सीमाको निरीक्षण गर्न राजदूत पुगे इलाम



गणेश घिमिरे, इलाम
र्वी इलामको सिमावर्ती क्षेत्र पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले बताएका छन्। पूर्वी नेपालमा रहेका नेपाल–भारत सीमा क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा शनिबार पशुपतिनगर आइपुगेका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि चाहेको अध्यागमन कार्यालयको मागबारे पहल गर्ने आश्वसन दिएका छन्। उनले भने– ‘सीमा क्षेत्रका भौतिक संरचनाको विषयमा अध्ययन गर्दै आएका छौं, दुवै क्षेत्रका नागरिकलाई आवातजावत तथा व्यापारका लागि सहज वातावरण बनाउन लागि पर्नेछौं।’

झापाको काकडभिट्टा नाकाको निरीक्षणपछि इलाम आइपुगेका राजदूत पुरीले भन्सार कार्यालय, सीमा क्षेत्रमा गाडिएका पिलरलगायतको स्थलगत निरीक्षण गरेका थिए। सो क्रममा स्थानीयबासीले राजदूतसमक्ष पशुपतिनगरमा भन्सार, क्वारेन्टाइन र अध्यागमन कार्यालय खोल्न माग गरेका थिए। सो क्रममा उनले स्थानीयको मागलाई आफूले गम्भिरताका साथ लिएको बताए। राजदूत पुरीले पशुपतिनगर नाका हुँदै नेपाल आउने पर्यटकको बारेमा पनि चासो राखेका थिए।

पर्यटकीय सम्भावना बोकेको इलाममा पशुपतिनगर हुँदै आउने पर्यटक भारतीय नाकामा अध्यागमन कार्यालय नहुँदा विभिन्न समस्याका कारण त्यसै फर्किन बाध्य छन्। पशुपतिनगर भन्दा ३६ किलोमिटरमा रहेको भारत दार्जिलिङमा वर्षेनी हजारौं पर्यटकले खचाखच रहन्छ। त्यहाँ आएका तेस्रो मुलुकका पर्यटक पशुपतिनगर छेउसम्म आउँछन् तर सँगै रहेका इलामका रमणीय स्थान घुम्न पाउँदैनन्।

अनौपचारिक रूपमा पूर्वी क्षेत्रको सीमा क्षेत्रको निरीक्षणमा निस्केका राजदूत पुरीले पशुपतिनगर सीमा क्षेत्र फाटकमा रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को बेस क्याम्पको समेत निरीक्षण गर्दै सीमा क्षेत्रको सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका थिए। राजदूत पुरी सीमा क्षेत्रको निरीक्षण गर्दै शनिबारै इलाम सदरमुकाममा रहेको भारतीय पेन्सन वितरण (सोल्जर बोर्ड) कार्यालयको पनि निरीक्षण गरेका छन्।

निरीक्षणपश्चात भूतपूर्व भारतीय सैनिकसँग केहीबेर अन्तरक्रिया गरे। सो क्रममा उनले भारतीय राजदूतबासको तर्फबाट ताप्लेजुङमा रहेको एक अपा·ता सम्बन्धी अध्यापन गराउँदै आएको विद्यालयलाई १ लाख रूपियाँ पनि उपलब्ध गराएका छन्। राजदूत पुरी शनिबार इलाम सदरमुकाममै बास बसेर आइतबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्