एक महिनाअघिदेखि चाकु बनाउने चटारो



पुष्कर बुढाथोकी, भक्तपुर
आज माघे संक्रान्ति, तर एक महिना अघिदेखि चाकु बनाउन चटारो शुरू भएको थियो। मध्यपुरथिमी नगरपालिका–१२ दुईपोखरी ईनाय टोलका चाकु व्यापारी उत्तमराज श्रेष्ठका परिवारलाई।

श्रेष्ठका छोरा र भतिजाले समेत चाकु बनाएर बिक्री गरिरहेका छन् भने श्रेष्ठ परिवारका अन्य चारजना भने चाकु बनाउनमै व्यस्त रहेका छन्। पुस २० गतेदेखि परिवारका सदस्यले मात्रै चाकु बनाउन र बिक्री गर्न नसक्ने भएपछि फुपू र आफन्तलाई पनि सघाउन बोलाएको सुदीप श्रेष्ठ बताउनुहुन्छ।

बाजेले शुरू गरेको चाकु व्यवसायमा बाबुलाई साथ दिँदै आउनुभएका सुदीप चाकुबाट राम्रो आम्दानी हुने भएकाले यो पेसालाई आफूले पनि निरन्तरता दिने बताउनुहुन्छ। यस भेगमा पहिलो पटक ५० वर्षभन्दा अघि बाजे गणेशप्रसाद श्रेष्ठले शुरू गरेको चाकु बनाउने पेसा उहाँले धान्दै आउनुभएको छ।

थिमीमा चाकु उत्पादन गर्ने चाकु बासको नामबाट प्रख्यात श्रेष्ठले वर्षदिनभरि नै चाकु बनाउने भए पनि अहिले माघे संक्रान्ति नजिकिँदै गरेको र जाडो बढेका कारण चाकुको मागलाई धान्न धौ–धौ परेको उहाँले बताउनुभयो। माघे संक्रान्तिको दिन तीन सयदेखि पाँचसय किलोसम्म चाकु बिक्री हुने बताउँदै उहाँले चाकु लिन आउनेहरू २० गतेदेखि लाइन लाग्ने गरेको बताउनुभयो।

वैशाख–जेठको गर्मीमा दैनिक ७ देखि १० किलो, असोज कात्तिकमा दैनिक १५ देखि २० किलो चाकु बिक्री हुने गरेको बताउँदै उहाँले पुसमा भने दैनिक ५० किलोभन्दा बढी चाकु बिक्री गर्ने गरेको बताउनुभयो। यसवर्ष चाकु ३ सय ५० रुपियाँ प्रतिकिलोमा बिक्री भएको छ। यहाँको चाकु प्रख्यात भएकै कारण स्वदेश तथा विदेशमा उपहार दिन र सुत्केरीलाई खुवाउन पनि टाढादेखि यहाँ चाँकु लिन आउने गर्छन्। चाकु सख्खर, नरिवल, छोकडा, दूध, कुराउनी, र विभिन्न मसलाको प्रयोग गरेर बनाइने उहाँको भनाइ छ। यहाँको चाकुको स्वाद मौलिक र मीठो स्वादको भएकाले चाकु लिन काठमाडौं, ललितपुर, पनौती र उपत्यका बाहिरबाट समेत आउने गर्दछन्। माग बढेसँगै उत्पादन पनि बढाउँदै गएको श्रेष्ठको भनाइ छ।

माघे संक्रान्ति नजिकिँदै गर्दा मध्यपुर थिमीका व्यापारीलाई चाकु बनाउन भ्याई नभ्याई हुन्छ। पुस माघको जाडो मौसममा शरीरलाई न्यानो राख्ने, शरीरलाई आवश्यक पौष्टिक तत्व र रोग प्रतिरोधात्मक क्षमता बढाउन चाकुको सेवन गर्ने गरेको अर्का व्यापारी रमेश श्रेष्ठले बताउनुभयो।नेवारी सांस्कृतिमा माघ १ गते चाकु खान पर्ने प्रचलन रहेको छ। त्यस्तै चिसो लागेका मानिसलाई चाकु खुवाएमा सञ्चो पनि हुन्छ विश्वास छ।

प्रतिक्रिया दिनुहोस्