वाम गठबन्धन र जन अपेक्षा



खेमराज निरौला

मुलुकमा २०७४ सालमा सम्पन्न भएका तीनै तहका निर्वाचनमार्फत नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धनले स्पष्ट बहुमत हासिल गरी आगामी ५ वर्षसम्मका लागि स्थिर सरकार निर्माण गरेर देशलाई अग्रगति प्रदान गर्ने सुनौलो अवसर प्राप्त गरेको छ। तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भई सम्पूर्ण परिणाम सार्वजनिक भइसकेपछि वाम गठबन्धनले मुलुकमा स्पष्ट बहुमत प्राप्त गरेको छ।

यसबाट नेपालको संविधान २०७२ को सफल कार्यान्वयन भई मुलुकमा संघीय शासन प्रणालीको शुरुआतको बाटो खुलेको छ। अझ स्पष्ट रूपमा भन्ने हो भने गठबन्धनका साझेदार दुई ठूला दलका नेतृत्वप्रति आम नेपाली जनताको विश्वास र भरोसा अझ प्रगाढ र तीव्र रहेको अनुमान गर्न सकिन्छ। गठबन्धनका तर्फबाट को प्रधानमन्त्री हुने भन्ने कुराको आधिकारिक निर्णयबाहिर आई नसके तापनि गठबन्धनकै एउटा प्रमुख दलका शिर्ष नेताले आगामी सरकारको नेतृत्व केपी आलीले नै गर्ने भन्नेतर्फ संकेत गरिसक्नुभएकाले पनि आगामी सरकारको नेतृत्व निर्विवाद ओलीले नै गर्नुहुने भएको आम नेपाली जनता त्यो क्षणको व्यग्रताका साथ पर्खाइमा रहेका छन्।

निर्वाचन अघि जे–जस्तो अवस्था भए तापनि केही सामान्य घटनाबाहेक सबै निर्वाचन स्वच्छ र निर्भयका साथ सम्पन्न भई वाम गठबन्धनका पक्षमा जनताको अपार समर्थनले पनि आगामी दिनमा सरकारको नेतृत्व गर्नेले बढी संयमित, मर्यादित एवं परिणामोन्मुख भई काम गर्नुपर्ने चुनौती रहेको छ भने अर्कोतर्फ सबै तहका निर्वाचनमा नराम्रो पराजय भोगेको कांग्रेसलाई पनि विश्वासमा लिएर हिँड्नुपर्ने चुनौती छ। यसतर्फ पनि भावी प्रधानमन्त्रीका रूपमा उभिनुभएका केपी ओलीले प्रतिपक्षको विश्वास जितेर काम गर्ने भनिसक्नुभएकाले पनि नेपाली राजनीतिका आगामी दिन अझ सहज र समृद्धितर्फ उन्मुख हुनेछन् भन्ने आम नागरिकको अपेक्षा छ।

निष्ठा, नैतिकता एवं इमानदारिता जस्ता विषय नेपाली राजनीतिबाट क्रमशः स्खलित हुँदै गइरहेका बेला अहिलेको राजनीतिलाई शुद्धीकरणतर्फ डोहोराई मुलुकमा समृद्धिको आधारशिला तयार पार्ने वाम गठबन्धनको प्रतिबद्धताले पक्कै पनि आम नागरिकका आँखा अहिले वाम गठबन्धनतर्फ सोझिएका हुनुपर्दछ। राष्ट्रियता, स्वाधीनता, सुशासन, समृद्धि एवं भ्रष्टाचारमुक्त प्रशासनमार्फत साझा घोषणापत्रमा गरिएका प्रतिबद्धता एवं वाचा पूरा गर्नेतर्फ गठबन्धन दृढ रहने अपेक्षा गर्न सकिन्छ। भ्रष्टाचार एवं ढिलासुस्तीका विरुद्ध शून्य सहनशीलताको नीति अपनाएका ओली एवं वाम गठबन्धनसामु आम मतदाताको मनोविज्ञानलाई बुझी जनताले दिएको जनादेशलाई कसरी सुशासन र समृद्धितर्फ डोर्याउने हुन् ? आम नागरिको चासोको विषय बनेको छ।

वाम गठबन्धनको बहुमतसँगै जनताका समस्या समाधानतर्फ कस्तो रबैया गठबन्धनले अपनाउँछ भन्ने चासो र सरोकार आम नागरिकमा छ। वाम गठबन्धनको विजयसँगै लोकतन्त्र, राष्ट्रहित, स्वाधीनता, राष्ट्रिय एकता र स्थिरताका विरुद्धमा फैलाइएका भ्रमलाई चिर्दै समुन्नत राष्ट्रनिर्माण गर्ने अठोटका साथ बनाइएको गठबन्धनलाई दिगोपन दिई संयुक्त घोषणापत्रलाई सफल कार्यान्वयनको चरणमा लगि नागरिकलाई आस्वस्त पार्नुपर्ने हुन्छ। वाम गठबन्धन अझ खास गरी नेकपा एमालेप्रति जनताले देखाएको भरोसा र विश्वासले वर्तमान परिप्रेक्ष्यमा एमाले अझ बढी सजगताका साथ अघि बढ्नुपर्ने देखिन्छ। वाम गठबन्धनका एजेन्डा नै किन जनताले अनुमोदन गरे ? भविष्यमा गठबन्धनले के गर्ला ? जनताको विकास, सुशासन, समृद्धि र भ्रष्टाचाररहित जनमुखी प्रशासनको परिकल्पनाले सार्थकता पाउला वा नपाउला भन्ने यावत् प्रश्नको उचित जवाफ केवल वाम गठबन्धनले मात्र दिन सक्ने आधार मतदाताले प्रस्तुत गरिदिएका छन्।
अहिलेको निर्वाचन परिणामले के सन्देश दिन खोजेको भने, जनता अब अस्थिरताको पक्षमा छैनन्। न त ६–८ महिना नपुग्दै सरकार परिवर्तनको शृंखलाको पक्षमा। छन् त केवल स्थिरता सुशासन, विकास एवं दिगो शान्ति। पछिल्ला वर्षमा संसद्मा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्दाको अवस्थाले गर्न चाहेका काम पनि समयमा गर्न नसकिएका प्रसस्तै उदाहरण हाम्रा सामु छन्। सरकार परिवर्तनका बेमौसमी बाजाले राजनीतिलाई जनताको सेवामा भन्दा पनि व्यक्ति र पार्टी विशेषका फाइदाका पक्षमा बढी प्रयोग भएका दृष्टान्त कसैबाट छिपेको छैन। यस्ता विकृति र विसंगतिका विरुद्ध अब बन्ने सरकार पूर्णरूपमा सजग एवं इमानदारिताका साथ लागिपर्नेछ भन्ने आभास जनतालाई दिलाउन जरुरी छ। वाम गठबन्धनमा क्षमतावान् वैचारिक हिसाबले संघर्षशील, देश–विदेशको परिस्थितिअनुसार राजनीतिलाई हाँक्न सक्ने राजनेताको कमी छैन। जनताले यिनै विशेषता भएका नेताहरुलाई नै विश्वास गरेर बहुमत दिएका हुन्। यो बहुमतलाई अपव्याख्या गरी जनताका आकांक्षा एवं समृद्धिका सपनालाई कुनै पनि बहानामा तहसनहस बनाइयो भने त्योभन्दा दुखद क्षण अरू कुनै हुन सक्दैन। यो अवस्था नआउला भन्न सकिँदैन। किनभने अहिले वाम गठबन्धनलाई कसरी हुन्छ फुटाएर फाइदा लिने देशी एवं विदेशी शक्तिहरु पनि त्यत्तिकै सक्रियतापूर्वक लागिरहेका उनीहरुको बोली र व्यवहारबाट प्रस्ट देखिन्छ। यसतर्फ पनि गठबन्धनले ध्यान पुर्याउनुपर्ने देखिन्छ।

चुनावताका प्रचारप्रसारका क्रममा सत्तासीन दलका नेता खास गरी प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्त गरेका आधारहीन एवं अपत्यारिला मनगढन्ते अभिव्यक्तिलाई जनताले झुटा सावित गरिदिएका छन्। चुनाव प्रचारका क्रममा प्रधानमन्त्री देउवाले जनतामाझ केवल कम्युनिस्ट अधिनायकवादबाहेक अरू केही पनि बोलेनन्। यस्तोसम्म कि मानौं अब कांग्रेससँग जनतामाझ बोल्ने र गर्ने कुरा केही पनि रहेनछजस्तो देखियो। जुन ठाँउमा गए पनि कम्युनिस्ट अधिनायकवाद आयो भने मुलुकमा फेरि कहिल्यै चुनाव नहुने, बोल्न नपाइने, लेख्न नपाइने, संगठन गर्न नपाइनेजस्ता हावादारी कुरा गरेर जनतामा वाम गठबन्धनका विरुद्ध भ्रम छरेकाले पनि जनताले कांग्रेसलाई सजाय दिएको हुनुपर्दछ। वाम गठबन्धनको जस्तो स्पष्ट आफ्ना भावी योजना जनतासामु राख्न नसकेकाले कांग्रेसले इतिहासकै लज्जास्पद हार बेहोर्नुपरेको हो। तर, अब कांग्रेसको हारलाई वाम गठबन्धनले आफ्नो प्रतिबद्धता र जनतालाई देखाएको समृद्धि, सुशासन, सदाचार, स्थायी सरकारको सपनालाई पूरा गर्ने अवसरका रूपमा सदुपयोग गर्न कुनै हालतमा पनि चुक्नुहँुदैन। फेरि पनि यो वा त्यो बहाना बनाएर आरोप–प्रत्यारोप सुन्ने पक्षमा जनता छैनन्। दुई कम्युनिस्ट पार्टी एकीकरण गरेर एउटै पार्टीको निर्माण गरी मुलुकलाई राजनीतिक स्थायित्वतर्फ डोर्याउने नेताहरुको सहमतिले व्यापक माात्रामा उत्साह र आशाको आमसञ्चार गराएको छ भने अहिले पछिल्लो समयमा आएर त्यो उत्साह र आशा कतै निराशामा त परिणत हुने होइन भन्ने आशंका बढ्न थालेको छ। यो दुविधाको अवस्थालाई बेलैमा सकारात्मक सम्बोधन गरिएन भने जनताले अब वामपन्थीलाई माफी गर्ने छैनन्। सुशासन र समृद्धिका पक्षमा यो एकताले युगान्तकारी परिवर्तन ल्याउन सक्नुपर्दछ। यसबाट मुलुकमा मौलाएको भ्रष्टाचार, ढिलासुस्ती, अपारदर्शिता, लुटतन्त्र, अराजकता जस्ता लोकतन्त्रमा नसुहाउने गतिविधिलाई जरैदेखि उखेलेर सुशासन र कानुनी राज्यको प्रत्याभूत गराउन सफल हुनेछ। दुई दशकभन्दा बढीको प्रजातान्त्रिक कालखण्डमा झण्डै २५ पटक सरकार फेरिनु मुलुकको स्थिरता र विकासमा कति दुर्भाग्यपूर्ण छ। यो तीतो यथार्थतालाई मनन गरेर अब बन्ने सरकारले त्यसैअनुसारको कदम चाल्नुपर्ने टड्कारो आवश्यकता छ। सुखद भविष्य र समुन्नत मुलुकको नागरिकको परिकल्पनाका साथ कालखण्डका आन्दोलनमा होमिएको नेपाली समाजमा आजसम्म आइपुग्दा एक किसिमको असन्तुष्टि र आक्रोश कायमै छ। पटक–पटकका राजनीतिक परिवर्तनपश्चात् पनि आम नागरिकका सरोकारका विषयका तर्कपूर्ण समाधान नहुनुले राजनीतिमा वितृष्णा फैलिँदै गएको छ।

भ्रष्टाचार र दण्डहीनताले कुरूप बनाएको राष्ट्रलाई विकासको बाटोमा ल्याउने काम अब बन्ने वाम गठबन्धनको सरकारले गर्ने अपेक्षा आम नागरिकको छ। चुनौतीका पहाड धेरै छन् तर इमानदार र कर्तव्यनिष्ट भइयो भने ती पहाडहरु सामान्य पनि हुन सक्छन्। जनतालाई स्थायी सरकारमार्फत काम गरीखाने वातावरण चाहिएको छ। वाम गठबन्धनले प्रस्तुत गरेका एजेन्डालाई मतदानमार्फत जनताले अनुमोदन गरिदिएका छन् तर सर्तसहित। त्यो सर्त भनेको राजनीतिक स्थायित्व, सुशासन, विकास, रोजगारी एवं सुसम्पन्न मुलुकको नागरिक बन्ने। अहिले मिनेट–मिनेटको समय बहुमूल्य छ। एकछिनको समय पनि खेर नफाली राष्ट्र र जनताको हितमा प्रयोग गर्नुपर्दछ। जनतासामु गरेका वाचालाई जस्ताको तस्तै कार्यान्वयनको चरणमा लान्छन् कि लाँदैनन् ? जनताले हेरिरहेका छन्। यदि त्यस्तो भएन भने वामपन्थी जनताबाट धेरै टाढा हुन पनि बेर छैन। वाम गठबन्धनबाट जनताले गरेको अपेक्षा भनेको राजनीतिक स्थायित्वमार्फत समृद्ध मुलुकको जनता भएर बाँच्ने हो। अस्थिर राजनीतिको आडमा मौलाएको अपराधीकरण, भ्रष्टाचार, ढिलासुस्तीलाई निर्मूल पार्दै पर्यटकीय दृष्टिकोणबाट नेपाललाई विश्वसामु प्रमुख गन्तव्यका रूपमा चिनाउनु नै अब बन्ने सरकारको प्रमुख कार्यभार हुनुपर्दछ।

प्रतिक्रिया दिनुहोस्