तोडफोड भएको विद्युत् आयोजना सञ्चालनमा आएन



नेपाल समाचारपत्र
लमजुङ
परीक्षण उत्पादन शुरू गरेको मिदिमखोला जलविद्युत आयोजना तोडफोड भएको एक साता बित्दा पनि पुनः सञ्चालनमा आउन सकेको छैन। गत पुस १९ गते साँझमा तोडफोड गरिएको आयोजना स्थानीय प्रशासन तथा निर्माण कम्पनीबीच सुरक्षाको विषयमा कुरा नमिल्दा सञ्चालनमा आउन नसकेको हो।

स्थानीय प्रशासनले तोडफोड सम्बन्धी विवादमा आउन नचाहेका कारण सञ्चालनमा आउन नसकेको आरोप परियोजनाले लगाएको छ। आयोजनको उत्पादन प्लान्ट नेसनल ग्रिडमा जडान भइसकेको अवस्थामा सरकारले सुरक्षा दिए मात्र आयोजना पुनः सञ्चालनमा ल्याउने आयोजनाको निर्माता कम्पनी युनियन हाइड्रोपावरका निर्देशक शालिग्राम घिमिरेले बताउनुभयो। उहाँले भन्नुभयो–‘सरकारले सुरक्षाको प्रत्याभूति नगराएसम्म ज्यानको बाजी थापेर परियोजना सञ्चालन गर्न सक्दैनौं ।’

उहाँका अनुसार आयोजनाको सरोकार समिति, स्थानीय तहका जनप्रतिनिधिसमेत रहेको अवस्थामा आफ्ना माग राख्न सकिने भए पनि स्थानीयबासीले त्यसो गरेका छैनन्। क्षमताभन्दा ठूलो माग राखेका कारण कम्पनीले धान्न नसक्ने घिमिरेको दाबी छ। सो परियोजनाको पहिलो प्लान्टबाट परीक्षण उत्पादन थालिएको दोस्रो दिनमै तोडफोड भएको हो। नियमानुसार परीक्षण उत्पादनको १५ दिनसम्म उत्पादिन विद्युत निर्माता कम्पनीले सरकारलाई निःशुल्क दिनुपर्ने हुनाले उत्पादन बन्द हुँदा प्रतिदिन १ दशमलव ५ मेगावाट विद्युत् राज्यलाई उल्टै घाटा परिरहेको आयोजनाका कर्मचारी बताउँछन्।

प्रहरी निरीक्षक जयराम वन्तका अनुसार आयोजनास्थलको पछिल्लो स्थिति शान्त भए पनि आयोजना सञ्चालनमा आएको छैन। उहाँका अनुसार स्थानीय र आयोजनाका सञ्चालक बीचमा वार्ताबाट समाधान खोज्ने सहमति भइरहेको उहाँले दाबी गर्नुभयो। घटनाबारे छानबिन गरी सहमति गर्न नगरपालिका मेयर, वडाअध्यक्ष सहितको वार्ताटोली बनाइएको प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताउनु भयो।

लमजुङको मध्यनेपाल नगरपालिका– ८ करापु र बेंसीशहर नगरपालिका– ४ नाल्माफेदीको लाङ्दी क्षेत्रमा निर्माण गरिएको बाँधको ढोका खोलेर पानीलाई खोलातर्फ फर्काएर विद्युत उत्पादन बन्द गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्