बेनीमा योग दिवस मनाइयो



प्रताप बानियाँ, म्याग्दी
म्याग्दीको सदरमुकाम बेनीमा सोमबार राष्ट्रिय योग दिवस मनाइएको छ। योग दिवस कार्यक्रममा बोल्दै सांसद भूपेन्द्रबहादुर थापाले स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउनुपर्ने बताएका छन्। बदलिँदो जीवनशैली, गलत खानपानले मानिसहरू विभिन्न रोगबाट ग्रसित हुने गरेको बताउँदै उनले योग साधनालाई हरेक दिन प्रयोग गर्नुपर्नेमा जोड दिए।

तेस्रो राष्ट्रिय योग दिवसका अवसरमा बेनी नगरपालिका, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र नवीन आनन्द योग केन्द्रद्वारा बेनीमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले योगले परिवार, समाज र राष्ट्रलाई प्रत्यक्ष, अप्रत्यक्ष फाइदा हुने भएकाले पनि योगको महत्त्वका बारेमा शहरदेखि गाउँसम्म पुर्याउनुपर्नेमा जोड दिएका थिए।

योगी सुवसाहेव, पत्रकार महासंघ म्याग्दीका सभापति तारानाथ शर्मा, जिल्ला वन अधिकृत चन्द्रमणि सापकोटाले शारीरिकरूपमा स्वस्थ्य, मानसिकरूपमा शान्त र आध्यात्मिकरूपमा उच्च चेतनायुक्त भएर जिउने कला नै योग भएको बताउँदै दैनिक दुई घण्टाको योगले सक्षम मान्छे बनाउने बताएका थिए।

योग ८ आसनको हुने बताउँदै याम, नियम, आसन, प्राणायम, धारणा, समाधि र त्यागमध्ये योगा त्यसमध्यको एउटा आसन भएको योगीको भनाइ थियो। दिवसका अवसरमा बेनीबजारमा प्रभातफेरीको आयोजना गरिएको थियो। राष्ट्रिय योग दिवस मूल समारोह समितिको तर्फबाट बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षता, योग ओमकुमारी थापाको स्वागत र गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलको सञ्चालनमा समापन भएको थियो।

२⁄३ वर्ष अगाडिसम्म जिल्लामा योगप्रतिको आर्कषण निकै न्यून रहे पनि पछिल्लो समय योगको महत्त्वका बारेमा जानकारी हुन थालेपछि दैनिक योग केन्द्रमा जानेको सङ्ख्या समेत बढ्न थालेको छ। नवीन योग आनन्द केन्द्रले जिल्लाका सबै स्थानीय तहको केन्द्रका साथै वडास्तरमा समेत योग केन्द्र विस्तारको योजना बनाएको केन्द्रका अध्यक्ष योगी नवीन जुग्जालीले बताए। म्याग्दीमा करिब २५ सय जनो योगमा संलग्न रहेको केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्