२ लाखमा बिक्यो बहुअपांग अमिरको कला



हेटौंडा, (नेस)। मकवानपुरको थाहानगरका बहुअपांगता भएका बहुप्रतिभाशाली कलाकार अमिर बम्जन तामाङसँग अचम्मको प्रतिभा छ। उनी मुखले कलम, कम्प्युटर, मोबाइल चलाउँछन्। उनको चित्र ताइवानमा २ लाख रुपियाँमा बिक्री भएको छ।

कलाकार बम्जन फरवेन्ट ग्लोबल लभ अफ लाइफ पुरस्कारबाट सम्मानित भएका छन्। ताइवानका पूर्वराष्ट्रपति मा यिङज्युले ताइवानमा भएको एक समारोहमा उनलाई पुरस्कृत गरेका हुन्।

क्यान्सरपीडित ताइवानी कवि चोउ ताक्वानको स्मृतिमा उनका आमाबाबुले पुरस्कार स्थापना गरेका हुन्। यसअघि उक्त पुरस्कारबाट झमककुमारी घिमिरेलाई सम्मानित गरिएको थियो। अमिरलाई भूकम्पपछि उद्धार गरेर काठमाडौं लगी उनका चित्रकला र गायन प्रतिभा विकासमा सहयोग गर्ने संस्था करुणा फाउन्डेसन नेपालले सहयोग गरेको थियो।

ताइवानमा अमिरको चित्रकला प्रदर्शनी गरिएको थियो। घाँटीभन्दा तलका अंगले काम नगर्ने अमिरले मुखले चित्र कोर्छन् र गीत, कविता लेख्छन्। उनको प्रतिभा विकासका लागि कलाकार किरण मानन्धर र संगीतकार न्यूह वज्राचार्यले प्रशिक्षण दिएका थिए। अमिरको लेखन र गायनमा एउटा म्युजिक भिडियो सार्वजनिक भइसकेको छ। शारीरिक अपांगता भएका अमिरलाई सरकारले पनि सम्मान गरेको छ। ८ व्यक्ति र २ संस्थालाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरिँदा अमिर पनि सम्मानित भएका हुन्।

युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर काठमाडौंमा उनलाई चित्रकलातर्फ राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको हो। सम्मानसँगै अमिरले १ लाख रुपियाँ पनि प्राप्त गरेका थिए। अमिरका निमित्त देशविदेशबाट संकलित रकम अक्षयकोषका रूपमा राखिएको छ। दामन चेली समाजद्वारा आयोजित कार्यक्रममा अमिरको उज्ज्वल भविष्यको कामना गरी गौतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा मुद्दती खाता सञ्चालन गरी त्रैमासिक ब्याजले अमिरको पालनपोषण तथा उचित शिक्षाका लागि सहयोग गरिने समाजले जनाएको छ।

मकवानपुर थाहानगरका करिब १७ वर्षीय अमिरका अरुका जस्तै सपना छन्, तर उनी शारीरिक कठिनाइका कारण सपना सहजै पूरा नहोलान् कि भन्ने चिन्तामा छन्। अमिरको न हात चल्छ, न खुट्टा नै। तर, उनले हरेस खाएका छैनन्। मुख र जिब्रोका भरमा उनी आफ्नो जीवन चलाइरहेका छन्, सपनालाई पछ्याइरहेका छन्। उनी भन्छन्– ‘मसँग विश्वास छ, आँट छ। म गर्न सक्छु।’ मुखको सहयोगमा उनी लेख्नेमात्र होइन, राम्रा चित्र पनि बनाउँछन्।

उनी गुन्गुनाउँछन् जीवनका उकाली/ओराली समेटिएका गीतहरु कोर्छन्। यही अभ्यासले हुनुपर्छ, अहिले अमिर गायक बन्ने सपना बुनिरहेका छन्। आफ्ना गीतका लागि आफैं शब्द कोरिरहेका छन्। अमिरलाई स्कुल जान मन नलाग्ने होइन। बिडम्वना, स्कुल उनको पहुँचमा छैन। ६ कक्षामा पढेका अमिरले स्कुल लैजाने र ल्याउने सहयात्री नपाएपछि अध्ययन बीचैमा छाडे। त्यसैले होला, उनीसँग गुनासा पनि छन्। २०७२ वैशाख १२ को भूकम्पपछि उनको परिवार सामान्य टिनले छाएको छाप्रोमा जीवन बिताउन बाध्य थियो।

प्रतिक्रिया दिनुहोस्