सर्वोच्च अदालतको सराहनीय कदम



अदालतले राष्ट्रिय ढुकुटीमा रहेको १० अर्ब रुपियाँ खर्च हुनबाट जोगाएको छ। यदाकदा केही कार्य गरेर चर्चामा आइरहने सर्वोच्च अदालतले आइतबार एउटा महत्वपूर्ण आदेश जारी गरेर राष्ट्रिय ढुकुटीमा रहेको १० अर्ब रुपियाँ खर्च हुनबाट जोगाएको हो। न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले उक्त आदेश जारी गरेपछि न्यायपालिकाप्रति जनताको सम्मान बढेको अनुभव गरिएको छ।

पूर्वसांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रतिसांसद ३ करोडको दरले खर्च गर्न पाउने व्यवस्था मिलाएका थिए। सांसदहरुको पदावधि समाप्त भैसकेको वर्तमान अवस्थामा पूर्वसांसदहरुको हैसियतमा उक्त रकम अहिले खर्च गर्न नमिल्ने भनी आदेश जारी भएको हो।

कैलाली क्षेत्र नं. २ का निर्वाचित एमाले सांसद झपट रावलले उक्त रकम निकासा दिने कार्य रोकी पाऊँ भनी सर्वोच्चमा रिट दिएका थिए। सांसद पद नै नरहेको र नयाँ जनादेश प्राप्त भइसकेको वर्तमान अवस्थामा यसरी अर्बौं रुपियाँ जथाभावी कनिका बाँडेसरह बाँड्नु अनैतिक कार्य नै हो। आफ्नो कार्यकाल सकिनै लाग्दा गत असोजको अन्तिम साता तत्कालीन संसदमार्फत सरकारलाई अनुरोध गरिएको थियो। तर, रकम भने निकासा भई नसकेको कारण निकासा रोक्न सहज भएको हो। पूर्वसंरचनाअनुसार जनादेश गुमाएको सरकारले सर्वसञ्चित कोषबाट रकम खर्चिन नहुने भनी रिट दायर गरिएको थियो। सर्वोच्चको संयुक्त इजलासले विषयको गम्भीरतालाई महसुस गर्दै रकम निकासा नदिन गरेको आदेशले जनभावनाको सम्मान गरेको देखिन्छ।

तर, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भने उक्त मुद्दामाथि पुनर्विचार गर्न अदालतसँग आग्रह गरेका छन्। पूर्वसांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा सडक, खानेपानी, सिंचाइ, कुलो, सामुदायिक भवन, विद्यालय भवनलगायतका क्षेत्रहरुमा अहिलेसम्म भएको खर्च कसले व्यहोर्ने भनेर उनले प्रश्न गरेका छन्। तर न्यायको सर्वोच्चताको अगाडि अन्य कुराहरु गौण ठहरिएका छन्।

सरकारी ढुकुटीबाट अर्बौं रकम आफूखुशी पूर्वसांसदहरुलाई वितरण गर्ने योजना सर्वोच्चको आदेशले रोकिदिएकोमा प्रशन्नता व्यक्त गरिएको छ। नयाँ जनादेश आइसकेको अवस्थामा पूर्वसांसदहरुले मिलेर रकम निकासा गराउन खोज्नु आफैँमा प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ। अब स्थानीय तहमा हुने विकासका कामहरु स्थानीय निकायमार्फत हुने भएकोले आमनागरिकले यो आदेशबाट चिन्तित हुनुपर्दैन। सर्वोच्च अदालतले आइतबार यससम्बन्धमा दिएको आदेश आफैँमा सर्वस्वीकार्य रहेको छ। अदालतले जनताको मन जित्न निष्पक्ष निर्णय गर्दै जानु आफैंमा राम्रो पक्ष हो। आउँदा दिनमा पनि यस्तो गति नरोकियोस्।
– सुलोचना शर्मा, पुल्चोक, ललितपुर
ज्ञान सर्वत्र पाइन्छ
औपचारिक शिक्षामा रटान लाउनेहरुले जान्नै पर्ने कुरा छ। विद्यालयमा जानु, विश्वविद्यालयहरुमा अध्ययन गर्नु, विभिन्न शैक्षिक प्रतिष्ठानहरुमा भर्ना भएर परीक्षा दिनुले मात्र हाम्रो ज्ञानको आवश्यकता परिपूर्ति हुँदैन भन्नेमा मेरो विश्वास छ। ज्ञान भनेको जानकारी नभएर ठीक र बेठीकको उचित छिनोफानो गर्ने आन्तरिक शक्तिको नाम पनि हो। जबसम्म व्यक्ति उचित र अनुचितको भेद पत्ता लगाउन सक्दैन, तबसम्म उसले पढेको छैन भनेर बुझ्नुपर्दछ। ज्ञान पाउनु भनेको नै जीवनलाई उचित बाटोतिर लिएर जानु हो। पशुहरुमा यो दिव्य ज्ञानको अभाव हुने गर्दछ। यसैले, उनीहरु ठीक–बेठीकको उचित विवेचना गर्न सक्दैनन्। मनुष्यको ज्ञानले उसलाई यही कर्तव्य र अकर्तव्यको विवेचना गर्ने ऊर्जा प्रदान गर्ने गर्दछ। यही ज्ञान शक्तिका आधारमा नै मनुष्य पशुभन्दा भिन्न भएको हो।

सबैभन्दा विचारणीय त के छ भने, नपढेका हुनाले कसैले ठीक र बेठीक छुट्याउन नसक्दा जीवनमा धेरै बेठीक भइरहेको कुरालाई सामान्य मान्न सकिएला, तर पढेर पनि यदि जीवनमा बेठीक भइरहनुलाई के भन्ने ? प्रशस्त अध्ययन अध्यापन गर्दागर्दै पनि हामीले उचित र अनुचितलाई समान मान्न थाल्यौँ भने त्यतिखेर के गर्ने ? यो आजको अहं प्रश्न हो। आज ज्ञानी मान्छेको कमी छैन। हिजोभन्दा आज उच्च शिक्षा हासिल गर्ने मानिसको संख्या बढेर गएको छ। नयाँ–नयाँ विषयहरु पनि थपिएका छन्, विश्वविद्यालय र विद्यापीठहरु पनि थपिएका छन्। यति हुँदाहुँदै पनि किन बेथितिहरु हट्न सकेनन् ? किन धेरै पढेका मानिस पनि सुखी र शान्त हुन सकेनन् ? किन तिनले निरक्षर र अज्ञानीका दुःख–पीडा घटाउन सकेनन् ? यी विचार नगरी नहुने प्रश्नहरु हुन्।

श्रेष्ठताको अभिमानको अभाव, दम्भाचरणको अभाव, अहिंसा, क्षमाभाव, मनवाणीको सरलता, गुरुसेवा, शौच, अन्तस्करणमा स्थिरता, आत्मनिग्रह, इन्द्रिय वैराग्य, अहंकारको अभाव, जन्म–मृत्यु र जराव्याधिबारे बारम्बार चिन्तन गर्नु ज्ञान हो। भगवान् श्रीकृष्णले अर्जुनलाई सम्झाउँदै ज्ञानका विभिन्न लक्षणहरुबारे चर्चा गर्नुभएको छ। उहाँले सबैभन्दा पहिले श्रेष्ठताको अभिमान नहुनुलाई ज्ञानको पहिलो लक्षण बताउनुभयो। अर्थात्, जब व्यक्तिले केही जान्दछ, बुझ्दछ वा प्राप्त गर्दछ, त्यतिखेर ऊ पहिलेभन्दा तुलनात्मकरुपमा विशेष भएको हुन्छ, श्रेष्ठ भएको हुन्छ। बिस्तारै उसभित्र आपूm श्रेष्ठ भएको घमण्ड बढ्न थाल्दछ। उसले आपूmलाई नै अरुभन्दा श्रेष्ठ र सभ्य देख्न थाल्दछ। यो एउटा सच्चा ज्ञानी व्यक्तिका लागि सुहाउने कुरा होइन। जब व्यक्तिभित्र आपूm नै श्रेष्ठ भएको अभिमान जागृत हुन्छ, तब बिस्तारै उसको अभिमानमा अनेक अपराधहरु हुन शुरू गर्दछन्। सच्चा साधकहरु सधैँ यस विषयमा सचेत रहनुपर्दछ कि कतै आपूm नै श्रेष्ठ हुँ भन्ने कुराको अभिमान स्वयंभित्र विकसित हुन नपाओस्, किनकि ज्ञान भनेको सरलता हो, विनय हो र भगवान् श्रीकृष्णले भनेभैmँ व्यक्तिभित्र श्रेष्ठताको अभिमानको अभाव हुनु हो।

ज्ञानी हुनुको अर्को प्रमाण अध्यात्म ज्ञानमा नित्यस्थिति हो। अर्थात्, ज्ञानीहरु आध्यात्मिक हुन्छन्, आस्तिक हुन्छन्। अध्यात्म भनेको ईश्वर, जगत्, प्रकृति, कर्तव्य, आदर्श र मूल्यहरुमाथि चिन्तन र व्यवहार गर्ने विज्ञान हो। यसलाई विज्ञानको पनि ज्ञान भनेर भनिन्छ। विभिन्न किसिमका भौतिक एवं सांसारिक समस्याहरुबाट कसरी छुटकारा पाउन सकिएला भन्ने चिन्तन नै अध्यात्म चिन्तन हो। यसैले, ज्ञानीहरु निरन्तर यही चिन्तनमा मस्त हुने गर्दछन्। त्यसकारण अब व्यावहारिक शिक्षामा पनि ध्यान दिऊँ।
– विज्ञानमणि पाठक, सुकेधारा, काठमाडौं

प्रतिक्रिया दिनुहोस्