उपभोक्ता ठगीको आरोप,अरुण इन्टरकन्टिनेन्टल कारबाहीको दायरामा



हेमन्त जोशी, काठमाडौं
चौधरी ग्रुपको लगानी रहेको अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले उपभोक्ता ठगेको भन्ने प्रमाणसहित जानकारी गराउँदासमेत सञ्चालकलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत पुस १७ गते महानगरीय प्रहरी परिसर ललितपुरलाई उक्त ट्रेडर्सले उपभोक्ता ठगेको भन्ने प्रमाणसहित कारबाहीका लागि पत्राचार गरेको थियो। विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार विभागको टोलीले अनुगमनमा भेटिएका कैफियतबमोजिम ठगीको मुद्दा दर्ताका लागि पञ्जिकासहितको फाइल महानगरीय प्रहरी परिसर, ललितपुरमा पठाइएको छ।

आफूहरूले पठाएका कागजपत्रहरू नै ठगी मुद्दामा कारबाहीका लागि पर्याप्त भएको बताउँदै महानिर्देशक दाहालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले आवश्यक अनुसन्धानपछि प्रहरी परिसरमा कारबाहीका लागि पठाएका हौं।’ प्रहरी प्रशासनले विभागका अनुसन्धान अधिकारीले प्राप्त गरेको प्रमाणलाई महत्त्व दिएर विभागीय निर्णयलाई किन लागू गर्दैन भनेर आफूहरूले बुझ्न नसकेको महानिर्देशक दाहालले बताउनुभयो।

अस्वाभाविक शुल्क लिएको भेटिएपछि उक्त कम्पनीलाई उपभोक्ता ठगी गरेको भन्दै प्रहरी परिसरलाई पत्राचार गरेको २ हप्ताभन्दा बढी समय बितिसक्दासम्म प्रहरीले सञ्चालक पक्राउ गर्न सकेको छैन। विभागले अनुगमनका क्रममा तयार पारेको मुचुल्का र अन्य आवश्यक कागजात प्रहरीलाई बुझाइसकेको छ भने ठगीको मुद्दामा थप अनुसन्धान गर्न आवश्यक देखिए सोहीअनुसार अगाडि बढ्न पत्र काटेको छ।

विभागले गत कात्तिक २६ गते बजार अनुगमनका क्रममा सुजुकी कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता रहेको अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले गाडीको बिक्रीमा गैरकानुनी शीर्षकमा अतिरिक्त रकम लिइएको भन्दै थप अनुसन्धान र कारबाहीका लागि पत्र पठाएको थियो। तर विभागको पत्रअनुसार आवश्यक अनुसन्धान भएको तथा ठगी आरोपित कारबाहीको दायरामा आउन नसकेको देखिएको हो।

अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले ग्राहकलाई सम्पूर्ण करसहित ९ लाख ९६ हजारमा आउने गाडीमा विभिन्न शीर्षकका गैरकानुनी कर जोडेर १५ लाख ३२ हजार रुपियाँसम्म बिक्री गरेको पाइएको विभागले जनाएको छ। विभागका अनुसार उक्त कम्पनीले १ हजार ३ सयवटा गाडी बिक्री गर्दा ४३ करोड रुपियाँभन्दा बढी रकम उपभोक्ताबाट ठगेको अनुगमनका क्रममा भेटिएको हो।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महानगरीय प्रहरी परिसर ललितपुरलाई पठाएको पत्रमा अरुण इन्टरकन्टिनेन्टलका सञ्चालकलाई ठगीको मुद्दाअनुसार पक्राउ गरी कारबाही गर्नुपर्ने उल्लेख छ। ललितपुरस्थित उक्त कम्पनीले मारुती अल्टो ८०० एसटीडी गाडीमा प्रतिगाडी विज्ञापन खर्च ९६ हजार, प्रशासनिक र कर्मचारी तलब खर्चका रूपमा ३६ हजार रुपियाँ उपभोक्तालाई तिर्न लगाई ठगी गरेको जनाएको छ।

यसै गरी पेट्रोल, मोबिल, हिटर फिटिङ, एक्ससरिज डेलिभरीजस्ता शीर्षकमा थप रकम भुक्तानी गर्नुपर्दा ग्राहक ठगीमा परेको देखिन्छ। कम्पनीले उपभोक्तालाई बैंक ब्याजसमेतको रकम प्रतिगाडी २७ हजार ५ सय रुपियाँ तिर्न लगाएको देखिन्छ। त्यति मात्र नभई गाडी बिक्री हुनुअघि सोरुममा पार्क गरेको शुल्कमार्फत २० हजार रुपियाँसमेत जोडेको देखिन्छ। यसरी मारुती अटो ८०० गाडीको करबाहेक खरिद मूल्य ११ लाख ७३ हजार ३ सय ५ रुपियाँ र करबाहेक बिक्री मूल्य १३ लाख २६ हजार ५ सय ४८ रुपियाँ रहेको पाइएको थियो।
ट्रेडर्सका कार्यकारी निर्देशक करण चौधरीले विभागले गरेको अनुगमन र कारबाहीका विषयमा केही बोल्न नचाहेको बताउँदै भन्नुभयो– ‘यो विषयमा बोल्न अहिले उपयुक्त समय भएको छैन।’

कालोबजारी तथा अन्य केही अपराध तथा सजाय ऐन २०३२ अनुसार अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर वस्तु बिक्री गर्दा कालोबजारी गरेको ठहर्याइने उल्लेख छ। तर सो कम्पनीले विज्ञापन र प्रशासनिक खर्चलगायत फरक–फरक शीर्षकमा शुल्क लिएको पाइएको विभागले जानकारी दिएको छ।

उक्त ट्रेडर्सले सञ्चालन गरेको व्यवसायको पुँजी कम भएको तथा प्यान दर्ता प्रमाणपत्रमा कारोबार प्रस्ट नभएको विभागले जनाएको छ। ऐनअनुसार मालवस्तुको उत्पादक, आयातकर्ता वा मुख्य वितरकले निर्धारित मोलभन्दा बढी मोल लिई कसैले कुनै मालवस्तु बिक्री गर्न पाइँदैन। कसैले यस्तो कार्य गरेमा सो मालसामान लिएको मोल फिर्ता गराई सो मालवस्तु जफतसहित त्यस व्यक्तिलाई १० वर्षसम्म कैद तथा र जरिवानासमेत हुन सक्ने व्यवस्था छ। सोही ऐनले कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया २० गुणाभन्दा बढी मुनाफा लिएमा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा त्यस व्यक्तिलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजायँ हुन सक्ने व्यवस्था छ।

यता आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले कारबाहीका लागि पत्र पठाएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर ऐरले जानकारी दिनुभयो। उहाँले अरूण इन्टरकन्टिनेन्टल ट्रेडर्सलाई ठगी मुद्दामा कारबाहीका लागि २ पटक पत्राचार गरेको र सोही पत्रका आधारमा अनुसन्धान अगाडि बढाएको बताउनुभयो। अनुसन्धान सकिएपछि दोषी देखिए ठगी मुद्दामा कारबाही अगाडि बढाउने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्