अमेरिकी नाकाबन्दीप्रति इरान आक्रोशित



तेहरान, (एजेन्सी)
इरानले शनिबार संयुक्त राज्य अमेरिकाले आफ्नो न्यायालयका प्रमुख अयातोल्लाह सादेक आमोली–लारिजानीलाई नाकाबन्दी लगाएर रेड लाइन क्रस गरेको आरोप लगाएको छ।

इरानी विदेश मन्त्रालयले अमेरिकाको यस कदमविरुद्ध कडा प्रतिवाद गरिने जनाए पनि कस्तो किसिमको प्रतिवाद गर्ने भन्ने स्पष्ट पारेको छैन। यसैबीच इरानले विश्वका शक्ति राष्ट्रहरूसँग आफूले गरेको आणविक सम्झौतामा कुनै पनि हेरफेर गर्नसमेत अस्वीकार गरेको छ।

सन् २०१५ मा इरानको विवादास्पद आणविक कार्यक्रम नियन्त्रणका लागि अमेरिकालगायतका शक्ति राष्ट्रहरुले गरेको उक्त सम्झौताका आलोचक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उक्त ऐतिहासिक सम्झौताअन्तर्गत आफूले एकचोटि अन्तिम पटक नाकाबन्दी सहज गर्ने घोषणा गरेका थिए।

यसैबीच अमेरिकाले आफ्नो पदीय अधिकार दुरूपयोग गरेको अभियोगमा इरानका १४ व्यक्ति र संघसंस्थामाथि पछिल्लो नाकाबन्दी लगाएको छ। साथै राष्ट्रपति ट्रम्पले आफूले अमेरिका र युरोपलाई सन् २०१५ मा छवटा शक्ति मुलुक र इरानबीचको आणविक सम्झौतामा भएका गम्भीर त्रुटिहरु सच्याउन अन्तिम मौका दिने बताएका छन्।
ह्वाइट हाउस इरानको युरेनियम प्रशोधन कार्यमा स्थायी प्रतिबन्ध लगाउने विषयमा सम्झौतामा हस्ताक्षर गर्ने युरोपका सदस्य राष्ट्रहरुलाई सहमत गराउन चाहन्छ।

प्रतिक्रिया दिनुहोस्