खोटाङका दुई युवाको कतारमा बिचल्ली



रामधन राई, खोटाङ
वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा बिचल्लीमा परेका छन्। काठमाडौंस्थित प्रोगेसिप मेनपावरमार्फत् जनही ७५ हजारका दरले रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार राईलाई कम्पनीले काम–दाम नदिनका साथै स्वदेश फर्कन समेत रोकेपछि बिचल्लीमा परेका हुन्।

टायल मेसनको लागि भनेर डेढ महिनाअघि कतारको सेटलाइट इन्टरनेसनल कम्पनी पुगेका राईद्वयले खाना खाने रकमसमेत नपाएपछि स्वदेश फर्कन खोज्दा कम्पनीले रोकेको जनाएका छन्। कम्पनीले हाललाई काम नभए पनि केही दिनपछि काम हुने भन्दै घर फर्कन समेत रोकिरहेको धनकुमार राईले बताउनुभयोे। राईले सेटलाइट कम्पनीबाट केही दिनपछि पाउने भनिएको काम पनि नेपालको मेनपावरमा भनिएभन्दा अप्ठ्यारो हुने बताएका छन्। कम्पनी टाट पल्टिएकाले गर्दा काम–दाम नपाएको बताउनुहुने धनकुमारको अनुसार काम शुरू हुनासाथ काममा लगाउने र तलब दिने भन्दै कम्पनीले जबरजस्ती रोकिरहेका छन्।
बिचल्लीमा परेका कामदारलाई काम नगरी बसेको दिनको तलब तथा खाने–बस्ने सुविधा नदिने कम्पनीले बताएका छन्। हाल बसेको तथा खाएको रकम काम शुरू भएपछि पाउने तलबबाट कटाउने जनाएको पीडितहरूले बताएका छन्।

ऋण लिएर कतार गएका राईद्वयले बिचल्लीमा परेपछि स्वदेश फर्कन पहलका लागि सूचना तथा परामर्श केन्द्रसँग गुहार मागेका छन्। सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्दै आएको दिक्तेलबजारस्थित सूचना तथा परामर्श केन्द्रमा फोन गरी अरुण र धनकुमारले तत्कालै नेपाल फर्काउन पहल गरिदिन अनुरोध गरेको परामर्शकर्ता अम्बिका दाहालले बताउनुभयो।

अरुण र धनकुमारसँगै उक्त कम्पनी पुगेका नवलपरासीको भीमबहादुर मगर, उदयपुरका दीपबहादुर माझी र कैलाली टिकापुरका नन्दसिहं साउदसमेत बिचल्लीमा परेका छन्।
वैदेशिक रोजगारीको प्रक्रियामा प्रयोग गरिएको कागजातको प्रतिलिपिसमेत कामदारहरूसँग नभएको जनाइएको छ। उद्धार पहलका लागि पिपुल्स फोरमसँगको समन्वयमा सूचना केन्द्रले वैदेशिक रोजगार विभागमा निवेदन दिने परामर्शकर्ता दाहालको भनाइ छ। पिपुल्स फोरमले वैदेशिक रोजगारीका क्रममा अप्ठ्यारामा परेकालाई निःशुल्क कानुनी पैरवीको काम गर्दछ।

खानाको लागि दिएको रकम अर्कैले लिएर फर्के आफ्नो मेनपावरबाट जाने कामदारले काम तथा दाम नपाएपछि उत्पन्न समस्या समाधान गर्ने भन्दै कतार पुगेको निर्देशक श्याम श्रेष्ठले उल्टै कामदारको पैसा लिएर नेपाल फर्केका छन्। आफूहरूलाई खाना खाने समेत रकम नभएपछि कम्पनीले खानाको लागि भनेर दिएको पैसा श्यामले आफैंले लिएर नेपाल फर्केको पीडितले जनाएका छन्।
कामदारका लागि स्वयं मेनपावरका निर्देशक श्याममार्फत् रकम दिँदा उचित हुने ठानेर खानाका लागि ५ सय रियल रकम उपलब्ध गराए पनि बद्मासी गरेको कम्पनीका मुदिर (मालिक) ले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्