काठमाडौं महानगरकी उपमेयरलाई नेविसंघको धुलो र मास्क



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाकी उपमेयरलाई धुलो र मास्क हस्तान्तरण गरिएको छ।
धुलो, धुवाँरहित काठमाडौं निर्माण गर्न माग गर्दै नेविसंघले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई काठमाडौंका विभिन्न भागबाट संकलन गरेर ल्याइएको धुलो र मास्क हस्तान्तरण गरेका थिए।

नेविसंघले काठमाडौं महानगरपालिकाअगाडि एक घण्टा धर्ना दिएको थियो। धर्नामा ‘सफा सुन्दर काठमाडौं शहर निरोगी भई बाँच्ने हाम्रो रहर, बनाऊ राजधानी धुलोरहित, बाँचौं सबै खुसीसहित, धुलो धुवाँरहित वातावरण हाम्रो अधिकार व्यवस्थापकीय सम्बोधन महानगरको सरोकार, सरकार छ आफ्नै मस्तीमा, जनता छन् धुवाँ र धुलोको सास्तीमा’जस्ता प्लेकार्ड बोकेर धर्नामा बसेका थिए।
महानगरको बेवास्ता गर्दा दैनिक लाखौं जनताले धुलो र धुवाँमा हिँड्नुपरेको भन्दै दबाबस्वरुप मास्क र धुलो वितरण गरेको नेविसंघले जनाएको छ।

धुलो र मास्क बुझ्दै उपमेयर खड्गीले धुलोमुक्त काठमाडौं महानगरपालिकाको प्राथमिकतामा रहेको भन्दै मेलम्चीले खनेका खाल्डोलाई रातारात पुरेर कालोपत्रे गर्न निर्देशन दिइसकिएको बताउनुभयो।

धर्नामा नेविसंघका उपाध्यक्ष सागर परियार, कोषाध्यक्ष शिव रिमाल, नेताहरू हिमालदत्त श्रेष्ठ, मोती भण्डारी, सुशील तिमल्सेना, अर्जुन बम, एलिजा ढकाललगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्