फ्रान्सेली राष्ट्रपति कामुक उपन्यासका लेखक



पेरिस, (एजेन्सी)
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले कुनै बेला एक कामुक उपन्यास लेखेको खुलासा भएको छ। इम्यानुयलकी पत्नी ब्रिगिट म्याक्राेंको आत्मकथामा उक्त प्रसंग उल्लेख गरेकी छिन्। बिग्रिटको आत्मकथामा म्याक्रोंले आफ्नो युवावस्थामा ब्रिगिटसँगको रोमान्सलाई कामुक उपन्यासको रूप दिएको उल्लेख गरिएको छ।

४० वर्षका इम्यानुयलले आफूभन्दा २४ वर्षले जेठी आफनी ड्रामा शिक्षक ब्रिगिटसँग विवाह गरेका थिए।राष्ट्रपति इम्यानुयल म्याक्रोंले स्कुलको एक नाटक कार्यक्रमका क्रममा ती नाट्य शिक्षकसँग प्रेम गर्न थाले। आफ्नो घरका सदस्यहरुको विरोधका बाबजुद इम्यानुयलले २४ वर्ष जेठी ती शिक्षिकासँग आफ्नो सम्बन्ध कायम राखे। ब्रिगिटको आत्मकथा ‘ब्रिगिट म्याक्रों, दि लिबरेटेड वुमन’ अर्को हप्ता प्रकाशित हुनेछ। म्याक्रोंका एक नातेदार छिमेकीले ३ सय पृष्ठको उक्त कामुक उपन्यास टाइप गरेका थिए।

म्याक्रोंका छिमेकीले क्लोजर म्यागेजिनलाई बताए– ‘त्यो एउटा साहसी उपन्यास थियो, कामुक पनि। उपन्यासका पात्रहरुको नाम वास्तविक नभए पनि त्यसमा म्याक्रोें त्यतिबेला गरेका अनुभव र महसुसका बारेमा लेखिएको हो भन्ने मलाई लाग्छ।’

म्याक्रोंको कार्यालयले उक्त समाचारलाई लिएर कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ। म्याक्रोंको साहित्यप्रति रुचिसँग जोडिएको यो नयाँ कुरा होइन। उनले कम्तीमा २ वटा उपन्यास लेखेका छन्, जुन प्रकाशित हुन पाएको छैन। आफ्नो चुनाव प्रसारका क्रममा म्याक्रोंले ‘रेभोलुसन’ किताब लेखेका थिए।

प्रतिक्रिया दिनुहोस्