एनफिल्डमा म्यानचेस्टर सिटी पराजित



लन्डन, (एजेन्सी) ।

म्यानचेस्टर सिटीले यस सिजनको प्रिमियर लिगमा पहिलो पटक हारको आत्मसात गरेको छ। आइतबार राति लिभरपुलको एनफिल्ड मैदानमा रोमाञ्चक खेलमा म्यानचेस्टर सिटी ४–३ गोलअन्तरले हारेको हो ।

लिभरपुल ४–१ ले अगाडि बढेको स्थितिमा अन्तिम ६ मिनेटमा सिटीले दुई गोल फर्काए पनि हार टार्न सकेन । बर्नाडो सिल्भाले ८४ औं र गुडागानले इन्ज्युरी समयमा गोल फर्काएका थिए । यो नतिजासँगैं पेप गार्डियोलाको टोलीको २२ अपराजित यात्रामा समेत पूर्णविराम लाग्यो ।

लिभरपुलले क्लबका प्रमुख प्लेमेकर फिलिप काउटिन्होलाई १४ करोड २० लाख पाउन्डमा बार्सिलोनालाई बेचेपछि पहिलो खेल खेलेको थियो । यर्जेन क्लोपको टोलीले सिटीको लगातार अपराजित बनेको क्रम तोड्न सफल भएको थियो । टोलीका लागि एलेक्स अक्सलेड चेम्बरलेनले नवौं मिनेटमा अग्रता दिलाए तर सिटीले ४० औं मिनेट लेरोए सेनको गोलबाट खेल बराबरीमा ल्याएको थियो ।

दोस्रो हाफमा लिभरपुलले ९ मिनेटमा तीन गोल गरेर प्रिमियर लिगको शीर्ष टोलीलाई हारतिर अग्रसर बनाएको थियो । ५९ औं मिनेटमा रोबेर्टो फर्मिनोले र दुई मिनेटपछि सेडियो मानेले गोल गरेर लिभरपुलको लागि जितको आधार तयार गरे । ६८ औं मिनेटमा सिटीका गोलकिपर एडरसन अगाडि बढेको स्थितिमा मोहमद सालहले गोल गरेर लिभरपुललाई ४–१ को स्थितिमा राखे ।

यो हार बावजुद म्यानचेस्टर सिटी अंकतालिकामा बलियो स्थितिमा रहेको छ । सिटीको ६२ अंक रहेको छ भने दोस्रो स्थानमा रहेका म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीको ४७÷४७ अंक रहेको छ । आज म्यानचेस्टर युनाइटेडले स्टोक सिटीलाई हराएमा सिटीको अग्रता १२ अंकको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्