भारत र इजराइलबीचको सम्बन्ध नयाँ उचाइमा



नयाँदिल्ली, (एजेन्सी)
रक्षा, कृषि र उड्डयनजस्ता महत्त्वपूर्ण क्षेत्रका सम्झौतामा हस्ताक्षर गरेपछि भारत र इजरायलले सोमबार आपसी सम्बन्धले नयाँ युगको शुरुआत गरेको भन्दै स्वागत र प्रशंसा गरेका छन्।

भारतको राजधानी नयाँदिल्लीमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्ताको दौरान ती सम्झौतामा सहमति भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। मोदीले इजरायली प्रतिरक्षा कम्पनीहरूले भारतमा लगानी गरोस् भन्ने चाहेको बताएका छन्।

इजरायल पुग्ने पहिलो भारतीय प्रधानमन्त्रीको हैसियतले मोदी गत वर्ष इजरायल पुगेपछि नेतान्याहुले भारत भ्रमण गरेका हुन्। १ सय ३० सदस्यीय वरिष्ठ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी ६ दिने औपचारिक भ्रमणका क्रममा आइतबार नयाँदिल्ली आइपुगेका थिए। भारत र इजरायलबीच साइबर प्रतिरक्षा, सुरक्षा, विज्ञानजस्ता क्षेत्रमा आवश्यक सहयोग गर्नेबारे पनि ऐतिहासिक सहमति भएको सरकारी सूत्रले जनाएको छ। मोदीले दुई देशबीचको साझेदारी बढ्दै जाने कुरामा विश्वास व्यक्त गरेका छन्। यसैबीच नेतान्याहुले पनि सन् २००८ मा मुम्बईमा भएको आतंककारी हमलाको स्मरण गर्दै दुवैले आफ्ना जनताको हितमा मिलेर काम गर्न सक्ने सम्भावना रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्