समाचारपत्रकर्मी पहाडी वरिष्ठ पत्रकारको उपाधि सहित सम्मानित



नेपाल समाचारपत्र, लमजुङ ।

लमजुङका समाचारपत्रकर्मी नवराज पहाडीलाई वरिष्ठ पत्रकारको उपाधि सहित सम्मान गरिएको छ । नेपाल स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव समेत रहेका पहाडीलाई लिःल फङ (घले समाज)को केन्द्रीय समितिद्वारा बेसीशहरमा आयोजना गरिएको राष्ट्रियस्तरको ल्होसर कार्यक्रमका अवसरमा सो उपाधिसहित सम्मान पत्रद्वारा सम्मान गर्नु भएको हो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, घले समाज अन्र्तराष्ट्रिय समन्वय समिति यएईका अध्यक्ष एवं सल्लाहकार नरबहादुर घले, घले समाजका केन्द्रीय अध्यक्ष दिनेश घले, जिल्ला अध्यक्ष विरसिंह घलेले संयुक्त रूपमा सम्मानपत्र, खदा, मालाद्वारा पहाडीलाई सम्मान गर्नुभएको हो ।

पहाडीले पत्रकारिताका माध्यमले लोकसंस्कृति, कला, भाषा, साहित्यका अतिरिक्त सुशासन र राष्ट्रियताका पक्षमा पु¥याएको योगदानको उच्च कदर गर्दै घले समाजको राष्ट्रिय पर्वका अवसरमा वरिष्ठ पत्रकारको सम्मान सहित सम्मानित गरिएको घले समाजका जिल्ला अध्यक्ष विरसिंह घलेले बताउनु भयो ।

उहाँका अनुसार वकिलहरूलाई सेवामा निरन्तर रहेको २५ वर्ष पुगेपछि वरिष्ठ अधिवक्ताको उपाधि राज्यले नै दिन्छ तर पत्रकारहरूलाई त्यसो गरिएको छैन । अब सरकारको यसतर्फ ध्यानाकर्षण गर्नका लागि झण्डै ३८ वर्षदेखि यो पेशामा लागि रहनु भएका पत्रकार पहाडीलाई वरिष्ठ पत्रकारको उपाधि प्रदान गरिएको घलेले बताउनु भयो ।

सम्वाददाता पहाडीले २०३७ सालमा तत्कालीन राष्ट्रपुकार साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरी विगतमा रासस, कान्तिपुर, रेडियो नेपाल, सञ्चारमाध्यममा आवद्ध रही लमजुङमा क्रियाशील छन् । २०५१ देखि २०५४ सम्म नेपाल समापचारपत्रको जिल्ला संवाददाता रहेका उनी २०७२ सालदेखि पुनः जिल्ला संवाददाता भई कार्यरत छन् ।

निर्भिक स्वभावका उनले पत्रकारितमा लागेकै कारण २०४० साल र २०६० सालमा जेल यात्रा समेत भोग्नु परेको थियो । उनले २०४९ सालदेखि आफ्नै नाउँमा दर्ता गरी लमजुङबाट निरन्तर प्रकाशन तथा सम्पादन गर्दै आएको अन्तरङ्ग साप्ताहिक हाल क वर्गमा वर्गिकृत छ ।

पहाडी नेपाल पत्रकार महासंघ लमजुङको संस्थापक अध्यक्ष पनि हुन् ।

उक्त कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेल, महासंघका जिल्ला अध्यक्ष आश गुरुङ, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष कृष्णबहादुर आलेसहित जिल्ला र काठमाडौँका गरी ११ जना पत्रकारलाई सम्मान गरिएको घले समाजले जनाएको छ । तर वरिष्ठ पत्रकारको उपाधि भने समाचारपत्रकर्मी पहाडीलाई मात्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्