अस्पतालको अप्रेसन सेवा बन्द हुँदा समस्या



दुर्गाप्रसाद शर्मा, पर्वत ।

जिल्ला अस्पतालमा एक महिनादेखि अप्रेसन सेवा अवरुद्ध हुँदा विरामीहरु समस्यामा परेका छन् ।

अप्रेसनका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सकको अभाबका कारण सेवा प्रभावित बनेको हो ।

अप्रेशन सेवा प्रभावित भएपछि सुत्केरी नहुँन नसकेका गर्भवती एपेन्डिसाइटीस, हर्निया, हाइडोसिल लगायत बिरामीलाई अप्रेसनको लागि छिमेकी जिल्ला बागलु तथा पोखरा तर्फ रिफर गर्ने गरिएको जिल्ला अस्पताल पर्बतले जनाएको छ ।

अप्रेसनका लागि एनेस्थेसियोलोजिस्ट अभाव भएपछि अप्रेसन सेवा एक महिनादेखि बन्द भएको जिल्ला अस्पताल पर्बतका प्रमुख डा. बुद्धिबहादुर थापाले बताउनुभयो । उहाँले अप्रेसन गर्ने प्रसूति सेवालाई तत्कालै अन्यत्र पठाउन बाध्य भएको र अन्य सेवामा भने चौबीसै घण्टा सेवा दिन सकेको स्विकार गर्नुभयो ।

अप्रेसन सेवा सञ्चालनका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सक अन्यत्र सेबा सुबीधा बढी पाएपछि गएकोले सेवा पनि ठप्प भएको हो ।

जिल्लाभरिनै एक मात्र अप्रेसन सेबा सुरु गरेको जिल्ला अस्पताल पर्बतमा जिल्लाका ५ गाउँपालिका तथा २ नगरपालिकाका बासिन्दाले स्वास्थ्य सेवा लिने गर्छन् । यहाँ दैनिक १ सय भन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् ।

मासिक कम्तिमा ५ देखि ७ जनाको अप्रेसन हुने गरेकोमा त्यो सेवा रोकिएपछि बिरामीले सास्ती खेप्नुपरेको हो । अप्रेसन सेवा सुरु भएको जानकारी प्रचार शैलीमा गरिए पनि बन्द भएको जानकारी कसैलाई पनि थिएन ।

करार सेवाका लागि पुन आवश्यकता खुलाउने तयारी भएकोले सेवा नभएको जानकारी नगराईएको थापाले बताउनुभयो । रक्त संकलन केन्द्र पनि नभएकाले अप्रेसनमा समस्या छ ।

सम्पर्कमा रहने व्यक्तिबाट तत्कालै रगत दिने सर्तमा मात्र अप्रेसन सेवा गरिएको भएपनि एक महिनादेखि सेवा रोकिएपछि रगत दिने व्यक्तिहरु पनि सम्पर्कमा राख्न नसकिएको उहाको भनाइ छ ।

अप्रेसन मात्र नभएर जिल्ला अस्पताल पर्बतले बिरामीलाई दिने सेबामा समेत गुनासो आउने गरेको छ । अप्रेसन सेबा शुरु भएपछि अहिले सम्म ३५ भन्दा बढीले प्रसुती सेबा लिएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्