वैधानिकरूपमा विदेशी लगानी भित्त्याएको हुँः सुमार्गी



काठमाडौं, (नेस)
मुक्ति श्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले आफूले प्रचलित कानुनबमोजिम नै वैदेशिक ऋण एवम् लगानी भित्त्याएको दाबी गर्नुभएको छ।

‘सरकारका निकायबाट कानुनबमोजिम सो लगानी भित्त्इएको हुँ’, सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले थप दाबी गर्नुभयो– ‘सबै रकम बैंकमार्फत पारदर्शी ढंगले ल्याएको छु। ल्याएको र ल्याउने क्रममा रहेको रकमबारे सरकारी निकायलाई जानकारी गराएको छु।’

पत्रकार सम्मेलनमा व्यवसायी सुमार्गीले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाप्रति आरोप लगाउँदै भन्नुभयो– ‘२०७० सालमा बेचेको जग्गा पुरानै मूल्यमा पाउनुपर्छ भनेर उहाँले पटक–पटक दबाब दिनुभयो। म त्यसमा सहमत नभएपछि आफ्ना मिडिया प्रयोग गरेर जनतामा भ्रम छर्नुभयो।’

आफ्नो परिवार २०२९ सालदेखि व्यवसायमा सक्रिय भएको बताउँदै व्यवसायी सुमार्गीले एक दशकयता वैदेशिक ऋण एवम् लगानीलाई समेत व्यावसायिक आधार बनाएको स्वीकार्नुभयो। व्यवसायी सुमार्गीले सिरोहियाविरुद्ध अदालतमा मुद्दा दायर गर्नुभएको छ भने, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रेस काउन्सिल नेपालमा उजुरीसमेत दिइसक्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्