मनाङलाई आर्मी प्रतिद्वन्द्वी



हेमन्त पौडेल, कैलाली

रूपन्देही ११ लाई फराकिलो गोल अन्तरले हराएर डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बिहीबार भएको अन्तिम क्वाटरफाईनलमा रूपन्देहीलाई ४–० ले पराजित गर्दै मनाङ अन्तीम चारमा पुगेको हो। जारी प्रतियोगितामा मनाङको जित नै ठूलो जित हो। यसअघि थ्री स्टारले रमपम झापा ११ लाई ३–१ ले हराएको थियो। मनाङले फाइनल पुग्न यस वर्ष तीन उपाधि जितेको आर्मीलाई पन्छाउनु पर्ने कडा चुनौती पाएको छ।

२० औँ मिनेटमा विदेशी खेलाडी भिक्टोर अमोवीले गोल गर्दै मनाङलाई अग्रता दिलाए। पहिलो हाफमा १–० ले अगाडी रहेको मनाङले दोस्रो गोल आत्मघाती उपहार पायो। छिरिङ गुरुङले वचाउ गर्न खोज्दा ५५ औं मिनेटमा आफ्नै पोष्टमा गोल भएपछि मनाङको अग्रता दोव्वर भयो। अधिकांश समय बल आफ्नो कव्जामा राखेको मनाङका लागि ८३ औ मिनेटमा विशाल राई र ८४ औ मिनेटमा विमल रानाले गाल गर्दै सानदार जित संभव भयो। यससँगैं प्रतियोगितामा सेमिफाइनलको समिकरण पुरा भएको छ। प्रतियोगीता अन्तरगत आज मनाङ र आर्मी विच पहिलो सेमीफाईनल खेल हुनेछ भने सेमीफाईनलमा आइतवार सुदुरपश्चिम ११ र एपीएफ विच हुनेछ।

जितपछि प्रतिक्रिया दिदै मनाङ मस्याङ्दीका प्रशिक्षक हेमन्त आलेले टीमको समन्वय भएकोले सानदार जित हासिल भएको भन्दै चिर परिचित प्रतिद्धन्द्धी भएका कारण रणनिति वनाउदा जित हात पारेको वताए। हामीले धेरै पटक विपक्षी टीमसँग खेलिसकेका छौं उनीहरूको रणनिति थाहा भएकोले त्यही अनुसार खेल्न सजिलो भयो उनले भने– अव सेमिफाईनलको खेल ५०÷५० प्रतिशत हो। विभागीय टीमलाई धेरै पटक हराईसकेकोले गोल्डकपमा पनि हराएर उपाधि जित्ने रणनिति वनाउनेछौं।

रूपन्देही ११ का कप्तान दिलीप क्षेत्रीले आफ्नै गल्तीले गोल खाँदा हार व्यहोरेको वताए। आफ्नै गल्तीले शुरूमै गोल खाँदा दवावमा खेल्नु परेको र मौका पनि सदुपयोग गर्न सकेनौं उनले भने– पछि गो फर्काउनतिर केन्द्रित हुँदा अझ गोल खानु पर्यो।

प्रतिक्रिया दिनुहोस्