घुँडाको शल्यक्रियापछि जुडो खेलाडी मगर डिस्चार्ज



काठमाडौं (नेस)
घुँडाको चोटको उपचारका लागि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका जुडो खेलाडी रमेश मगर डिस्चार्ज भएका छन्।ग्रान्डी अनस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डे र टिमले उनको देब्रे घुँडाको सफल शल्यक्रिया गरेको हो। मगरले अर्को वर्ष नेपालमा हुने दक्षिण एसियाली खेलकुदमा सहभागी भएर राम्रो नतिजा निकाल्ने उद्देश्यसहित घुँडाको शल्यक्रिया गरेको जनाएका छन्। सन् २०१० मा बंगलादेशमा आयोजना भएको एघारौं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनको अघिल्लो दिन लिफ्ट दुर्घटना पर्दा रमेशसहित अन्य नेपाली खेलाडी घाइते भएका थिए। दुर्घटनामा घाइते भएपछि मगर ६६ केजीमुनि तौल समूहमा प्रतिस्पर्धामा उत्रन सकेका थिएनन्। २ वर्षअघि भारतमा भएको १२औं सागमा कांस्य जितेर मगरले ढाका दुर्घटनाको पीडा बिर्सिएका थिए।

सन् २०१० को दुर्घटना २ वर्षअघिको सागमा फेरि बल्झिएपछि उनको अप्रेसन गरिएको हो। सन् २०१९ मा नेपालमा हुने सागमा स्वर्ण जित्ने उद्देश्य लिएका उनले ६ महिनापछि प्रशिक्षणमा फर्कने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्