चन्द्र–सूर्यको प्रतीक, ज्योति समस्त प्रतीक नेपाललगायत शीर्षकका २८ चित्रकला राखिएका छन्।

महोत्तरी जिल्ला जलेश्वर–४ की सुनैना पोखरा, काठमाडौं, भारतलगायत विभिन्न स्थानमा कला प्रदर्शनी तथा कला कार्यशालामा सहभागी भइसकेकी छिन्। विशेषतः महिला अधिकार, सशक्तीकरण, समानता, महिलामाथि हुने हिंसाका विषयमा चित्र कोर्दैै आएकी कलाकार सुनैनाले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानबाट ललित कला विशेष पुरस्कार, अमेरिकाबाट कमन ग्राउन्ड अवार्डलगायत सम्मान तथा पुरस्कार प्राप्त गरेकी छिन्। प्रदर्शनी माघ ६ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्