प्रदेश राजधानीको माग गर्दै अनिश्चितकालीन बन्द



नेपाल समाचारपत्र
घोराही, दाङ

प्रदेश नं. ५ को प्रादेशिक राजधानीको दाङमा तोकिनुपर्ने भन्दै दाङमा अनिश्चितकालीन बन्द आह्वान गरिएको छ। यो बन्दले जिल्लाभित्रको जनजीवनका साथै पूर्वपश्चिम राजमार्ग पनि ठप्प हुने भएकाले दाङपश्चिमका सबै जिल्लाको जनजीवन प्रभावित हुने देखिएको छ।

यसअघि उच्च अदालत भएकै जिल्लामा प्रदेशको अस्थायी मुकाम तोक्ने पहल भए पनि एकाएक मुकाम अन्यत्र लैजाने षड्यन्त्र भएको भन्दै बन्द आह्वान गरिएको दाङ प्रादेशिक राजधानी सरोकार समितिका संयोजक एवं दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिनुभयो। यो निर्णयलाई जिल्लाका सबै उद्योग वाणिज्य संघहरूले समर्थन गर्दै हड्तालमा उत्रने निर्णय गरेका छन्।

मंगलबार जिल्लाका तीन शहरमा प्रदर्शन पनि गरिएको छ। घोराही, तुलसीपुर र लमहीमा प्रदर्शन गरिएको हो। दाङ हरेक कोणबाट प्रदेशमुकाम बन्न उपयुक्त रहेको नागरिक अगुवाहरूको तर्क छ।

‘संघीयता भनेको प्रशासनिक सुगमता पनि हो’– नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले भन्नुभयो– ‘पूर्वी रुकुमको हुकाम मैकोट जान अहिले पनि दाङबाट ४ दिन लाग्छ, योभन्दा पूर्वमुकाम लैजाने हो भने उनीहरूको बिजोग नै हुन्छ।’

रुकुमको मैकोटदेखि नवलपरासीको मर्चवारसम्म र बर्दियाको चिसापानीदेखि पाल्पाको रामपुरसम्मको केन्द्रविन्दु दाङ नै भएको उहाँको भनाइ छ।

त्यस्तै भौगोलिकता, सुरक्षा, हावापानी र भौतिक संरचनाजस्ता आधारहरू रहँदारहँदै पनि सरकारले जबरजस्त अन्यत्र राजधानी तोके यसलाई आफूहरूले नमान्ने पूर्वी रुकुमका प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताउनुभयो।

‘हामीलाई दाङसम्म सापेक्षिकरूपमा सहज नै हुन्छ, त्योभन्दा अन्यत्र मुकाम तोकिए या आठौं प्रदेशका लागि आन्दोलन गर्नुपर्छ, या हामी ५ बाट छुट्टिएर ४ नम्बर प्रदेशमा जान पहल थाल्नुपर्छ।’ बर्दियाका जनप्रतिनिधिले पनि सकेसम्म नेपालगन्ज र नभए दाङसम्म प्रदेश मुकाम मान्न सकिने बताएका छन्। त्योभन्दा टाढा लगिए आफूहरू पनि ५ नम्बर प्रदेशबाट छुट्टिएर ६ नम्बरमा जानु उचित हुने उनीहरूको भनाइ छ।
यसअघि सरकारले पठाएको शहरी विकास मन्त्रालयको प्राविधिक टोलीले दाङ प्रदेश राजधानीका लागि उपयुक्त हुने प्रतिवेदन पेश गरेको थियो।

त्यहीअनुसार दाङलाई प्रदेश मुकाम तोक्ने तयारी गरिए पनि अन्तिम समयमा आएर रूपन्देही क्षेत्रका नेताको पहुँचका आधारमा सरकारले खुट्टा कमाउन थालेको भन्दै नेकपा माओवादी केन्द्र दाङका सह–इन्चार्ज निर्मल आचार्यले सडक आन्दोलनको विकल्प नभएको बताउनुभयो। ‘दाङमै हुनुपर्छ भन्दा पनि दाङ सबै ठाउँले उपयुक्त हुने भएकाले हामी गलत काम सच्याउन आन्दोलनमा गएका हौं’– दाङ २–२ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्