राउटे बस्तीमा भत्ताकै आश



हिक्मत नेपाली,दैलेख ।

शनिवार मध्यान्न दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने सहितको एक हुल राउटे बस्तीमा पस्यो । समुदायका सबै जसो राउटे आफ्नै कामधन्दामा व्यस्त देखिन्थे । चिसो मौसम भएका कारण कतिपय कलिला बालबालिका र बृद्धबृद्धाहरु घाम ताप्दै थिए भने राउटे युवा युवतीहरु गफगाफमै व्यस्त थिए । अधबैशे पुरुष र महिलाहरु भने काठबाट बन्ने मधुस, कोशी, आरी लगाएतका सामग्री बनाउन तल्लीन थिए ।

आ–आफ्नो काम धन्दामा व्यस्त बनेका राउटे जिल्ला बाट गएको टोली देख्ने वित्तीकै जुुर्मुराए । आ–आफ्नो काम धन्दामा लागेका राउटे समूदाय एकै स्थानमा जम्मा हुन थाले । सुनसान रहेको राउटे बस्ती एका एक हल्लाले रंगमञ्च जस्तै बन्यो । जंगलबाट ल्याएको काठ काट्नमा व्यस्त रहेका राउटेमा मुखिया सुर्यनारायण शाही जिल्लाबाट गएको टोलीको नजिक पुगेर सोधिहाले ‘हाम्रो भत्ता आयो ?’ उनको जिज्ञासाको जवाफ दिदै दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले भने ‘तपाईहरुको सामाजिक सुरक्षा भत्ता आइपुगेको छैन्, अहिले केहि खाद्यान्न र कम्बल लिएर आएका छौ ।’

भत्ता पाउने आशमा बसेका राउटे समुदाय खाद्यान्न र कम्बल मात्र आएको खबर पाएपछि एका एक निराशा छायो तर पनि प्रमुख जिल्ला अधिकारी संगै स्थानीय जनप्रतिनीधिका कुरा एकाग्र भएर सुनिरहेछ । उनिहरुले पाउने सामाजिक सुरक्षा भत्ता नपाएपछि पाएको दुःख खुलेरै सुनाए । यस अघि दैलेखको भैरवी गाउँपालिका वडा नं. ५ को सैनचौरमा बसोबास गर्दै आएका राउटेलाई गाउँपालिकाले दशै अगाडी नै सामाजिक सुरक्षा भत्ता प्रदान गरेको थियो ।

त्यस पछि उनिहरुले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । सरकारले राउटे समूदायलाई प्रत्येक चार महिनामा सामाजिक सुरक्षा भत्ता पैदान गर्दै आएको छ । बेला बेला खाद्यान्न र कपडा पाउदै आएको भएपनि सरकारले दिने सामाजिक सुरक्षा भत्ता नपाएको राउटेका अर्का मुखिया नैन बहादुुर शाहीले बताए । उनले सरकारले प्रत्येक महिनामा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइदिन आग्रह गरे ।

राउटे समूदायमा खाद्यान्न र कम्बल वितरण गर्न पुगेका भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले सरकारले रकम पठाउने वित्तीकै भत्ता प्रदान गर्ने बचन दिए । दैलेखको महावुगाउँपालिका वडा नं. ३ बाँसीको इनेदुला (छामघाट खोलाको किनार) मा बस्दै आएका राउटे समूदाय माघी मनाउनका लागि भन्दै खाद्यान्न वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता आइनपुगेका कारण माघी पर्वलाई लक्षित गर्दै राउटे समूदायलाई खाद्यान वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दैलेखले राउटे समूदायलाई खाद्यान्न वितरण गरेको हो । यस्तै दैलेखको सामाजिक संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, सेभ द चिन्ड्रेन, एइआइएन र उद्योग बाणिज्य संघ दैलेखले राउटे समूदायलाई कम्बल समेत प्रदान गरेको छन् । जिल्ला प्रशासन कार्यालय दैलेखले समूदायमा ४२ बोरा चामल, प्रति परिवार १ केजी दाल,१ प्याकेट नुन, १ प्याकेट तेल र समूदायमा दुई वटा खसी वितरण गरेको हो ।

यस्तै सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, सेभ द चिन्ड्रेन, एइआइएनले २० वटा कम्बल र दैलेख उद्योग बाणिज्य संघ दैलेखले २० वटा गरि ४० वटा कम्बल प्रदान गरेको हो । जिल्ला प्रशासन कार्यालय दैलेख र विभिन्न सामाजिक संघ संस्था तथा निजी क्षेत्रहरुको सहयोगबाट राउटे समूदायलाई खाद्यान्न संगै कम्बल वितरण गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिएका छन् ।

फिरन्ते जिवन विताउने राउटे समूदायलाई चिसोबाट बचाउन कम्बल वितरण गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिएका छन् । उनले राउटे समूदायलाई चार महिनामा वितरण गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता प्रत्येक महिना वितरण गर्नसके समूदायलाई सहज हुने बताए । दैलेखको महावुगाउँपालिका वडा नं. ३ बाँसीको इनेदुला (छामघाट खोलाको किनार) मा अहिले ४६ घरपरिवार का १ सय ७५ जना राउटे समूदाय बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्