चौध सय घरधूरीलाई शुद्ध खानेपानीको व्यवस्था



धनवीर दाहाल, रुकुम ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकाका चौधसय घरधूरीलाई २४सै घण्टा प्रयोग गर्ने गरी शुद्ध खानेपानीको व्यवस्था हुने भएको छ । नेपाल सरकार, एशियाली विकास बैंक तथा स्थानीय उपभोक्ता समितिद्धारा नगरपालिकाको वडा नम्बर एक, दुई, तीन र पाँचका बासिन्दाका लागि शुद्ध खानेपानीको व्यवस्था हुन लागेको हो ।

सदरमुकाम भित्र पर्ने नगरपालिकाको खलंगा बजार, सल्ले, सेरीगाउँ, पिपलनेटा, रातामाटा, रावलबारा, सालघारी लगायतका विभिन्न टोलमा शुद्ध खानेपानीको वितरण गरिने भएको छ । तीन वर्ष अघि आयोजनाको काम सुरु गरिएपनि लक्ष्य अनुसारको काम समयमै नसकिएकाले आयोजनाको काममा केही ढिलाई हुन गएको छ ।

तर उक्त आयोजनाको झण्डै ८८ प्रतिशत काम सम्पन्न भईसकेकाले अबको दुई महिनामै मुसिकोट नगरपालिकाका चारवटै वडामा शुद्ध खानेपानी पु¥याईने लक्ष्य राखिएको मुसिकोट खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष महेन्द्र के.सीले बताउनुभयो ।

शुद्ध खानेपानी वितरणका लागि ६ वटा पानीपोखरी, साढे सात लाख लिटर दैनिक पानी भण्डारण गर्न सक्ने पानी टंकी तथा दुईवटा फिल्टर निर्माण समेत गरिएको छ । यस्तै ५ वटा मुहानको पानी एकैसाथ संकलन गर्नेगरी मुसिकोटको पानाखोला र घ्यूखोलामा पानीपोखरी निर्माण गरिएको छ ।

साढे १४ करोडको लागतमा नेपाल सरकार तथा एशियाली विकास बैंकको ७० र उपभोक्ता समितिको ३० प्रतिशतमा आयोजनाको काम सम्पन्न गर्नेगरी शुद्ध खानेपानीकोे काम सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्