नाचघरमा चौतारी



जापानमा बाँसुरी र तबलाको माध्यमबाट नेपाली गीत–संगीतको प्रवद्र्धन गर्दै आएको चौतारी ब्यान्डले राजधानी तताएको छ। ब्यान्डका बाँसुरीवादक पञ्च लामा, तबलावादक श्रवण लामा र जापानी कलाकार तेराकादो मित्सिगुले शुक्रबार सँँझ जमलस्थित राष्ट्रिय नाचघरमा अयोजित चौतारी साँझ नाम दिइएको कार्यक्रममा लोक सँंगीतिक धुनबाट दर्शकलाई मन्त्रमुग्ध तुल्याए। यी कलाकारले विभिन्न नेपाली र जापानी धुनबाट दर्शकको मन जितेका हुन्।

नेपालका सुन्दर दृश्यहरु समेटेर तयार पारेको लोक सांगीतिक वृत्तचित्र सुन्दर नेपाल प्रदर्शनसँगै आरम्भ भएको चौतारी साँझ २०७४ मा पञ्च लामाले बाँसुरीमार्फत मनकामना धुन प्रस्तुत गरे। यसपछि पञ्च र श्रवणले बाँसुरी र तबलाको फ्युजन धुन प्रस्तुत गरे। त्यसपश्चात्को प्रस्तुतिमा प्रकाशको किरणलाई पछ्याउँदै पञ्च र श्रवणले बाँसुरी र तबलाको धुन जर्नी थ्रो द लाइट प्रस्तुत गर्दा जापानी कलाकार तेराकादो मित्सिगुले गितारमा साथ दिएर सांगीतिक रोमाञ्चकता थपेका थिए। यी तीन सांगीतिक कलाकारले जापानी धुन टोकियो नाइट पनि प्रस्तुत गरे।

अर्को प्रस्तुतिमा द मेलानकोली नोट इन काठमाडौं शीर्षकमा प्रस्तुत गरिएको काठमाडौंका केही स्थानीय धुनले कार्यक्रमको रौनक बढाएको थियो। त्यसै क्रममा उनीहरुले ए कान्छा शीर्षकमा नेपाली लोकधुन प्रस्तुत गरेर माहौल तताए।

यी कलाकारले प्रस्तुत गरेको समुद्रको छाल धुन होस् या द हिमालयन शीर्षकका हिमाली क्षेत्रका लोकधुन हुन, सबै धुनमा कलाकारत्रयलाई दर्शकले तालीले निरन्तर साथ दिइरहे। उनीहरुको ड्रम सेसनको प्रस्तुत निकै ऊर्जायुक्त थियो। ड्रम सेसनअन्तर्गत ड्रमबाट श्रवण र बाँसुरीबाट पञ्चबीच युगल वादन प्रस्तुत गरिएको थियो।

कार्यक्रमका अन्तिम चरणमा पञ्चले एकल बाँसुरी धुन प्रस्तुत गर्दा दर्शकले फेरि तालीले साथ दिए। क्याराभान र वनचरी शीर्षकका लोकधुनमा यी तीन कलाकारको प्रस्तुतिमा दर्शक रमाए। उनीहरुले मौलिक धुनअन्तर्गत मुरलीको माध्यमले विभिन्न चराको आवाज र गीत सुनाएर वनचरी भाका प्रस्तुत गरेका थिए। डान्सिङ बर्ड शीर्षकको धुन अर्को आकर्षक पक्ष बन्न पुग्यो। लाम्बादा शीर्षकमा सांगीतिक धुनसँगै यी तीनले चौतारी साँझ २०७४ को पर्दा बन्द गराएका थिए।

दुई दशकदेखि जापानमा बसेर त्यहाँका विभिन्न कार्यक्रममा नेपाली धुन पस्कँदै आएका कलाकारद्वय पञ्च लामा र श्रवण लामाको काठमाडौंमा यो तेस्रो चौतारी साँझ हो।

सर्लाहीको हरिवन नगरपालिका–५ स्थित चेतना सन्देश नेपालद्वारा सञ्चालिन द्वन्द्वपीडित बालगृहका लागि चौतारी साँझमा पञ्च र श्रवण लामाले १२ लाख रुपियाँ सहयोग प्रदान गरे।

विगतका वर्षमा जस्तै यसपटक पनि नेपाली र जापानी संगीतलाई एकै थलोमा प्रस्तुत गर्न चौतारी साँझ २०७४ आयोजना गरिएको संस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताए।

प्रतिक्रिया दिनुहोस्