फेसबुकको न्युज फिडमा परिवर्तन हुने ः जुकरवर्ग



वासिङ्टन, (एजेन्सी)
विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले व्यवसाय, ब्रान्ड र सञ्चार क्षेत्रका पोस्टलाई कम प्राथमिकता दिने गरी आफ्नो न्युज फिडमा परिवर्तन गर्ने घोषण शुक्रबार गरेको छ। फेसबुकका प्रमुख कार्यकारी अधिकारी मार्क जुकरवर्गलेयसको बदलामा पारिवारिक र साथीभाइबीच हुने गरेका कुराकानीलाई थप प्राथमिकतामा राखिने जानकारी आफ्नो पेजमा उल्लेख गरेका छन्।

यसको कदमको कारण व्यावसायिक संगठनहरूले आफ्नो पोस्टहरूको लोकप्रियता घटेको महसुस गर्ने उनले बताएका छन्।

जुकरबर्गले लेखेका छन्– ‘आगामी केही साताभित्र नयाँ परिवर्तन लागू भइसक्ने छ। हामीले हाम्रो समुदायबाट के फिडब्याक पायौं भने व्यवसाय, ब्रान्ड र मिडियाका पोस्टहरूले हामीलाई एक अर्कासँग नजिक ल्याउने निजी क्षणहरूलाई ओझेलमा पारिदिएको छ।’

‘मानिसहरूको खुसीका लागि फेसबुक उपयोगी छ भनेर सुनिश्चित पार्नु हाम्रो दायित्व हो। यस परिवर्तनपछि मानिसहरूले फेसबुकमा कम समय बिताएपनि उक्त समय बढी मूल्यवान हुनेछ।’ यसअघिको पोस्टमा जुकरवर्गले सन् २०१८ मा फेसबुकलाई दुरुस्त बनाउने र यसको दुरुपयोग रोक्ने प्रतिबद्धता जनाएका थिए।

साथै उनले फेसबुकलाई विभिन्न राष्ट्रको गैरहस्तक्षेपबाट पनि जोगाउने बताएका छन्। पछिल्ला विश्लेषणहरूले रुसलगायतका देशहरूले फेसबुकमा आएका विषयवस्तुलाई तोडमोड गर्ने गरेको संकेत दिएका छन्।
यसैबीच मार्क जुकरवर्ग विश्वको चौथो धनी व्यक्तिको सूचीमा परेका छन्। २००४ मा फेसबुक स्थापना गरेयता आफ्नै संघर्षले उनी विश्वको चौथो धनी व्यक्ति बनेका हुन्। उनीसँग हाल भएको ७७ दशमलव ३ अर्ब अमेरिकी डलर सम्पत्तिमा उनको अन्य पैतृक सम्पत्ति जोडिएको छैन। विश्वकै सबैभन्दा धनी पाँच व्यक्तिको सूचीमा पर्ने उनी सबैभन्दा कम उमेरका व्यक्ति हुन्। जुकरवर्ग ३३ वर्षकै उमेरमा यो सफलता प्राप्त गर्न केवल १२ वर्ष कडा परिश्रम गरेका हुन्। ब्लुमवर्गका अनुसार विश्वका सबैभन्दा पाँच धनीको सूचीको पहिलो स्थानमा अमेजन डट कमका फाउन्डर जेफ बेजोस पुगेका छन्।

उनी माइक्रोसफ्टका फाउन्डर बिल गेट्सलाई पछि पार्दै लगातार तेस्रोपटक संसारकै धनी व्यक्तिको सूचीमा परेका हुन्। अमेजनको कमाइ लगभग १ दशमलव ४ प्रतिशतले बढेको छ। जेफ बेजोसको कुल सम्पत्ति अहिले १ सय ६ अर्ब डलर छ। तर बिल गेट्ससँग अहिले ९३ दशमलव ३ अर्ब डलर मात्र रहेको छ।

प्रतिक्रिया दिनुहोस्