नविता र स्यान्टु च्याम्पियन



काठमाडौं, (नेस)
राखेप च्याम्पियनसिपअन्तर्गत ३९औं हुआवे राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले जितेका छन्।

दुवै खेलाडीले शनिबार भएको फाइनल खेलमा आफ्नै क्लबका खेलाडीलाई पराजित गर्दै उपाधि जितेका हुन्। नविताको यो लगातार सातौं उपाधि हो भने स्यान्टुले लगातार दोस्रो उपाधि आफ्नो नाम गरे। राष्ट्रिय च्याम्पियन स्यान्टुले फाइनलमा विनेश खनियाँलाई ११–५, ११–४, ११–९ र ११–९ को सोझो सेटमा पराजित गरे। उनले त्यसअघि सेमिफाइनलमा एपीएफका पुरुषोत्तम वज्राचार्यलाई पराजित गरेका थिए। विनेशले भने सेमिफाइनलमा पुलिसकै प्रदिप रोक्कालाई हराउँदै फाइनलमा स्थान बनाएका थिए।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा महिला सिंगल्सतर्फ नविताले एलिना महर्जनलाई १२–१०, ११–१, ११–२ र १२–१० सोझो सेटमा पराजित गरिन्। नविताले सेमिफाइनलमा आर्मीकी दीक्षा तामाङलाई हराएकी थिइन्। एलिनाले सेमिफाइनलमा आर्मीकी रविना महर्जनलाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएकी थिइन्।

कृष्ण र स्नेहालाई स्वर्ण

नेपाल आर्मीका कृष्ण घोरासैनी र पश्चिमाञ्चलकी स्नेहाराज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपअन्तर्गत २३औं पुरुष तथा २२औं महिला राष्ट्रिय सुटिङ प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्। १० मिटर एयर राइफलको पुरुषमा कृष्ण र महिलामा स्नेहा समान २ सय २६ अंक जोडेर पहिलो भएका हुन्। पुरुषमा २ सय २४ अंकसाथ आर्मीका सुशे चौधरी रजत र २ सय ४ अंकसाथ मध्यपश्चिमाञ्चलका पवन घिमिरे तेस्रो भए। महिलामा मध्यमाञ्चलकी सिन्धुजा बस्नेत २ सय २४ अंक लिएर रजत र प्रहरीकी कल्पना परियार (२०२ अंक) तेस्रो भए।

प्रतिक्रिया दिनुहोस्