आयुक्त यादव भन्छनः निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई किन दिइएन ?



विराटनगर, प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने बताउनुभएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयको नवनिर्मित भवनको आज विराटनगरमा उद्घाटन गर्नुहँुदै उहाँले यसले आयोग शक्तिशाली हुनाका साथै निर्वाचन सम्पन्न गर्न सहजता हुने धारणाा व्यक्त गर्नुभयो ।

आयुक्त डा यादवले आगामी माघ ७ गतेसम्म प्रदेश प्रमुख नतोकिए माघ २४ गते हुने राष्ट्रसभाको निर्वाचन प्रक्रियालाई असर नपर्ने गरी निर्वाचन आयोग आफ्नो काम कार्यवाहीलाई अघि बढाउन बाध्य हुने बताउनुभएको छ । उहाँले प्रदेश प्रमुख नतोकिँदा निर्वाचनसम्बन्धी कानुनी जटिलता उत्पन्न भएकाले चाँडै प्रदेश प्रमुख तोक्न सरकारलाई आग्रह गर्नुभयो ।

आयुक्त डा यादवले प्रदेश प्रमुख नतोकिँदा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूची बुझाउने तथा प्रदेशसभा सदस्यले कसरी शपथ लिने भन्ने विषयमा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले निर्वाचन आयोग संविधान सम्बध अगाडि बढिरहेकाले यसप्रति कुनै पनि किसिमको शंका नगर्न आग्रह हँुदै आयोग कसैको पक्षमा नभएकाले यसलाई निर्बाध रुपमा काम दिनुपर्ने बताउनुभयो ।

आयुक्त डा यादवले राष्ट्रसभाको निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभा पूर्ण नहुने भन्दै राष्ट्रसभाको निर्वाचन सम्पन्न गर्नका लागि आयोग निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि बढाइरहेकाले त्यसका लागि सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

विराटनगर महानगरपालिका–१० स्थित सोमबारे हाटमा चार कट्ठा जग्गामा निर्मित तीन तल्ले भवनमा सभा हलसहित जम्मा १२ वटा कोठा छन् । उक्त भवन निर्माणका लागि जम्मा रु एक करोड ४५ लाख खर्च भएको क्षेत्रीय निर्वाचन आयोग विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्