कुष्माण्ड सरोवरमा मेला सुरु



हेटौंडा,(नेस) । मकवानपुरको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गरेको हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणीधाममा एक महिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाभर मेला लाग्दै आएको त्यस क्षेत्रमा यस वर्ष पनि एक महिनासम्म मकर मेला शुरु भएको हो ।

कुष्माण्ड सरोवर त्रिवेणीधाममा हरेक वर्ष माघ महिनाभर मेला लाग्ने कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समिति अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । महोत्सवमा महिनाभर एकसय ८ गौमुखी धारामा मकर स्नान, दैनिक भागवत पाठपारायण, ख्यातिप्राप्त गुरुजनबाट दैनिक प्रवचन, भजन कीर्तन, साँझ आरति, सामूहिक ब्रतवन्ध र समापन कार्यक्रम तय गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

मेलामा यस वर्ष वाचन शिरोमणि वेदान्तचार्य सुभद्रा नेपाललगायत गुरुहरुले कथावाचन गर्ने भएका छन् । माता कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त भएको सिद्ध क्षेत्र, पाण्डवहरुले श्राद्ध तर्पण गरेको, अम्बरीस राजाले भगवान विष्णुको आज्ञाले १०८ धारामा स्नान गरी सन्तान लाभ भएकोलगायत विभिन्न रोग निदान भएको धर्मशास्त्रमा उल्लेख भएअनुसार यस क्षेत्रको महत्व रहेको कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समिति अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । तीन नदीको संगमस्थलका साथै उत्तरबाहिनी नदीका कारण पनि त्यस क्षेत्रमा गरिने स्नानको विशेष महत्व छ ।

मकर मेलाबाहेक कुष्माण्ड नवमी मेला, एकादशी, वडादशैं, साउन महिनाका सोमबारहरुमा त्यहाँ श्रद्धालुको बढी भीड लाग्ने गरेको छ । कुष्माण्ड सरोवर त्रिवेणीधाममा मुक्तिनाथपछि १ सय ८ गौमुखीधारा प्रमुख आकर्षणका रुपमा छ भने कुष्माण्ड भगवतीको मन्दिर निर्माण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्