नवनिर्मित भ्यूटावरमा दुरविन जडानको तयारी



नेपाल समाचारपत्र, लमजुङ ।

लमजुङको एक ग्रामीण पर्यटकीय क्षेत्रमा निर्माण गरिएको भ्यू टावरमा दूरविन जडान गर्ने तयारी गरिएको छ । लमजुङको काउलेपानी स्थित होमस्टे प्रवद्र्धनका लागि निर्माण गरिएको भ्यूटावरमा दुरविन जडानको तयारी गरिएको हो ।

विदेशबाट खरिद गरेर ल्याइएको उक्त दूरविनका लागि जडान गर्न आवश्यक संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको काउनेले पानी पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार सो टावर ९ लाख २० हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो । सो टावर निर्माणका लागि लमजुङ उद्योग बाणिज्य संघको एकगाउँ एक उत्पादन कार्यक्रम अन्र्तगत ३ लाख २० हजार र पर्यटन बोर्ड मार्फत् ६ लाख गरि ९ लाख २० हजारमा सो टावर निर्माण गरिएको गुरुङले जानकारी दिनुभयो ।

मुलुकका उत्कृष्ट होमस्टेहरू मध्येको एक ग्रामीण पर्यटकीय गाउँशहरको काउलेपानी गाउँमा होमस्टे(घरबास कार्यक्रम)लाई स्थायित्व दिनका लागि ६० लाख रुपैया लगानी गरी पर्यटकीय संरचनाहरुको निर्माण गरिएको गुरुङको भनाई छ ।

गाउँ आउने पाहुनाहरूलाई स्वागत गर्न तथा कार्यक्रम सञ्चालन गर्नका लागि निर्माण गरिएको सभाहल तथा सत्कारगृह पनि निर्माणका लागि ५ लाख रुपैयाँको खर्चिएको छ । त्यस्तै गाउँसँगै जोडिएको बेसारेडाँडामा वनभोजका लागि सिंढी लगाएर बाटो, दुईवटा टहरा सहितको चौरको प्रवन्ध गरिएको छ । त्यस कार्यका लागि बेसीसहर नगरविकास समितिद्वारा ५ लाख र स्थानीयबासीको श्रमदान तथा सहयोग ९० हजार सहितको लागतमा वनभोज स्थल बनाईएको हो ।

सो वनभोजस्थल नजिकैको बेसारे सानोपोखरी संरक्षणका लागि स्थायी वाँध निर्माण गरिएको छ । सोही स्थान नजिक रहेको धनीकुवा मूलबाट पानी ल्याएर पोखरीमा खसाल्न सके हिउँदमा पनि पानी हुने र आकर्षक देखिने भएकाले सो संरचना निर्माणमा यतिबेला समिति जुटिरहेको छ ।

छ वर्षअघि देखि होमस्टे कार्यक्रम सञ्चालन भएको काउलेपानी गाउँमा शौचालय तथा स्नानगृहमा पानीको उचित व्यवस्था नहुँदा पाहुनालाई सास्ती भएको थियो । त्यसैले अब एक घर एक धाराको अवधारणा अनुसार सबै घरमा खानेपानीका धारा जडान गरिएको छ ।

गाउँ आसपासमा घुम्न, मन्दिरसम्म पुग्न राम्रो बाटो असजिलो भएका कारण उक्त पदमार्गको सुधार गर्दै छोटो पुल समेत निर्माण गरिएको काउलेपानी पर्यटन विकास समितिका सचिव जगतबहादुर गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार गाउँमा आएका पाहुना वा पर्यटकलाई मनोरम् भौगोलिक दृश्य, सुर्योदय र सुर्यास्तको दृश्य अवलोकन र तस्वीर खिच्न मिल्ने गरि भ्युटावरको निर्माण गरिएको छ ।

जिल्ला सदरमुकाम स्थित बेसीशहर नगरपालिका– ३ गाउँसहरको काउलेपानी क्षेत्रको पर्यटन विकासका लागि गाउँमा पदैलमाग, पाहुना स्वागत तथा सत्कार कक्ष, दृश्यावलोकन स्थल (भ्यूटावर), खानेपानी व्यवस्थापन, वनभोज स्थल, पैदलमार्ग, काउलेपानी देवी मन्दिरसम्म जाने पुल, प्रतिक्षालय, सार्वजनिक शौचालय, पोखरी लगायतका संरचनाहरु झण्डै ६० लाख रुपैयाँ खर्चिएको हो ।

तत्कालीन जिविस, पर्यटन वोर्ड, पर्यटन कार्यालय पोखरा, जिल्ला पर्यटन विकास समिति लगायतका सरकारी कार्यालय तथा गैह्र सरकारी संस्थाबाट पाएको आर्थिक सहयोगमा स्थानीय पर्यटन विकास समिति, सिरखोला आमासमुह, काउलेपानी देवीस्थान संरक्षण समिति, युवायुवतीको सयपत्री मिलन समुह र पुरुषहरुको बाबा समुहको कोष र गाउँलेको श्रमदान समेत गरि पर्यटकीय संरचना निर्माणमा ६० लाख रुपैयाँ बराबरको लगानी भएको काउलेपानी पर्यटन समितिका अध्यक्ष गुरुङको भनाई छ ।

गाउँमा आवश्यक संरचनाको निर्माण पछि गाउँमाथिको जंगलमा पर्यटकलाई जंगल सफारीका लागि आवश्यक संरचना निर्माण गर्ने सोचाईमा रहेको अध्यक्ष गुरुङले बताउनु भयो । उहाँका अनुसार गाउँ माथिको जंगलमा थरीथरीका गुराँस, अनेकौं प्रजातिका सुनाखरी, बुकीफूल, प्याउली फूल जस्ता धेरैथरी फूल फूल्ने, काफल, चुत्रो, दमागेडी जस्ता जंगली फलफुलको स्वाद लिन सकिने र थुप्रै खालका जंगली जनावर तथा चराचुरुङ्गी समेत अवलोकन गर्न पाईने भएकाले पर्यटकलाई जंगल सफारीको व्यवसायिक प्याकेज तयार गर्ने प्रयासमा समिति रहेको छ ।

काउलेपानी गाउँमा पर्यटन समितिले प्याकेजमा प्रति पाहुनालाई एक रात बसाई तथा २ छाक खाना आदिको ९ सय ९० रुपैयाँ तोकेको भएपनि सबै पर्यटकलाई ९० रुपैयाँ छुट गरि ९ सयमै पाहुनाको स्वागत सम्मान गर्ने गरेका छन् ।

काउले पानीका होमस्टे सञ्चालक प्रत्येक घरले वर्षेनी औसत ४ लाख ३८ हजार २ सय ५० रुपैयाँ आम्दानी गरेको उनीहरुको हिसाबमा देखिएको छ । घरबास कार्यक्रम(होमस्टे)सञ्चालन गरिएका जिल्लाका होमस्टे गाउँहरुमा केही वर्ष अघि वर्षिक ३ करोड बढीको कारोबार भएकोमा काउलेपानीले होमस्टे गाउँहरु मध्येकै उत्कृष्ट पुरस्कार पाएको थियो । गतवर्ष समेत देशका उत्कृष्ट १० गन्तव्य मध्येमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्