तारजाली नहुँदा माथिल्लो मस्र्याङ्दी ‘ए’ बाँधक्षेत्रमा जोखिम



मस्र्याङ्दी, लमजुङ,  लमजुङमा निर्माण सम्पन्न माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा जोखिम बढेको स्थानीयवासीले गुनासो गरेका छन् । मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत ङादीमा बाँध क्षेत्रमा बनेको तलाउ वरपर सुरक्षित तारजाली नहुँदा जोखिम भएको हो ।

आयोजनाले बाँधक्षेत्र वरपर केही स्थानमा तारजाली राखे पनि अधिकांश स्थानमा तारवार नगरिँदा स्थानीयवासी, व्यक्ति तथा पशुचौपायलाई खतरा भएको हो । मस्र्याङ्दी नदी र ङादी खोलाको गहिरो तलाउ वरपर कुनै छेकबार नहुँदा स्थानीयवासी समुदाय नै जोखिममा बस्नु परेको स्थानीयवासी सुकमाया श्रेष्ठले बताउनुभयो । “आयोजनाको तलाउ नजिकै बस्ती छ, तलाउमा छेकबार छैन,” श्रेष्ठले भन्नुभयो, “केटाकेटी, पशु चौपायालाई जोखिम भएको छ ।”

आयोजनाले सुरक्षित तारजाली लगाउने प्रतिबद्धता जनाए पनि हालसम्म काम नगरेको स्थानीयवासीको गुनासो छ । बाँधक्षेत्रमै भएको मोटरेबल पुल पनि जोखिमपूर्ण रहेको स्थानीयवासीको गुनासो छ । ङादीखोलामा निर्माण गरिएको मोटरेबल पुलमुनि रहेको जाली तथा पर्खाल भत्किएकाले जोखिमपूर्ण भएको हो ।

जोखिमपूर्ण पुलबाट त्रसित हुँदै व्यक्ति तथा सवारी आवागमन हुने गरेको छ । साँझको समयमा बाटो हिँड्नेलाई पनि समस्या भएको स्थानीयवासी प्यारीमाया तामाङले बताउनुभयो । “साँझ परेपछि मदिरा सेवन गरेका हल्ँिलदै हिँड्छन्”, तामाङले भन्नुभयो, “को कुन बेला पोखरीमा खस्छ भन्न सकिन्न ।”

गत वर्ष निर्माण सम्पन्न ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन तथा बिक्री–वितरण शुरु गरिसके पनि जोखिमपूर्ण समुदायमा गर्नुपर्ने काम नगरेको स्थानीयवासीको आरोप छ । आयोजनाले स्थानीयवासीबीच गरेका प्रतिबद्धता पनि पूरा नगरेको स्थानीयवासीको गुनासो छ ।
रासस

प्रतिक्रिया दिनुहोस्