माघमा पनि काग तिहार !



विनोद सिंह विष्ट, बैतडी ।

कार्तिकमा पर्ने दिपावली तिहारमा कागको पुजा गर्ने प्रचलन रहि आएको भएपनि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भने आज अलि फरक ढंगले काग तिहार मनाईन्छ ।

स्थानीय भाषामा “नरहरी” भनिने यस चाड माघे सक्रान्ति भनेर पनि भन्ने गरिन्छ ।

नर भनेको मानिस हरी भगवानमा लिन हुनु अथवा उपासाना गर्ने महिनाको शुरुवात भएकाले माघे संक्रान्तिलाई नरहरी भनिएको बताईएको छ ।

सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात माघे सक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठापरिकारहरु खुवाउने चलन रहेको छ । हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ । उक्त खानेकुरा माघे सक्रान्तिका दिन बिहानै नुहाई धुवाई गरी ‘का कौवा का का मेरो रोटी खा’ “का कौवा झुनमुने खाइझा” भनेर बालबालिकाहरुले कागलाई बोलाउँदै खुवाउने प्रचलन रहेको छ ।

धर्मशास्त्रहरु अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पण्डित जयानन्द भट्टले बताउनुभयो ।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनविश्वास अहिलेपनि रहेको छ उहाले भन्नुभयो “काग तिहारमा भने यी सवै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गरिन्छ” ।

कागलाई यमराजको सन्देश वाहकका रुपमा पनि पूजा गरिन्छ । त्यहि भएर चर्को आवाज निकालेर कराउने यस चरालाई काग तिहार बाहेक अरु बेला भने अशुभ र अशुद्ध पन्छीका रुपमा लिइन्छ । आजको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । कागले पुस १५ गते तिर्थमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको जनविश्वास रहेको छ ।

काग अत्यन्तै चलाख पंक्षी हो । काग सर्वभक्षी प्राणी पनि हो । काग तिहारमा कागलाई पुज्नुहो विभिन्न महत्व र कारण रहेकाछन् । कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता रहेको छ । अर्कोतर्फ यसले अन्नबालीमा लाग्ने किरा फट्याँङ्ग्रा र सवै प्रकारकामांसजन्य फोहोरहरु खाईदिने हुनाले सर्वगूणी पंक्षीका रुपमा मानिन्छ ।

त्यसैगरी हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ । आजको दिन कागलाईपूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागले लगेर लुकाएको रोटीलाई मानिसले भ्ट्टाएर ब्याउने गाईलाई खुकाए बाच्छी सप्रिने समेत बिस्वास गरिएको छ ।

माघे सक्रान्तिमा कागलाई मिठा खानेकुराहरु खुवाउँदा पाप नष्ट हुने धार्मीक मान्यता रहीआएको र पार्वती शिवलाई पति पाउँ भनेर माघ महिनामा बर्त बसेकी हुनाले पनि माघ महिनालाई धार्मीक महिना मान्ने प्रचलन रहेको पण्डित जयानन्द भट्टले बताउनुभयो ।

माघ महिना धार्मिक महिना भएकाले माछा मासु पनि खानु हुँदैन भन्ने पुस्तौदेखि चलिआएको प्रचलन रहेको पण्डित भट्टको भनाई रहेको छ । पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन भएकाले यसलाई पुसको पाक्य माघको खाक्य पनि भन्ने गरिएको छ ।

सुदूरपश्चिमेलीहरुले मनाउँदै आएका मौलिक चाड पर्वहरु मध्येको एकचाड माघे सक्रान्ति अर्थात पुसे तिहारका लागि कामको सिलसिलामा घरबाहिर रहेका मानिसहरु घर फर्किने गर्दछन भने बिबाहित महिलाहरु माइती घर जाने गर्दछन् ।

पुसे त्यार अर्थात माघे सक्रान्तिलाई आफन्त एवं इष्टमित्रहरुसंग भेटघाट गर्ने पर्वको रुपमा लिइने गरिएको श्रीकोटका स्थानिय हेमराज गिरीले बताउनुभयो ।

पुस्तौदेखि मनाइदैं आएको पुसे तिहारकोे महत्व सुदूरपश्चिममा अझेैे उत्तिकै रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्