क्लिंकर झार्न नयाँ बन्दरगाह



हेमन्त जोशी, काठमाडौं

सिमेन्ट उत्पादनको मुख्य कच्चा पदार्थ क्लिंकर भन्सार नाकामा झार्दा प्रदुषण बढ्दै गएको भन्दै रक्सौलका स्थानीयले विरोध जनाउन थालेपछि सरकारले भारतबाट ल्याइएको क्लिंकर नेपालभित्रै खन्याउने तयारी गरेको छ।

भन्सार नाकामा क्लिंकर झार्दा प्रदुषण बढ्दै गएको भन्ने भारतीय नागरिकको विरोधपछि वीरगन्ंज भन्सारमार्फत् हाल क्लिंकर आयात ठप्पजस्तै भएको छ।

वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले वीरगन्जमा देखिएको समस्यालाई समाधान गर्न नेपालभित्रै भन्सार नाकाबाट ४⁄५ किलोमिटरको दूरीमा क्लिंकर खन्याउने व्यवस्था गर्न लागिएको बताउनुभयो। भन्सारमा देखिएको समस्यालाई समाधान गर्नका लागि वाणिज्य मन्त्रालयले नेपालभित्रै क्लिंकर झार्न सुहाउँदो सुख्खा बन्दरगाहको छनोटका लागि एक टोली वीरगन्ज पठाएको छ। उक्त टोलीले २ वटा स्थानलाई सुख्खा बन्दरगाहका लागि छनोट गरेको प्रवक्ता सैंजुले बताउनुभयो।

क्लिंकरको धुलोले प्रदूषण भएको भन्दै रक्सौलका बासिन्दाले नेपालले आयात गरेको क्लिंकर झार्न नदिएपछि मुलुकभरका सिमेन्ट कारखानालाई असर परेको थियो। वीरगन्ज क्षेत्र वरपर रहेका एक दर्जनभन्दा बढी सिमेन्ट कारखाना भने पूर्ण रूपमा बन्दको स्थितिमा पुगेको व्यवसायीले बताउँदै आएका छन्।

सरकारले वीरगन्ज भन्सारमा मात्र नभई पूर्वका जिल्लामा क्लिंकर आयात हुने नाकाको समेत विकल्प खोज्ने तयारी गरिरहेको सैंजुले बताउनुभयो। क्लिंकर खन्याउन नेपालभित्रै विकल्प खोजिएपछि आयात हुने अनुमान गरिएको छ। ‘लोड अनलोड’ का लागि विकल्प खोजिए पनि भन्सार जाँजपास भने साविककै भन्सार कार्यालयमार्फत् हुने उहाँको भनाइ छ।
क्लिंकर झार्ने गर्ने विषयलाई लिएर भारतीय पक्षसंँग पनि छलफल भइरहेको प्रवक्ता सैंजुले बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै सैंजुले विभिन्न चरणमा भारतीय पक्षसँग छलफल भएको भए पनि अन्तिम निष्कर्श भने आउन बाँकी रहेको बताउनुभयो। नेपालले अन्य नाकाबाट क्लिंकर आयातका लागि पनि भारतसँग पहल गरिरहेको उहाँले बताउनुभयो।

भारतले भन्सार नाका नजिक क्लिंकर झार्दा प्रदुषण भएको व्यापक जनगुनासोपछि नेपालमा पठाउने क्लिंकरको मात्रामा व्यापक कटौती गरेको विरगंज भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेलले बताउनुभयो । क्लिंकर आयातमार्फत चालू आर्थिक वर्षको पाँच महिना अवधिमा वीरन्ंज भन्सार कार्यालयमार्फत् करिब डेढ खर्ब रुपियाँ राजस्व संकलन गरेको छ। भारतबाट क्लिंकर आयात रोकिएपछि भने त्यसको असर राजस्व संकलनमा पनि परेको पोखरेलले बताउनुभयो।

क्लिंकर आयातमा समस्या देखिएपछि नेपालका उद्योगले सिमेन्टको मूल्यमा वृद्धि गरेका छन्। सिमेन्ट उत्पादन गर्ने मुख्य समयमा नै कच्चा पदार्थको अभाव बढेपछि देशभरका अन्य सिमेन्ट उत्पादक कम्पनीलाई समेत नकारात्मक असर पर्ने व्यवसायीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्