८० वर्षदेखि लोभ्याउने जेरी



रोविन पौडेल, पोखरा

सेलरोटी पकाउने जसरी नै गिल्याइएको चनाको बेसन वा मैदालाई तेलमा पकाएर झिकिने, अनि चिनीको पाकमा डुबाएपछि बनाइनेमध्येको एउटा परिकार नचिन्ने सायदै होलान्। कतै जेरी, कतै जुलेबी भनिने यो परिकार पोखराको एक मिठाइ पसलमा तराईका पोख्त कारिगरले बनाएभन्दा फरक आकार तथा रङको भेटिन्छ।

पोखरा लेखनाथ महानगरपालिकाको भीमसेनटोलका चुल्याजु परिवारको मिठाइ पसलमा अतिरिक्त रङको मिश्रण नभएको जेरी पाइन्छ। तराईमा बनाइने राता–राता र पातला नभएर त्यहाँको जेरी फूल आकारको अनौठो खालको छ।

सो मिठाइ पसल पोखरामा १ सय वर्षअघि ‘भुत्ते साहु भनेर चिनिने सिद्धिलाल चुल्याजुले वि.सं. १९९० मा नालाको मुखमा शुरू गर्नुभएको हो। चुल्याजूले शुरू गर्नुभएको जेरीलगायतका मिठाइको व्यापारलाई उहाँको परिवारले हालसम्म पनि निरन्तरता दिइरहेका छन्।

पसल यतिबेला पाँच भाइ चुल्याजुमध्येका कान्छा ५० वर्षीय राजकुमार र उहाँकी श्रीमती दयालक्ष्मीले सम्हाल्दै आउनुभएको छ। मुख्य बजार क्षेत्रबाट विन्ध्यवासिनी मन्दिर जाने बाटोमा पर्ने पसलमा कुनै अत्याधुनिक सजावट भने छैन। पसलमा ३ वटा ग्यास चुला, तिनमा खानेकुरा पकाउँदा निस्कने वाफ बाहिरिने ठाउँमा आधुनिक पाराको टिनको चिम्नी मात्र छन्। हेर्दा सामान्य देखिएपनि महानगरभरि चुल्याजुका मिठाइको ख्याति निकै छ।

भक्तपुरबाट पोखरा आएमध्येको चुल्याजु परिवारका सिद्धिलाल चुल्याजु भारतीय र ब्रिटिस सेनामा भर्ती चाहेपनि सफल नभएपछि ५ वर्ष बर्मामा मिठाइ बनाउने इलम सिके। भुत्ते भनिने सिद्धिलालले वि.सं. १९९० मा नालामुखचोकमा पसल खोले। उनको पसललाई सबैले ‘भुत्तेको मिठाइ पसल’ भनेर चिन्थे।

चुल्याजूको पसलको अर्को कथा पनि छ। २०१५ सालमा राजा महेन्द्र पोखरा आउँदा राजाको स्वागतमा नगरमा २ सय वटा स्वागतद्वारमध्ये एउटाले निकै चर्चा पाएको थियो। त्यो बनाउने सिद्धिलाल थिए। राजा महेन्द्रले सिद्धिलाललाई भेटी उनको हातबाट बनेका परिकार चाख्नुभएको थियो। सिद्धिलालले सेलरोटी र जेरीको स्वागतद्वार बनाउनुभएको थियो। जो त्यसताका सबैका लागि अनौठो थियो। जेरीका कारण प्रभावित हुनुभएका राजाले उक्त समयमा पोखरामा केही जग्गा बक्सिसस्वरूप दिनुभएको थियो।

सिद्धिलालले तीनपटक विवाह गर्नुभएको थियो। सिद्धिलालका जेठी श्रीमतीबाट दुई छोरी, माइलीबाट एक छोरा र कान्छीबाट चार छोरा जन्मिएका थिए।

वि.सं. २०२७ सालमा उहाँको मृत्यु भएपछि ५ वटा छोरामध्ये केहीले अल्पकालका लागि पसल हेरे। पछि कान्छा छोरा राजकुमारले पसलको सम्पुर्ण जिम्मेवारी लिनुभयो। राजकुमारको भागमा जिम्मेवारी आएपछि भुत्तेको त्यो पुरानो पसल नालामुखबाट आफ्नै जमिनमा केही पर भीमसेनटोलमा सरेको हो। अहिले पनि सो पसल भिमसेनटोलको एक सय वर्ष पुरानो घरमा रहेको छ। सिद्धिलालको समयमा तराईबाट मैदा, चिनी र बागलुङ–पर्वतबाट घ्यु झिकाउने गर्दथे।

यतिबेला राजकुमार र दयालक्ष्मी दिनहुँ पसलमा मिठाइ बनाइरहेका भेटिन्छन्। पसलमा भेटिनुभएकी चुल्याजूकी कान्छी बुहारी दयालक्ष्मी सो पसल भएको घर त्यस क्षेत्रकै सबैभन्दा पुरानो घर भएको दावी गर्नुहुन्छ। उहाँले भन्नुभयो– ‘परम्परा धान्न हामीले यो पेसा अँगालेका हौं। चुल्याजूको जेरी खान मानिस काठमाडौंदेखि विदेशीसम्म आइपुग्छन्।’

बिहानै उठेदेखि साँझसम्म मिठाइ बनाउन भ्याइनभ्याइ हुने उहाँ बताउनुहुन्छ। उहाँले अहिले आफू धेरै अर्डरको काम गर्ने तथा पुरानो पसल भएकाले ग्राहक पनि पुरानै भएको दाबी गर्नुहुन्छ। समान्यतया दिनको औसत ६ हजार रुपियाँको मिठाइ बनाइने र अर्डर भएका बेलामा २० हजार रुपियाँसम्मको मिठाइ तयार पार्ने बताउनुहुन्छ।

बुवाको ख्यातिले नै पसल अहिलेसम्म चलेको दयालक्ष्मीको दाबी छ। चुल्याजूको मिठाइ पसलबाट धेरै बिक्री हुने जेरी हो। यसबाहेक अन्त सजिलै नभेटिने गजा–खस्टा र एैंठे लगायत प्रसिद्ध छन्। कतिले त विदेश पठाउने कोशेली पनि चुल्याजूकै पसलबाट किन्ने गर्दछन्। अहिले राजकुमार र दयालक्ष्मीका छोराछोरी पनि फुर्सद मिलाएर पसलमा सघाउने गदछन्।

जमानामा पुरी, तरकारी र चिया पनि बेच्ने भुत्तेको मिठाइ पसलले अहिले जेरी, गजा–खस्टा, लालमोहन र एैंठे मात्रै बनाउँछ। ‘हामी रङ हाल्दैनौ, एक किलो मैदाको मुस्किलले ३० वटा जेरी बन्छ। तर पनि जेरीकै माग बढी छ।’उहाँले थप्नुभयो– ‘८० वर्ष पुरानो व्यवसायलाई हालसम्म पनि निरन्तरता दिएको सुन्दा यो जो कोहीका लागि प्रेरणाको स्रोत बन्न सक्छ नि हैन र ?’

प्रतिक्रिया दिनुहोस्