अल्लोबाट आत्मनिर्भर



सलिम अन्सारी, प्युठान

केही वर्ष अघिसम्म अल्लोका कपडा पाहुनालाई कोसेली दिने वस्तुमात्र थिए। सरकारी तथा गैरसरकारी क्षेत्रका कर्मचारीको स्वागत र बिदाइमा अल्लोका सामग्री उपहार दिइन्थ्यो। तर, पछिल्ला केही वर्ष यता प्युठानमा व्यावसायिक रूपमै अल्लोको धागो र हस्तकला उत्पादन गर्न थालिएको छ। अल्लो उद्योग सदरमुकाममा भन्दा गाउँमा फस्टाउँदो छ।

आवश्यक कच्चा पदार्थ गाउँमै उत्पादन हुने हुँदा यस्ता उद्योग बजारमा भन्दा गाउँमा बढी फस्टाएका हुन्। नौबहिनी गाउँपालिकाको बहाने बजारमा कोठी हिमाल अल्लो उद्योग सञ्चालन गर्दै आएकी चित्रकला बुढाले उद्योगलाई चाहिने कच्चा पदार्थ आफैं उत्पादन गर्ने बताउनु हुन्छ।
एक दशक अघि १० हजारको लगानीबाट अल्लो व्यवसाय शुरू गरेकी बुढाले वार्षिक कम्तिमा ३० लाख रुपियाँको कारोबार गर्नुहुन्छ। परिवारका सदस्यसहित स्थानीय १९ जनालाई उहाँले अल्लो उत्पादनमा प्रत्यक्ष रोजगारी दिनु भएको छ। व्यवसायले आम्दानी मात्र नभई पहिचान र आत्मविश्वास बढाएको छ। उहाँ भन्नुहुन्छ–‘अल्लोले चिनायो र आत्मनिर्भर बनायो। अल्लो उत्पादन संघकी केन्द्रीय अध्यक्षसमेत रहेकी उद्यमी बुढाले गत वर्ष ४० लाख रुपियाँ आम्दानी गर्न सफल भएको जानकारी दिनुभयो।

अल्लोबाट निर्मित टोपी, झोला, स्वीटर, पर्स, स्टकोट विभिन्न शहरसहित विदेश निर्यात गरिन्छ। उत्तरी प्युठानका स्याउलीबाङ, अर्खा, रजवारा, खवागँ, डाम्री, ओखरकोटलगायतका गाउँमा अल्लो उत्पादन हुन्छ। वर्षेनी महिला उद्यमीको संख्या बढदै गएको लघु उद्यमी संघ प्युठानकी अध्यक्ष तिलकुमारी खड्काले बताउनुभयो। उद्यमीले संकलन गरेको अल्लोको प्रशोधित धागो अन्तर्राष्ट्रिय बजारसम्म पुगेको छ। प्रशोधित धागोको प्रतिकिलो ७ सय रुपियाँमा कारोबार हुन्छ। स्थानीयस्तरमा उत्पादित अल्लोको कपडाको प्रतिमिटर मूल्य ६ सयदेखि १२ सय रुपियाँसम्म पर्छ।

प्रतिक्रिया दिनुहोस्