कोरिडोरमा पनि जामै जाम



 

नेपाल समाचारपत्र
काठमाडौं
ललितपुर लुभुका राजन घिमिरे नयाँबजारस्थित एक फेन्सी पसलमा काम गर्नुहुन्छ। त्यहाँ पुग्न उहाँलाई दैनिक मोटरसाइकलबाट आवतजावत गर्नुपर्छ। अन्य सडकमा ट्राफिक जाम हुने र यो बाटोबाट हिँड्दा छिटो पुगिने सोचले उहाँ पाँच वर्षदेखि विष्णुमती कोरिडोरबाटै आउने–जाने गर्दै आउनुभएको छ।

उहाँ गुनासो गर्नुहुन्छ– ‘छिट्टै पुगिएला भनेर यो बाटो रोजेको तर आजभोलि त दिक्क लाग्न थालेको छ। किनकि यहाँ पनि उत्तिकै ट्राफिक जाम हुन्छ अचेल। बिहान जाँदा पनि उस्तै बेलुकी फर्कंदा पनि उस्तै जाम। घरबाट फर्कंदा झन् बढी जाम पर्न थालेको छ।’

घर फर्कंदा ३ घण्टासम्म जाममा परेको समस्या सुनाउँदै घिमिरे थप्नुहुन्छ– ‘अरू बाटोबाट झन् जान सम्भव नै छैन। सम्भव हुने बाटोमा पनि यस्तो हालत छ। बढो नमज्जा लाग्छ।’

त्यसो त यस्तो समस्या झेल्ने व्यक्ति उहाँ मात्र होइन। यही बाटोबाट दैनिक ओहोरदोहोर गर्ने हजारौं सर्वसाधरणले पनि उस्तै सास्ती बेहोर्नुपरेको छ।

विष्णुमती कोरिडोर विशेष गरी राजधानीको ट्राफिक–जाम व्यवस्थापन गर्न परिकल्पना गरेका विभिन्न कोरिडोरमध्ये एक हो। परिकल्पना गरेअनुसार उक्त कोरिडोर सञ्चालनमा आइसकेको छ तर ट्राफिक समस्याको व्यवस्थापन हुनुको सट्टा सर्वसाधारणले यस कोरिडोरमा झन् जामको हैरानी भोगिरहेका छन्।

साँघुरो सडक, त्यहींमाथि ठूल्ठुला खाल्डाखुल्डी परेको सडक, जताततै जमेको पानी, थुपारेर राखिएको निर्माण सामग्री, फोहोरै फोहोरको डंगुर, सवारी साधन बनाउने ग्यारेज तथा पार्किङस्थलका कारण यो सडकमा ट्राफिक जाम धेरै भएको स्थानीयबासी बताउँछन्।

विशेष गरी सडकको यस्तो नाजुक अवस्था विष्णुमती कोरिडोर सडकको टेकु पुलदेखि शोभाभगवती पुलसम्म देखिन्छ। यसको असरका कारण विष्णुमती कोरिडोरको अर्काे सडक टेकु–कालीमाटी पुलदेखि डल्लु जाने कोरिडरसम्म प्रभावित भएको पाइन्छ। यतिसम्म कि घण्टौं हुने ट्राफिक–जामका कारण विष्णुमती कोरिडोरका दुवैतर्फका पूरै सडक, सडकचोकहरू, यो सडक हुँदै भित्री बस्तीतिर जाने स–साना सडक, गल्लीहरू पूरै सवारी साधनले भरिन्छन्। यसले गर्दा पैदलयात्रीलाई समेत हिँड्न धौधौ हुन्छ। उनीहरूसमेत जाममा रोकिएर बस्न बाध्य हुनुपर्दछ।

जाम हुनुको अर्काे एक कारण हो– अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विष्णुमती खोलाको ढल व्यवस्थापन गर्ने भनेर सडकमै निर्माण सामग्री थुपारेर राख्नु। यस्तै नागढुंगाबाट कलंकी–कालीमाटी–त्रिपुरेश्वर हुँदै भित्रिने सवारी साधनको चापले गर्दा घण्टौंसम्म जाम हुने गरेको र त्यसको असर विष्णुमती कोरिडोरमा परेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकार बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ– ‘कलंकी–त्रिपुरेश्वर सडकको जामले गर्दा विष्णुमती कोरिडोरको ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ। तर हामीले सुल्झाउने प्रयास गरिरहेका छौँ।’

प्रवक्ता रञ्जितकारका अनुसार कोरिडोरको सडक संरचना पुलमुनिबाट नभई पुलको मुखबाटै क्रस भएर सञ्चालन हुँदा पनि ट्राफिक व्यवस्थापनमा समस्या भएको हो।

यता काठमाडौं महानगरपालिका शहरी पूर्वाधार विकास विभागका प्रमुख उत्तर रेग्मी भने तत्कालका लागि ट्राफिक समस्या घटाउन कोरिडोरको सडक बरदानसावित नै हुने विचार राख्नुहुन्छ। महानगरभित्रका यस्ता सडकमा ट्राफिक समस्या देखिनुलाई महानगरले गम्भीर रूपमा लिएको उहाँको दावी छ– ‘ट्राफिक समस्या समाधान गर्न सम्बन्धित निकायसँग निरन्तर औपचारिक⁄अनौपचारिक छलफल गरिरहेका छौँ।’

 

प्रतिक्रिया दिनुहोस्