राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट माघीको शुभकामना



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वको आआफ्नै राष्ट्रिय महत्व रहेको भन्दै यसले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् ।

पर्वले नेपालका विभिन्न जातजाति बीच एकआपसमा भाइचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत गर्ने राष्ट्रपतिले विश्वास व्यक्त गरेकी हुन् ।

यसैगरी, उपराष्ट्रपति पुनले ‘नेपालका मगर, थारु र छन्त्याल समुदायको महान् सांस्कृतिक पर्व एवं नेपालीहरुको महत्वपूर्ण चाड माघे संक्रान्ति, माघी पर्व–२०७४ को पावन अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले थारु समुदायको महान् चाड माघी पर्व तथा नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक हो । नेपालको संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै सबै जातजाति, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्थाहरू गरेको छ,’ प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

यस्तै, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मकर संक्रान्ति तथा माघी पर्व २०७४ का अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
वरिष्ठ नेता पौडेलले प्रेस विज्ञप्ति जारी गरी स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्