२०औं भूकम्प सुरक्षा दिवस मनाइयो



नेपाल समाचारपत्र
काठमाडौं
२० औं भूकम्प सुरक्षा दिवस विविध कार्यक्रम गरी मनाइएको छ। बसन्तपुरमा आयोजना गरिएको कार्यक्रममा विगतका भूकम्पमा परी मृत्यु भएका मानिसहरूको सम्झनामा स्मृतिसभा आयोजना गरिएको थियो।

स्मृतिसभा लगत्तै भूकम्प सुरक्षा अभिवृद्धिका लागि जनचेतनामूलक भूकम्प सुरक्षा र्यालीको आयोजना गरिएको थियो। र्यालीलाई भूकम्प अति प्रभावित काठमाडौंका मुख्य भित्री शहरहरूमा परिक्रमा गराइएको थियो। मूल समारोह कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सरकार मातहतका निकाय एवं सबै स्थानीय निकायलाई भूकम्प प्रतिरोधी घर संरचना निर्माणका लागि भूमिका खेल्न आह्वान गर्नुभएको छ।

विभिन्न कालखण्डमा गएका भूकम्पहरूमा कमजोर घर संरचनाले थिचेर अधिकांश मानिसहरूको मृत्यु भएकाले घर तथा अन्य संरचना निर्माण गर्दा भवन संहिताको पालना गर्नुपर्नेमा उहाँको जोड थियो। प्रधानमन्त्री देउवाले भूकम्पीय २०७२ सालको विनासकारी भूकम्पबाट पनि ठूलो क्षति भएको भन्दै विपद्बाट आफू र आफ्नो घर समुदायलाई जोगाउन नियमबमोजिम घर संरचना निर्माण गर्नुपर्ने बताउनुभयो।

२०औँ भूकम्प सुरक्षा दिवस मूल समारोहका अध्यक्ष तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले नेपाल भूकम्पीय जोखिममा रहेको भन्दै जोखिम न्यूनीकरणका लागि सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो। सोही कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले गोरखा भूकम्पपछि चलिरहेको पुनर्निर्माणको कार्यलाई प्रभावकारी बनाउन केन्द्र, जिल्ला र स्थानीय स्तरमा प्रभावकारी समन्वयको खाँचो औँल्याउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मजबुत घर संरचना निर्माणका सम्बन्धमा नीतिको खाँचो नभएको तर कार्यान्वयनमा देखिएको फितलोपना हटाउन काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्